coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्सा निकुञ्जभित्र मेलाको विषयमा विवाद

पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको रामभौरीस्थित दुग्धेश्वरनाथ मेला। फाइल तस्बिर : नागरिक

वीरगन्ज - पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने रामभौरी भथास्थित श्री दुग्धेश्वरनाथ महादेव मेलालाई प्रभावित पार्ने गरी निकुञ्ज प्रशासन तथा स्थानीय प्रशासनले निर्णय गरेको भन्दै विरोध भएको छ। उक्त स्थानमा रहेको शिव मन्दिरनजिक परम्परागत रूपमा आयोजना हुँदै आएको एक महिने मेला व्यवस्थित गर्नुपर्नेमा आरक्षको जोड छ भने स्थानीयले यसलाई धार्मिक गतिविधिमा हस्तक्षेपका रूपमा लिएका छन्।

निकुञ्ज कार्यालयले मेला निकुञ्जभित्र लगाउँदा त्यहाँका जनावरको बास स्थान खलबलिने भन्दै मेला आरक्षबाहिर राख्ने र भित्र पूजाआजा मात्र खुला गर्ने भन्दै आएको छ। गत जाडोयाममा रामभौरी भाथास्थित दुग्धेश्वर स्थानमा शिवभक्तलाई जान आरक्षले रोकेपछि पुस १८ मा जिल्ला समन्वय समिति पर्सामा बैठक बसी निकुञ्जभित्र हल्ला र रुख फडानी नहुने गरी तीर्थालुलाई प्रवेश दिइएको थियो। त्यस बैठकमा स्थानीयका अडानका कारण निकुञ्ज र मध्यस्तकर्ताको अपेक्षाअनुसार स्थायी समाधान निस्किन सकेन। अहिले फेरि स्थानीय र निकुञ्जबीच द्वन्द्व देखिएको छ।

‘हाम्रो आस्थाको केन्द्र हो दुग्धेश्वर महादेवको मन्दिर,’ भवानीपुरका ओमप्रकाश साहले भने, ‘यति कुरा ध्यानमा राखेर निकुञ्जले निर्णय गरोस् भन्ने हाम्रो चाहना हो।’

यसैबीच निकुञ्जसँग जोडिएको सखुवा परसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालको अध्यक्षता वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा पर्सा ३ बाट निर्वाचित सांसद हरिनाराण रौनियारले निकुञ्जलाई द्वन्द्वमा नधकेल्न आग्रह गरेका छन्। उनले स्थानीयको धार्मिक आस्थासँग जोडिएकाले त्यसमा खल्ल पुग्ने निकुञ्जको निर्णय मान्य नहुने बताए। ‘मेलाका लागि गृहमन्त्री र वनमन्त्रीले पहल गर्नुपर्छ। यो स्थानीय परम्परा तथा संस्कृतिको विषय हो,’ रौनियारले भने, ‘मेला सुगम ठाउँमा सार्ने भन्ने कुरा गलत छ, के मुक्तिनाथलाई पोखरामा सार्ने त?’

हर्न, बाजागाजा, मदिरा र फोहोर फैलाउने जस्ता कुरा निषेधित गरेर मेला लाग्न दिनुपर्ने उनले तर्क गरे। ‘यही निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज भएरै राजमार्ग सञ्चालन हुँदा व्यवस्थित गर्न सकिन्छ भने एक महिने मेला व्यवस्थित गर्न नसकिने भने हुँदैन,’ उनले भने। प्रदेश २ का प्रदेशसभा सदस्य मंजुर आलमले मुठभेडको अवस्था सिर्जना हुन नदिन आग्रह गरे। प्रदेश न. २ योजना आयोगका सदस्य मोहनलाल चौधरीले उक्त मन्दिर र मेला यस भेगका जनताका लागि सांस्कृतिक धरोहर भएकाले निकुञ्जसँगै त्यसलाई समेत संरक्षण गर्नुपर्ने बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले दर्शन रोक्न र मेला भर्न नदिन चाहेको नभएर मन्दिर र मेला व्यवस्थापन गर्नेमा आफूहरूको चासो रहेको बताए। मन्दिर र मेला व्यवस्थापन समितिका पदाधिकारीसँग मंगलबार निकुन्जको कार्यालयमा छलफल भएको उनले बताए। ‘त्यहाँ धेरैजनाको रातिको बास नहोस् भन्ने कुरा हामीले भनेका छौं, उहाँहरू पनि सहमत हुनुहुन्छ, होहल्ला हुन नदिने, मदिरा लैजान नपाइने र फोहर फैलिन नदिने जस्ता कुरामा पनि विमति रहेन,’ उनले भने, ‘यी कुराको पालना कत्तिको हुन्छ भन्ने महत्वपूर्ण छ। मेला रोक्ने भन्ने होइन्, व्यवस्थित गर्ने भन्ने हो।’

प्रकाशित: २ श्रावण २०७५ ०२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App