७ वैशाख २०८१ शुक्रबार
समाज

१५ दिनदेखि बन्द सडक खुलाउन पहल

रातमाटे पहिरो अवलोकनपछि कामदार खटाउने तयारीमा नगर विपत समिति।   तस्बिरः महेश्वर/नागरिक

उदयपुर – पहिरो खसेर १५ दिनदेखि अवरुद्ध गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको सडक खोल्न सामुहिक पहल सुरु भएको छ। 

गाईघाटदेखि ४० किलोमिटर उत्तरमा पर्ने त्रियुगा नगरपालिका १५ खाँबुको रातमाटेस्थित पहिरो खसेर अवरुद्ध सडक खोल्न नगरपालिका, सडक कार्यालय र स्थानीयबीच सामुहिक पहल सुरु भएको हो। 

त्रियुगा नगरपालिकाको बिपत व्यवस्थापन समिति र सडक कार्यालयबाट मंगलबार गएको संयुक्त टोलीले स्थलगत भ्रमण गरी चाँडै सडक सुचारु गर्न प्रयास थालेको नगरपालिकाले जनाएको छ। बिपत व्यवस्थापन समितिका संयोजक भिमबहादुर पुलामी मगर, सदस्य तथा १२ नम्बर वडाका वडाध्यक्ष जयविक्रम राई, सडक कार्यालयका इन्जिनियरसहितको टोलीले घट्नास्थलको बिस्तृत अध्ययन गरेर सडक खोल्ने तयारी थालेको जनाइएको छ। 

टोली सदस्य राईका अनुसार रातमाटेस्थित घुम्तीमा लगभग ४५ मिटर सडक पुरिने गरी खसेको पहिरोले १५ नं. वडाध्यक्ष नीरबहादुर मगरले बताए। मगरका अनुसार यातायात आउजाउ अवरुद्ध गर्दा गाईघाट–फोक्सिन्टार–रसुवा आउजाउ गर्ने स्थानीय यात्रुलाई थप समस्या परेको छ। सडक बन्द भएपछि गाईघाट–दिक्तेल खण्डको फोक्सिन्टारसम्मकै आउजाउ रोकिएको वडाध्यक्ष मगरको भनाई छ। 

गाईघाट–दिक्तेल चल्ने यातायात गत जेठ दोस्रो साता फोक्सिन्टारस्थित सुनकोसीको बेलिब्रीज निकालेपछि उदयपुर र खोटाङबीचको सोझो सडक सम्पर्क टुटेको भएपनि फोक्सिन्टार हुँदै रसुवा, चनौट र बलम्तासम्मको आउजाउ सुचारु थियो। समयमा सडक मर्मत नगर्दा लगातार अवरुद्ध हुन पुग्दा पहाडी भेगमा उपभोग्य सामग्रीको अभाव सुरु भइसकेको स्थानीयले बताएका छन्। 

एकातिर असार मसान्तसम्म विकासे योजनाको चटारो र अर्कातिर स्थानीयको अवरोधले सडक मर्मत गर्न ढिलाई भएको सडक कार्यालयको भनाई छ। सडक सुचारु गर्नेतर्फ सुरुमै ध्यान दिन प्राविधिकसहितको अनुगमन टोलीले सडकको अवस्था बुझ्न गएको सडक कार्यालय गाईघाटले जनाएको छ। 

गाईघाट–दिक्तेल सडक कार्यालयले २ साताअघि नै खसेको पहिरो मर्मत गर्न खोज्दा स्थानीयहरूबाट अवरोध आएकाले ढिला भएको जनाएको छ। सडक निर्माण कम्पनी र स्थानीय पेटी ठेकेदारहरुबीचको आपसी बिबादका कारण सडक मर्मत गर्न ढिलाई भएको सडकका प्रमुख इन्जिनियर (डिई) हरि पोखरेलले बताए।

‘सडक स्तरोन्नतिको जिम्मा पाएको ठेकदार र स्थानीय पेटी ठेकदारबीच के कुरामा बिबाद छ भन्ने सुनिएको छ’ पोखरेलले भने ‘त्यसैले हामीले तत्काल मर्मत गर्न खोजे पनि उनीहरूबीचको बिबादले काम गर्न ढिलाई भएर समस्या आएको हो।’

बुधबारदेखि पहिरो हटाउने कार्य सुरु गर्ने तयारी भइरहेको र बिहीबार दिउसोसम्ममा सडक सुचारु हुनसक्ने डिई पोखरेलले बताए। ८–१० घण्टा लगातार मर्मत गरे सडक खुल्ने बताउँदै उनले पहिरो हटाउन प्राविधिक र कामदारलाई खटाइसकिएको बताएका छन्। 

प्रकाशित: २ श्रावण २०७५ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App