८ वैशाख २०८१ शनिबार
अन्य

बच्चाको दाँत आउँदा देखिने स्वास्थ्य समस्या

केही दिन अगाडिको कुरा हो । मेरा एकजना मित्रको फोन आयो । डा. साब मेरो सानो नौ महिनाको छोरा छ । उसले दिनको चार पाँचपटक पातलो हरियो दिसा गर्नुका साथै ज्वरो पनि आएको छ । स्वभाव एकदम चिडचिडापन छ । रोइ रहन्छ, जे गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउँदा मात्र चुपलाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केही पनि कम भएन । के होमियोप्याथिमा यसको उपचार छ ?  समय लिएर आउनुस हेरुँ ? बच्चालाई परीक्षण गरी हेर्दा, दाँत आउने क्रममा उपरोक्त समस्या देखिएको रहेछ । लक्षणानुसार केही औषधि दिएर सात दिनपछि फलोअपमा आउनु होला भनेर पठाए ।  बच्चा अहिले ठिक छ । यो त एउटा उदाहरण मात्र हो । यस किसिमको समस्याबाट धेरै जसो बच्चा आफू त परेशान हुन्छन् नै साथै आमा–बाबुलाई पनि चिन्तित बनाउँछन् । आज यसै सन्दर्भमा जानकारी दिने प्रयास गरेकी छु । उमेरअनुसार बच्चाको दाँत आउनु स्वाभाविक र एक प्राकृतिक प्रत्रिया हो । यो प्रक्रिया कष्टरहित हुनुपर्ने हो । तर यो त्यसबेला मात्र सम्भव छ जब तपार्इंको बच्चा पूर्णतया स्वस्थ होस् । धेरै जसो बच्चालाई दूधको दाँत निस्किने बेलामा स्वास्थ्य समस्याबाट गुज्रिनु पर्छ अर्थात् सामना गर्नुपर्ने हुन्छ । बच्चाको दाँत दुई प्रकारले आउँछ । दूधेदाँत र अर्को स्थायी दाँत । पहिलोपटक बच्चा लगभग पाँच–सात महिनाको उमेरमा दूधे दाँत निस्किन सुरु हुन्छ । दुई वर्ष नौ महिनाको उमेरसम्म बच्चाको दाँत आउने क्रम जारी नै रहन्छ । जसलाई अंग्रेजीमा प्राइमरी युरुपसन अफ टिथ भनिन्छ । यो स्टेजमा तलमाथि गरी बीसवटा दाँत आइसकेको हुन्छ । तत्पश्चात् ६ देखि १२ वर्ष उमेरको बीचमा दूधे दाँत झर्न सुरु भइहाल्छ र स्थायी दाँत आउने क्रम सुरु हुन्छ । जसलाई मेडिकल भाषामा (सेकेन्डरी युरुपसन अफ टिथ) भनिन्छ । 

- दाँत आउने समयमा धेरै जसो बच्चालाई शारीरिक एवं मानसिक कष्टको सामना गर्नुपर्ने हुन्छ । दाँत आउने बेलामा बच्चाहरुमा देखिने प्रायजसो लक्षणहरु निम्न लिखित छन् । 

- दाँत ढिलो गरी आउनु । चिडचिडापन, बैचैनी, डर, रुनु र कराउनु, ज्वरो आउनु, ज्वरोको साथै शरीर कडा हुनु, ऐठन हुनु, टाउको दुख्नु तथा शिर गर्म हुनु । 

- पातलो, हरियो, न पचेको दिसा गर्नु । आँखा रातो र  रसिलो हुनु, चिलाउनु, कचेरा आउनु कान दुख्नु , कानबाट पिप आउनु, मुखबाट अत्यधिक -याल बग्नु । 

- गिँजा सुन्निनु, कुनै चिज मुखमा राखेर गिँजाले टोक्नु ।

- पेट फुल्नु, दुख्नु, पातलो दिसा हुनु, कब्जियत हुनु , बान्ता   हुनु, पेटमा चुर्ना पर्नु, खानमा रुचि नहुनु, ठिकसँग खाना नखानु । पिसाब फेर्नेबेला दर्द हुनु । 

