coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय

काठमाडौं - तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाकिएको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो।

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निवासमै भए । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक २०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए ।

त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ । कोइराला त्यतिबेला पार्टी सभापति नभए पनि उनले आफ्नो समूहको बैठक प्रधानमन्त्रीका नाताले बालुवाटारमा डाक्ने गरेका थिए । उनले पार्टीका दुई गुट छत्तीसे र चौहत्तरेमध्ये आफ्नो पक्षको चौहत्तरे समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पटकपटक आयोजना गरेका थिए । त्यसपछि सत्तामा सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्टलगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । यो संस्कृतिलाई वमपन्थी दलले समेत पछ्याउँदै आएको नेकपाले बालुवाटारमा पछिल्लो महिना आयोजना गरेका बैठकबाट प्रस्ट भएको छ।

सत्तासीन दल र सत्ता भनेको फरक कुरा हो, यो विषयमा नेताहरुलाई चेत नहुँदा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा दुरुपयोग गरिएको छ ।
हरि रोका, वामविश्लेषक

२०४८ पछि सरकारको नेतृत्वमा लिने धेरैजसो दलको नेतृत्व गरेका नै प्रधानमन्त्री भएका छन् । यसले गर्दा पनि उनीहरूलाई पार्टी बैठकहरू आफू बस्ने सरकारी निवासमा डाक्न सहज भएको देखिन्छ । तर दलका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा गरिनु राम्रो होइन । सुशासनको हिसाबले पनि यो गलत हो ।

पार्टी बैठक प्रधानमन्त्री निवासमा गर्नु गलत भएको राजनीतिक विश्लेषक निलाम्बर आचार्य बताउँछन् । उनी सरकारी निवासलाई पार्टी कामका लागि प्रयोग गर्नु कुनै पनि हिसाबले उचित नहुने तर्क गर्छन् । ‘दलको नेतृत्वकर्ता नै प्रधानमन्त्री भएको अवस्थामा कहिलेकाहीं विभिन्न कारणले दलको बैठक सरकारी निवासमा बोलाउनुपर्ने बाध्यता होला तर नियमित रुपमा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कामका लागि प्रयोग गर्नु उपयुक्त होइन्’, आचार्यले भने । पार्टी कार्यालयहरु नै स्थापना गरिएकाले दलका बैठकलगायत गतिविधि त्यहींबाटै सञ्चालन गरिनुपर्ने आचार्यको भनाइ छ ।

कहिलेकाहीं दलको पनि नेतृत्व गरेका प्रधानमन्त्रीको स्वास्थ्यले साथ नदिँदा वा सुरक्षाका कारण सरकारी निवासमा पार्टी बैठक गर्नुपर्ने बाध्यता आए पनि यसलाई निरन्तरता दिनु दलगत स्वार्थसरकारी सअवस्था आउने उनी बताउँछन् । आचार्यले पार्टी सभापति एवं प्रधानमन्त्री भएका बेला कोइरालाले बिरामी हुँदा सरकारी निवासमै पार्टीका बैठक बोलाउने गरेको बताए।वाम विश्लेषक हरि रोका सरकारको नेतृत्वमा पुगेका दलका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवासलाई गलत ढंगले प्रयोग गरिरहेको आरोप लगाउँछन् । सत्तासीन दलका नेताहरुमा राज्य र पार्टीबीच फरक हुन्छ भन्ने सामान्य चेतसमेत नहुँदा सरकारी निवासको दुरुपयोग भइरहेको रोकाको भनाइ छ ।

