coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

काठमाडौं - विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय ट्वान्टी–२० र नेदरल्यान्ड्ससँग दुई सातापछि हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेपालले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सुवास समेटिएका हुन्।

नेपालले साउन १३ गते लर्डस क्रिकेट मैदानमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग ट्वान्टी–२० खेल खेल्नेछ । नेपाल र नेदरल्यान्ड्स दुबैले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि आइसिसीले लर्डसमा हुने खेललाई ट्वान्टी–२० अन्तराष्ट्रिय मान्यता दिएको छ । त्यसपछि नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेदरल्यान्ड्स जानेछ । त्यहाँ नेपालले साउन १६ र १८ गते नेदरल्यान्ड्सविरुद्ध दुई एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

सुवासले पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७२ कात्तिकमा पपुवा न्युगिनीविरुद्ध खेलेका थिए । युएईमा भएको आइसिसी विश्व क्रिकेट लिग च्यामिपयनसिपअन्तर्गत पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा ६३ रन बनाएका सुवास दोस्रो खेलमा शुन्यमा आउट भएका थिए । त्यसपछि सुवासले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् । २०७२ साउनपछि राष्ट्रिय टोलीमा अटाउन नसकेका प्रदीप ऐरी पनि वैकल्पिक खेलाडीका रुपमा समेटिएका छन् । अर्का ब्याट्सम्यान विनोद भण्डारी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् । सुवास टोलीमा फर्किएपछि दीलिप नाथ टोलीबाट बाहिरिएका छन्।

आइसिसी प्रतिनीधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितीले मंगलबार ४ वैकल्पिकसहित १५ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीमा अनिलकुमार शाह, वसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, सुसन भारी र प्रदीप ऐरी छन्।

मेरिलिबोनको कप्तानी माहेला जयबद्धनेले गर्नेछन् भने स्टकल्यान्डका डेलन बड्ज, एलसाल्डर इभान्स र मार्क पनि टोलीमा रहने क्लबको वेभसाइटमा उल्लेख छ । नेपाल र नेदरल्यान्ड्सले २०१५ पछि पहिलो पटक ट्वान्टी–२० खेल्न लागेका हुन् । लर्डसमा नेपालले खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि २०१६ मा नेपालले लर्डसमा एमसिसीसँग खेलेको थियो । बेलायत र नेपालबीचको दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा भएको खेलमा नेपालले एमसिसीलाई ४१ रनले पराजित गरेको थियो।

प्रकाशित: १ श्रावण २०७५ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App