coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुर्तिवाङ बजारमा बाढी र पहिरो, दर्जन बढि घरमा क्षति

बुर्तिबाङ बजारमा पसेको बाढी । तस्विरः नागरिक

बागलुङ- मंगलबार दिउँसो देखिको अविरल वर्षासंगै आएको बाढीले जिल्लाको बुर्तिबाङ बजारमा ठूलो क्षति पुर्याएको छ। बाढी पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा दर्जन घर पुरिएका छन्। बुर्तिबाङ बजारदेखि माथिल्लो भागबाट आएको पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिनुका साथै दर्जन पक्की घरमा समेत क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ।

बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगा माटोले पुरिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकास यादवका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको छ । दुई वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ । बजार जलमग्न भएर घर र पसलहरुमा हिलो पसेकोले पैदल हिँड्न पनि सास्ती भएको छ।

तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको प्रहरी निरीक्षक यादवले बताए। मध्यपहाडी लोकमार्ग अनतर्गतको बागलुङ बुर्तिबाङ सडक खण्ड पनि पहिरोले ठाउँ ठाउँमा अवरुद्ध भएको छ। इलाका प्रशासन कार्यालय र प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। ‘दिउँसो बजार जलमग्न भएको र राति १० बजेपछि झनै ठूलो पानी परेकोले बाढी पस्दा बजारमा ठूलो क्षति पुगेको छ । स्थानीय रातभर जाग्राम बस्न बाध्य भएका छन्,’ इलाका प्रशासन कार्यालयका प्रमुख जनक थापाले भने, ‘मानवीय क्षति त भएको छैन। यद्यपी धेरै जनाको घरमा क्षति पुगको छ। स्थानीय बासिन्दा त्रसित बनेका छन्।’ बजार माथिबाट बाढि पहिरो झर्न थालेपछि धेरैले भागेर आफ्नो ज्यान जोगाएको उनले बताए । प्रहरी र स्थानीयले रातिदेखि नै उद्दारको काम थालेका थिए।

 ‘एकाएक बजार माथिबाट पहिरो खस्ना साथ डोजर लिएर उद्दारमा खटियौं, पहिरोले क्षति पुर्‍याउन सक्ने घरभित्रका सबैलाई जवरजस्ती सुरक्षित स्थानमा पठायौं,’ उनले भने, ‘समयमा उद्दार नभएको भए ठूलो मात्रामा मानवीय नै क्षति हुने अवस्था थियो ।’ घर पहिरोमा पुरिएकाहरुले आफ्नो ज्यान मात्रै जोगाएका छन् । उनीहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन् । बजारदेखि भवरेटा जाने ग्रामीण सडक खनिएपछि त्यहाँबाट आएका बाढि पहिरोले बुर्तिबाङ बजारलाई जोखिममा पारेको हो । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको प्रहरी र स्थानीय प्रशासनले जनाएको छ।

 

 

प्रकाशित: २ श्रावण २०७५ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App