८ वैशाख २०८१ शनिबार
अन्य

निःसन्तान समस्यामा गम्भीरता आवश्यक

जीव वनस्पतिको प्राकृतिक नियम हो– आफूजस्तै सन्तान उत्पादन गर्नु, उनीहरूको हेरचाह रेखदेख, लालनपालन गर्नु,  वयस्क पारेर सन्तान उत्पादन गर्ने अवस्थामा पु-याउनु । यो नियम अनादि कालदेखिको हो । यो प्राकृतिक चक्र करौडौँ वर्षदेखि निरन्तर छ, निरन्तर चलिरहनेछ । खास गरेर मानव लगायतका जीवहरूमा विपरीत लिंगीहरू आपसमा समागम गर्ने र स्त्री जातिका जीवहरूले जीवअनुसार फरक–फरक समय गर्भधारण गरेर अन्त्यमा आफूजस्तै सन्तान उत्पादन गर्ने नियम प्राकृतिक हो तर कतिपय अवस्थामा यस्तो प्राकृतिक चक्र अवरुद्ध हुन जान्छ । सन्तान उत्पादनमा समस्या सिर्जना हुन्छ । मानव जातिमा निःसन्तान दम्पती र परिवारका लागि ठूलो पिरलो बन्ने गरेको छ । सन्तानहीनता सामाजिक दृष्टिमा ठूलो कमजोरी ठानिन्छ । हाम्रो जस्तो धर्ममा आधारिक सामाजिक बनोट र परम्पराले व्याप्त समाजमा सन्तानहीनतालाई गोप्य राख्ने गरिन्छ । समस्या गोप्य राखेर समाधान हुने होइन । समाज आधुनिकीकरणसँगै निःसन्तानका दुईटा पक्ष छन् । एउटा सन्तान नचाहने । यो समस्या विकसित विशेष गरेर पश्चिमा देशहरूमा विकराल बन्दैछ । यता हाम्रो जस्तो समाजमा सन्तानको चाहना नराख्ने संख्या सानो छ । मुलुकभर निःसन्तान समस्या सन्तान उत्पादन गर्ने क्षमता भएको उमेर समूहका १५ प्रतिशतसम्म रहेको अनुमान गरिँदैछ । र, सबैभन्दा पेचिलो पक्ष निःसन्तानको समस्या लिएर चिकित्सकको परामर्श लिन जानेहरूमा एक चौथाई वैदेशिक रोजगारीमा गएकाहरू छन् । निःसन्तान समस्या ठूलो मानवीय समस्या बनिरहेको तथ्यहरूले औँल्याएको छ ।  चाहेर पनि सन्तान प्राप्त गर्न नसक्नेहरूको उल्लेख्य संख्यालाई ध्यानमा राख्दै यो समस्यालाई प्राथमिकतामा राख्न जरुरी देखिएको छ । समाजमा देखिएको यो समस्यामा सरकार संवेदनशील बन्नुपर्दछ । र, समस्या समाधानका लागि समाजको तल्लो तहसम्म चिकित्सक उपचार, प्रविधि र औषधि पु¥याउन अब ढिलो गर्न हुँदैन । 

निःसन्तान हुनुका कारण एउटै छैनन् । सन्तान उत्पादन गर्न चाहने महिला, पुरुष वा दुवैमा र कतिपय अवस्थामा परिस्थिति कारक देखिन्छ । चिकित्सकहरू कतिपय महिला वा पुरुषमा देखिने निःसन्तान समस्या सामान्य उपचारले मात्र पनि निको हुन्छ । कतिपय समस्या जटिल प्रकृतिका हुन्छन्, जसको सहज उपचार हुँदैन, भए पनि महँगो हुन्छ । तर, सबैभन्दा चुनौतीमा रहेको वैदेशिक रोजगारीसँग सम्बन्धित निःसन्तान समस्या र यसको उपचार । खाडी लगायतका गर्मी मुलुकमा लामो समय काम गर्दा शुक्रकीटहरूमा क्षति पुग्ने र त्यस्ता पुरुष छोटो समयका लागि नेपाली फर्किएको अवस्थामा सहज गर्भाधान नहुने समस्या प्रबल रहेको चिकित्सकहरू बताउँछन् । त्यसैले निःसन्तान समस्या वैदेशिक रोजगारीसँग जोडिन पुगेको छ । त्यसैले छोटो समयमा स्वदेश आएकाहरूले राम्रो चेकजाँच गरेपछि मात्र धारणा बनाउनु उचित हुन्छ । नेपालमा निःसन्तानको सम्पूर्ण परीक्षण एवं उपचार सम्भव रहेको चिकित्सक बताउँछन् । त्यसैले समस्याको समाधान भनेको चिन्ता गर्ने र निःसन्तान भए भन्दै पिरोलिने भन्दा उपचारमा ध्यान दिनु बुद्धिमानी हुन्छ । निःसन्तान हुनु कसैको पनि दोष होइन तर हाम्रो सामाजिक धारणा त्यसको विपरीत महिलामाथि दोषारोपण गर्ने खालको छ । एउटीबाट सन्तान भएन भने अर्की बिहे गर्ने हिजोअस्तिका मान्यता, व्यवहारको जगमा उभिएको समाजबाट त्यस्तो सोच सहजै हट्न सक्तैन । यस्ता मान्यताविरुद्ध सामाजिक अभियानहरू सञ्चालन गर्न सकिन्छ । त्यसको नेतृत्व सरकारले गर्नुपर्छ ।   

परिवारको यस अंकमा हामीले निःसन्तान हुनुका विभिन्न कारण, उपचारका उपाय र चिकित्सकका सुझाव पेस गरेका छौं । 
९२ वर्षका तन्नेरी कृष्णप्रसाद भण्डारीको ६ दसक लामो वकालत यात्रालाई अक्षरमा उतार्ने प्रयास गरेका छौं । नेताको परिवार, कलेज लाइफ, कर्पोरेट कुराकानी, अर्थ संवाद, फेसन–टक, क्याजुअल कुराकानी, प्रिय गफजस्ता नियमित स्तम्भमा विभिन्न पेसा, व्यवसायमा आबद्ध र नेपालको समाजमा प्रभावशाली उपस्थिति रहेका व्यक्तित्वहरूका अनुभव पेस गरेका छौं । साहित्यमा कथा, संस्मरण, निबन्ध र कविता पेस गरेका छौं । स्वर्गकी सुन्दर रारालाई शब्द र तस्बिरमा उतार्ने प्रयास गरेका छौँ । सुन्दर आवास, सुन्दर बगैँचालगायत फेसन, सौन्दर्य प्रशाधनका सहयोगी सामग्री यस अंकमा पनि समावेश छन् । नायक राजेश हमाल र मधु हमालसँगका अन्तरंग कुराकानी पस्किएका छौं । सुझाव प्रतिक्रियाको अपेक्षा राख्दै नागरिक परिवारको असार अंक आम पाठकका निम्ति रुचिकर हुने विश्वास लिएका छौँ ।

प्रकाशित: १ श्रावण २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App