भक्तपुर – भक्तपुरमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबारदेखि श्रावणी मेला सुरु भएको छ। सूर्यविनायक नगरपालिका– ८ मा रहेको मन्दिरमा भदौ ६ सम्म मेला चल्ने जानकारी डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले दिए।
३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनको सहजताका लागि लाइनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानीलगायतको बन्दोबस्ती मिलाएको उनले बताए।
यस क्रममा बिहान पौखेलको पिपलचौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ। कलशयात्रापछि मन्दिर परिसरमा एक कार्यक्रमबीच स्वामी चुडामणि महाराजले श्रावणी मेलाको उद्घाटन गरे। सो अवसरमा मन्दिर परिसरमा १६ टनको बसाहाको मूर्तिको पनि अनावरण गरिएको छ।
बसाह निर्माणका लागि काभ्रेको पनौती नगरपालिका–१ स्थित रोशीबाट ढुंगा ल्याइएको थियो। बसाहको निर्माण भक्तपुर सुडालका मजदुरहरुले गरेको समितिका कोषाध्यक्ष विश्वराम थापाले जनाए। उनका अनुसार बसाह निर्माणका लागि बारा जिल्लाको निजगढी नगरपालिकाका शम्भुबहादुर बुढाथोकीको परिवारले सहयोग गरेको थियो। बसाहा निर्माणका लागि ११ लाख १० हजार रुपैयाँ खर्च भएको उनले बताए । मेला अवधिभर झन्डै दुई करोडको दक्षिणा संकलन हुने अपेक्षा समितिको छ।
प्रकाशित: २ श्रावण २०७५ ०३:१७ बुधबार