८ वैशाख २०८१ शनिबार
समाज

महेन्द्रनगरमा नमुना बसपार्क निर्माण

महेन्द्रनगर– कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तको सदरमुकाम महेन्द्रनगरमा नमुना बसपार्क निर्माण गरिएको छ। 

निर्माण कार्य सम्पन्न भएपछि मंगलबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र उप नगर प्रमुख सुशिला चन्द सिंहले वसपार्क अनुगमन गरेका छन्। आधुनिक बसपार्कको निर्माण पूरा गरिएपछि नगर प्रमुख र उप प्रमुखले वार्ड अध्यक्ष र प्राविधिक सहित अनुगमन गरेका हुन्।

महेन्द्रनगरमा आठ करोड ३२ लाखमा लगानीमा चार सय सवारी साधन पार्किङ्ग गर्न सकिने गरी बसपार्क निर्माण गरिएको छ। साउन १० गते वसपार्कको औपचारिक उद्घाटन गरिने कार्यक्रम तय गरिएको नगरपालिकाले जनाएको छ। औपचारिक उद्घाटन अघि नगर प्रमुख लगायतले वसपार्क अनुगमन गरी बसपार्कको अवस्थाबारे जानकारी लिएका छन्। 

अनुगमनका क्रममा नगर प्रमुख विष्टले बसापर्क भीमदत्त नगरको ठूलो योजना भएको उल्लेख गर्दै यसको सञ्चालन र व्यवस्थापनलाई प्राथमिकता दिने बताए।
‘यो ठूलो योजना हो, यो भीनपाका लागि गौरबको योजना हो’ नगर प्रमुख विष्टले भने, ‘यसको सञ्चालन र व्यवस्थापन पनि प्राथमिकताझै हुन्छ।’

देशभरका व्यवस्थित वसपार्कभित्र पर्ने यो बसपार्क भारतको उत्तराखण्डस्थित आनन्दविहारसित तुलना गरिएको छ। 

भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का वसपार्कमा पार्किङ्ग शुल्क लगाएको छ। 

बसपार्क निर्माणकालागि गत वर्ष आठ करोड ३२ लाखमा आशिष कुमार श्रेष्ठ जेभी  र जोशी विल्डर्सले ठेक्का लिएको थियो। ठेकेदार कम्पनीसित १५ महिनामा निर्माण पूरा गर्ने सम्झौता गरिएको छ। सम्झौता अनुसार निर्माण नसकिएपछि जेठ १५ गतेसम्मको म्याद थप गरिएको थियो। 

भीनपा ४ मा पर्ने नगरपालिका स्वामित्वको दुई बिगाहा जमिनमा वसपार्क बनाउन लागिएको छ। बसपार्क निर्माणका लागि नगरपालिकाले नगर विकाष कोषबाट ऋण लिएको हो। नगरपालिकाले ११ करोड ऋण लिए पनि ठेक्का घटाघटीमा गएपछि पाँच करोड ऋण लिन नपर्ने भएको हो। 

भीमदत्त नगरपालिकाको सहरी विकास शाखाका इन्जिनियर गोरख बहादुर सिंहले बसपार्कमा टर्मिनल भवन, वासिङ्ग रुम, शौचालय ब्लक, सेकुरिटी भवन,यात्रु प्रतिक्षालय र साना सवारी पार्किङ्ग स्थल लगायतका पूर्वाधार निर्माण गरिएको जानकारी दिए। उनले भने, ‘अहिले बसपार्कको निर्माण कार्य पूरा भएको छ।’

यसैगरी कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्रयाक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आरामगृह निर्माण लगायतका संरचना पनि निर्माण गरिएका छन्।

बसपार्कमा एक पटक चार सय सवारी पार्किङ्ग गर्न सकिने गरी निर्माण गरिएको छ। भीमदत्त नगरपालिकासित सम्झौता गरी महाकाली सेती यातायात वस व्यवसायी समिति  र पवनदूत यातायात व्यवसायी समितिले बसपार्क प्रयोग गर्दै आएका छन्।

प्रकाशित: १ श्रावण २०७५ १६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App