‘सत्तासीन दल र सत्ता भनेको फरक कुरा हो, यो विषयमा नेताहरुलाई चेत नहुँदा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा दुरुपयोग गरिएको छ,’ रोकाले भने । उनी प्रधानमन्त्रीको सरकारी निवास पार्टीका मान्छेलाई भोज दिने तथा दलीय बैठक आयोजना गर्ने ठाउँ नभएको बताउँछन् । उनले यस विषयमा प्रधानमन्त्री नै सचेत हुनुपर्ने बताए । रोकाका अनुसार कहिलेकाहीं समय अभाव हुँदा दलका सानातिना विषयमा सरकारी निवासमा कुरा गर्न सकिने भए पनि संसदीय दलका बैठक र केन्द्रीय समितिका बैठक आयोजना गर्नु गतल हो ।

नेपालमा पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने भएकाले प्रधानमन्त्रीले सबै बैठक एकै ठाउँमा डाक्ने प्रवृत्ति बढेको छ । आफ्नो जिम्मेवारीअनुसार प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री कार्यालयमा, संसदीय दलका काम संसदीय दलको कार्यालयमा र पार्टीको काम पार्टी कार्यालयमै गर्नुपर्ने रोकाको सुझाव छ । ‘प्रधानमन्त्री एकैजनाले धेरै जिम्मेवारी बहन गर्ने नेपालको प्रचलन भए पनि जिम्मेवारी बहन गर्दा जिम्मेवारीअनुसार काम पनि सम्बन्धित कार्यालयमै गर्नुपर्छ,’ उनले भने।

पार्टी हेडक्वार्टर हुँदाहुँदै र संसदीय दलको कार्यालय उपलब्ध हुँदाहुँदै पनि तिनको प्रयोग नगरी प्रधानमन्त्रीको सरकारी निवासको दुरुपयोग भइरहेको रोका बताउँछन् । ‘पार्टी बैठक तथा कामकारबाही प्रधानमन्त्री निवासबाट गर्दा राज्यलाई नोक्सानी भइरहेको हुन्छ, पार्टी काम पार्टीकै खर्च र पार्टी कार्यालयमै गर्नुपर्छ,’ रोकाले भने । सत्तामा पुग्ने दलले प्रधानमन्त्रीको सरकारी निवासको दुरुपयोग गरिरहेको रोकाको आरोप छ । ‘यस विषयमा प्रधानमन्त्री आफैं सचेत हुनुपर्ने हो तर उनैले राज्यलाई नोक्सानी पुग्ने काम गरिरहेका हुन्छन,’ उनले भने ।

रोका नेपाली कांग्रेसले सुरु गरेको यो प्रचलनलाई कम्युनिस्टले झन् पछ्याइरहेको आरोप लगाए । रोका नेपालमा सत्तासँग जोडिएका विकृति कांग्रेसले सुरु गर्ने र त्यसलाई अरुले पछ्याउने प्रवृत्ति विकसित भएको बताउँछन् । ‘प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गर्ने प्रचलन कांग्रेसले सुरु गरेको हो तर त्यसलाई वामपन्थी दलले पनि पछ्याइरहेका छन्,’ उनले भने ।अन्य मुलुकहरुमा विदेशी पाहुना आउँदा प्रधानमन्त्रीको सरकारी निवासमा भेटघाटसम्म हुनसक्ने प्रचलन भए पनि पार्टीका काम प्रधानमन्त्री निवासमा नभएर पार्टी कार्यालयमै हुने राजनीतिक विश्लेषक बताउँछन् ।

सत्तासीन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष एउटै भएकाले उनको समयको सदुपयोगका लागि प्रधानमन्त्रीको सरकारी निवासमा दलको बैठक बोलाउने गरेको बताए । ‘यसको मुख्य कारण प्रधानमन्त्रीको समयको सदुपयोगका लागि मात्रै हो,’ श्रेष्ठले भने । पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइँदा समयको सदुपयोग हुने श्रेष्ठको तर्क छ । श्रेष्ठ पनि पार्टी बैठक सकेसम्म सरकारी निवासभन्दा पार्टी कार्यालयमा गनुपर्ने बताउँछन् ।

प्रकाशित: ३ श्रावण २०७५ ००:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App