- निद्रा नलाग्नु, निद्रामा तर्सिनु, रुनु कराउनु ।

- छालासम्बन्धी समस्या देखिनु आदि जस्ता लक्षणहरु देखिन्छ । 

सल्लाह र सुझाव 

– सामान्यतः केही शारीरिक एवं मानसिक परेशानी जस्तै (हल्का ज्वरो आउनु । तीन चारपटक पातलो दिसा हुनु, बच्चाको दाँत आउने बेला हुन्छ । यसैका दौरान बच्चामा अलिक चिडचिडापन पनि हुन्छ । यी सब सामान्य कुराहरु हुन् । यसका लागि कुनै औषधिको आवश्यकता पर्दैन । बच्चाको शरीरले आफैँ म्यानेज गर्छ । 

– ख्याल गर्नुपर्ने कुरो केहो भने ज्वरो आएको बेला बच्चालाई नुहाउनु हुँदैन । चिसोबाट बचाउने । जबसम्म बालक आमाको दूध खान्छ, तबसम्म बच्चाको स्वास्थ्य आमाको स्वास्थ्यसँग गाँसिएको हुन्छ । यसकारण तनाव, डर, भय, घबराहटबाट आमा बच्नु पर्दछ । यसको असर पनि बच्चामा देखिन्छ । अतः बच्चा बिरामी भएको बेलामा आमा हडबडाउनु हुँदैन । दूध ख्वाउने आमाले आफ्नो खानपानमा विशेष ध्यान दिनु पर्दछ । कारण केहो भने आमाहरूले जे खानेकुरा खान्छन् त्यसको असर बच्चामा पनि देखिन्छ । अतः भोजन सुपाच्य र पोषिलो हुनु पर्दछ । 

होमियोप्याथिक अस्पतालमा बच्चाको दाँत आउने बेलामा हुने समस्याका लागि विभिन्न औषधिहरु छन् । जसको प्रयोग लक्षणअनुसार गरिएमा रामबाणको काम गर्दछ । होमियोप्याथिक औषधिले बच्चाको दाँत सजिलैसित आउनुका साथै उसको सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । दाँत पनि बलियो र मजबुत हुन्छ । कसै–कसैमा दूधको दाँत नझरिकन स्थायी दाँत आउन थाल्छ । यी दाँतहरु बांगो–टिंगो , विकृतरूपमा आउँछ, पछि कालो भएर जान्छ । स्थायी दाँत आउनुभन्दा अगाडि या यसको दौरान होमियोप्याथिक ऊपचार गराउनाले यस समस्याबाट सजिलै बच्न सकिन्छ । दाँत उम्रिनासाथै कालो हुने प्रवृत्ति हटेर जानुका साथै आउने स्थायी दाँतहरु स्वस्थ र बलियो हुन्छन् । होमियोप्याथिक औषधिको स्वाद गुलियो हुनाले बच्चाले सजिलै सित औषधि खान्छ । औषधि ख्वाउनलाई जबरजस्ती गर्नु पर्दैन । 

औषधिहरु रोगीको शारीरिक अवस्था एवं मानसिक लक्षणलाई मध्यनजर गरेर प्रयोग गरिने केही औषधिहरु निम्न लिखित छन् ।

- केमोमिला, बेलाडोना, पोडोफाइलम, जालपा, क्रियोजोट, फाइटोलेक्का, फेरम फाँस, मेगनेसियाफाँस, कल्केरियाफाँस, कल्केरिया फ्लोर, कल्केरिया कार्ब, मर्कसल, साईलिसिया, स्टेफसिग्रिया, सल्फर, थुजा, इथुजा, टेरिबिन्थ, मेगनेसिया कार्ब, टियुबरकुलिनम आदि । उपरोक्त उल्लेखित औषधिहरुको प्रयोग तपाईंको आफ्नो नजिकको कुनै योग्य तथा अनुभवी चिकित्सकसँग परामर्श लिएर सेवन गर्नु लाभदायक हुन्छ । अस्तु 

प्रकाशित: १ श्रावण २०७५ ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App