८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदलाई लेवीको भार थपिँदै

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको पार्टीलाई बुझाउने लेवी रकम बढाएका छन्। पहिला लिँदै आएको लेवि रकममा केही पार्टीले पुरानै नियम कायम राखेका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसपटक पार्टीको लेवी रकम यसअघिको पाँच हजारबाट बढाएर दस हजार पु-याएको छ। कांग्रेस सचेतक पुष्पा भुषालले पार्टी र संसदीय दल चलाउनुपर्ने कारण लेवी बढेको बताइन्। उनले भनिन्, ‘अर्को कारण पार्टीको साइज सानो भएर पनि लेवी बढेको हो’। कांग्रेसका ६३ जना सांसद प्रतिनिधिसभा र १३ सांसद राष्ट्रियसभामा छन्।

कांग्रेसले दलीय विधान संशोधन गरी संसद् सचिवालयमा गत बैशाख २५ गते पत्र पठाई लेवी रकम बढाएको हो। संसद्को सदस्यमा सपथ भएको दिन देखिबाटै लागू हुनेगरी लेवि रकम काट्न पत्र पठाएपछि कांग्रेस सांसदको फागुन देखिबाटै मासिक १० हजार रुपैयाँ लेवी काटिएको छ।

संघीय समाजवादी फोरमका सांसदले अघिल्लो संसद्मा मासिक १५ हजार लेवी बुझाउनुपर्ने भए पनि अहिले लेवी रकम १८ हजार पुगेको छ संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने। पार्टी कार्यालयको खर्चको आधारमा लेवी बढेको उनले बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा त दुईथरी लेवी काट्ने गरिएको छ। यो पार्टीले पुरानै नियमबमोजिम लेवी लिने गरेको छ। नेकपा एमालेतर्फका सांसदले मासिक १३ हजार लेवी तिर्छन् भने नेकपा माओवादीका सांसदले मासिक १२ हजार लेवी तिर्ने गरेका छन्। नेकपा एमाले तर्फका १ सय २० जना र नेकपा माओवादीतर्फका ५३ जना सांसद छन्।

दुवै पार्टी गत जेठबाट एकीकरण भए पनि पार्टीले एउटै लेवी रकम काट्ने भनेर पत्र पठाएको छैन। एकीकरण भएको पार्टीले दलीय विधानलाई अन्तिम रुप दिएपछि मात्र संसद् सचिवालयमा पत्र पठाउने तयारी गरेको छ।

राष्ट्रिय जनता पार्टी अहिलेको संसद्मा नयाँ पार्टी भएका कारण यो पार्टीले मासिक १० हजार रुपैयाँ सांसदको लेवी काट्ने गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एकजना सांसदले जिल्लामा ५ हजार र केन्द्रमा १५ हजार गरी मासिक २० हजार लेवी बुझाउनुपर्ने राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङदेनले बताए। नेपाल मजदूर किसान पार्टी(नेमकिपा)का सांसदको पारिश्रमिक र भत्ता सिधै नेमकिपाको खातामा जाने गरेको छ। पार्टीले एकजना सांसदलाई मासिक ३५ हजार रकम दिने गरेको छ । नेमकिपाका प्रेम सुवाल मात्रै एक जना सांसद छन्।

राष्ट्रिय जनमोर्चा नेपालले पार्टीले एकजना सांसदलाई मासिक ३६ हजार ५ सय रुपैंया दिने गरेको छ। राष्ट्रिय जनमोर्चा नेपाल पार्टीका सांसदको पारिश्रमिक र भत्ता रकम सबै पार्टीको खातामा जाने गरेको छ। राष्ट्रिय जनमोर्चा नेपालबाट प्रतिनिधिसभमा दुर्गा पौडेल सांसद छन् । उनी प्युठान १ बाट प्रत्यक्ष निर्वाचित हुन् । नयाँ शक्ति पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई एक जना मात्रै सांसद भएका कारण उनले आफ्नो व्यक्तिगत खर्चमा सीमित रकम राखेर सबै रकम पार्टी कार्यालयमा खर्च गर्ने गरेका छन्।

प्रकाशित: २ श्रावण २०७५ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App