६ वैशाख २०८१ बिहीबार
समाज

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

साउदीमा अलपत्र परेकै अवस्थामा अन्यत्र लगिँदै गरेका नेपाली युवा।   तस्बिर सौजन्य : बुनादेबी बिश्वकर्मा

खोटाङ – साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा परेका छन्। सोमबारदेखि अलपत्र परेपनि उद्धारको भरपर्दो प्रयास नहुँदा खोटाङका १३ सहित ३८ नेपाली थप समस्यामा परेका हुन्। सम्झौता अनुसारको तलव नपाएपछि एक दिन ड्युटी नगएका उनीहरूलाई कार्यरत कम्पनीले सोमबार सडकमा निकालेपछि अवस्था थप जटिल बनेको छ। 

अलपत्र परेकाको उद्धार प्रयास भइरहेको सुरक्षित आप्रवासन परियोजना सामी दिक्तेलस्थित सूचना केन्द्रले जनाएको छ। सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै गत २०७४ साल फागुन १ गते साउदी अरब पुगेका नेपालीलाई मंगलबार राती २ बजेपछि गाडीमा हालेर अन्यत्र लगिरहेको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सुचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताइन्।

क्याट्रिङको कामका लागि भन्दै उनीहरू जनही १ लाख २५ हजारदेखि १ लाख ५० हजार बुझाएर काठमाडौंको चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट साउदी अरब पुगेका थिए। सोमबार राती सडकमा बिताएका ३८ मध्ये ३६ नेपालीसहित भारत र पाकिस्तानका कामदारलाई बिना जानकारी अन्यत्र लगिरहेको अलपत्रमध्येका मकवानपुरका सुर्यबहादुर बम्जनले बताए। उनीहरूलाई ‘कहाँ लगेको र किन लगिएको’ भन्ने जानकारी दिइएको छैन। ‘भोकभोकै उद्धारको पखाईमा बसिरहेका थियौँ, राती २ बजे गाडीमा हालेर हिँडाइरहेको छ,’ बम्जनले भने, ‘मरुभूमी छ, सडक र विजुलीको पोल मात्र देखिन्छ।’ 

साउदीमा सम्झौता अनुसारको काम र दाम नपाउँदा खोटाङ मात्तिममा धनीराम राई, इन्द्रेणीपोखरीका अशोक तामाङ, फेदीका अरुण तामाङ, राजन राई, जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ अलपत्र परेका हुन्।

यस्तै, सोलुखुम्बुका गणेश हिङमाङ, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत, चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की, सिन्धुलीका चम्पक सुनुवार, दयाराम सुनुवार, भरत सुनुवार, मकवानपुरका साङ्गे व्लोन, सुर्यबहादुर बम्जन, भोजपुरका सुर्यबहादुर तामाङ, सर्लाहीका भक्तबहादुर आलेमगर, शंकर बम्जन, म्याग्दीका डम्बर नेपाली, बाग्लुङका डम्बर सार्की, डडेल्धुराका तेजबहादुर दमाई, कैलालीका नेता बन, दैलेखका दिपक गुरुङ, नारायण गिरी र रामेछापका केशब खड्का अलपत्र छन्। उनीहरूमध्ये सोलुका मानबहादुर खड्का र खोटाङका राजन राईलाई भने छुटाएर कुबेतको बोर्डरमा लगिएको छ।

नेपाली दुताबासले समेत मेनपावरको साउदीअरबस्थित प्रतिनिधि बिरेन्द्र राईले समस्याको व्यवस्थापन गर्ने बताएपछि गाडीमा चढेको बताएका छन्। रातीदेखि उनीहरु गाडीमै यात्रा गरिरहेका छन्। काम गरेपनि तोकिएको समयमा तलव नपाएपछि एक दिन ड्युटी जान इन्कार गरेकोमा कार्यरत कम्पनीले सडकमा निकालेको खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका अरुण तामाङले बताए।

असार ३२ गतेका दिन ड्युटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको थियो। ऋणपान गरेर बिदेश पुगेका युवा अलपत्र पर्दा सम्पत्ती कमाउने सपना चकनाचुर भएको छ। गत असार ३१ गतेसम्ममा काम गरेको तलव दिने भनिएपनि तलव नपाएपछि उनीहरूले असार ३२ गते भने काम गर्न इन्कार गरेका थिए। एजेण्टले क्याट्रिङको कामबाट मासिक १३–१४ सय रियल तलव पाउने बताए पनि सम्झौता–पत्रमा भने मासिक ८०० रियल मात्र पाउने उल्लेख छ। क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको उनीहरूको भनाई छ।

हालसम्म उनीहरूले जनही ९०० रियल मात्र तलव पाएको बताएका छन्। क्लिनिङको काम पनि राम्रो नभएको भन्दै कम्पनी मालिकले असार ३० गते कम्पनी मालिक दुलाल चौधरीले तीन जनालाई लछारपछार गरेको जालपाका शेषन श्रेष्ठले बताए। आफन्तले साउदी अरबमा अलपत्र परेका युवाको उद्धारको माग गरेका छन्। 

प्रकाशित: २ श्रावण २०७५ ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App