coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सेयर डिम्याटको नालीबेली

डिम्याट भनेको के हो ? 

डिमेटलाइज्ड शब्दको छोटो रुप डिम्याट हो । कम्पनीको पुँजीको विभाजित अंश सेयर हो । 

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका अनुसार क्यापिटलको विभाजित अंशलाई सेयर भनिन्छ । कुनै कम्पनीमा लगानी गर्नु भनेको त्यो कम्पनीको सेयरमा लगानी गर्नु हो । कम्पनीको सेयरको स्वामित्व जसमा छ, त्यसलाई सेयरधनी भनिन्छ । कम्पनीको सेयरमा स्वामित्व भएको व्यहोरा पुष्टि गर्ने प्रमाणलाई सेयर प्रमाणपत्र भनिन्छ । ‘कम्पनीको सेयर पुँजीमा कसैको लगानी छ भन्ने पुष्टि गर्ने कागज सेयर प्रणपत्र हो,’ घिमिरेको भनाइ छ । कुनै कम्पनीमा मेरो लगानी छ भन्ने प्रमाण गर्ने कागज सेयर प्रमाणपत्र हो । 

भौतिक रुपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिकीकरण गर्ने प्रक्रिया डिम्याट हो । डिम्याट गर्नुलाई विद्युतीकरण गर्ने पनि भनिन्छ ।

सेयरको विद्युतीय अभिलेख

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीका अनुसार डिम्याट भनेको सेयरको अनलाइन कारोबार गर्नका लागि स्थापना गरिएको विद्युतीय खाता हो । 

कुनै पनि कम्पनीमा रहेको सेयरलाई पुष्टि गर्ने कागज सेयर प्रमाणपत्र हो । सेयर पुष्टि गर्ने कागज भौतिक स्वरुपमा जारी भएको हुुन्थ्यो । सो भौतिक कागजलाई विद्युतीय माध्यममा अभिलेखीकरण गर्ने प्रक्रियालाई सेयरको अ¬भौतिकीकरण भनिन्छ । अर्थात्, कागजी स्वरुपमा रहेको सेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा बदल्ने प्रक्रियालाई सेयरको अभौतिकीकरण हो र यसलाई नै छोटकरीमा डिम्याट भनिन्छ । 

डिम्याट खाता खोल्ने तरिका

सेयरको डिम्याट गर्न डिपोजिटरी पार्टिसिपेन्ट सेवा प्रदायककहाँ जानु पर्छ । नेपाल धितोपत्र बोर्डबाट डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) को सेवा प्रदान गर्ने इजाजत लिएका कुनै पनि डिपीकहाँ गएर भौतिक स्वरुपमा रेहेको सेयर प्रमाणपत्रको डिम्याट गर्न सकिने बताउँछन्, अधिकृत गुप्ता । डिपीकहाँ नगई सेयरको डिम्याट गर्न सकिँदैन । 

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सिडिएसको सदस्यता लिएका बैंक, मर्चेन्ट बैंकर, वित्तीय संस्था लगायत विभिन्न कम्पनीले निश्चित मापदण्ड पूरा गरेका हुन्छन् । त्यस्ता मापदण्ड पूरा गरेका कम्पनीमा डिम्याट खाता खोल्न सकिने सिइओ घिमिरे बताउँछन्।

डिपीको इजाजतप्राप्त कम्पनीमा डिम्याट खाता खोल्न सकिन्छ । इजाजतप्राप्त कम्पनीमा गएर आफ्नो नाममा भएका सेयरलाई डिम्याट गर्न डिम्याट एकाउन्ट खोल्नु पर्छ । जसरी बैंकमा रकम जम्मा गर्न खाता खोलिन्छ, त्यसैगरी आफ्नो सेयरको विद्युतीय अभिलेख राख्न डिम्याट एकाउन्ट खोल्नु पर्ने सिइओ घिमिरे र अधिकृत गुप्ता बताउँछन्। 

कागजी प्रमाणपत्रको डिम्याट 

पुरानो भौतिक रुपमा भएका सेयर पनि डिम्याट गर्नुपर्छ । खाता खोल्न फोटो, नागरिकता लगायतका सामान्य प्रक्रियाबाहेक झन्झटिला पाटा नरहेको बताउँछन् घिमिरे । डिम्याट गर्न बैंक खाता आवश्यक पर्ने घिमिरे बताउँछन् । 

खाता परिवर्तन 

खोलिसकेको डिम्याट खाता परिवर्तन गर्न समेत पाइने मिमिरे बताउँछन् । मानौँ कृषि विकास बैंकको खाता नम्बरबाट डिम्याट खाता खोलेको छ भने वाणिज्य बैंकको खाता नम्बर राख्न मन लाग्यो भने पनि पाइन्छ । डिपीमा गएर खाता नम्बर परिवर्तन गर्न सकिन्छ । १०/१५ मिनेटमै खाता नम्बर परिवर्तन गर्न सकिन्छ ।

बैंकजस्तै नगद कारोबार 

डिम्याट खाता खोलिसकेपछि डिपीले डिम्याट एकाउन्ट नम्बर दिन्छ । डिम्याट खाता खोलेपछि भौतिक रुपमा भएका सेयर प्रमाणपत्र अभौतिक स्वरुपमा बदलिन्छ । 

डिम्याट खाता खोल्दा बैंक खाता खोल्दाजस्तै प्रक्रिया अपनाउनु पर्ने सिइओ घिमिरे बताउँछन् । बैंक खाता खोल्दा बैंकमा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा सेयर जम्मा हुन्छ । डिम्याट खाता खोल्दा पनि चेक दिइन्छ । चेकमार्फत् कारोबार हुन्छ । 

खाता खोलेपछि चेकबुक र खाता नम्बर पाइन्छ

डिम्याट खाता खोलेपछि आफूले खरिद गरेको सेयर आफ्नो डिम्याट एकाउन्ट तथा खातामा जम्मा हुन्छ । 
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका सेयर रजिस्टे«सन तथा डिम्याट सर्भिस इन्चार्ज केदारप्रसाद पुडासैनीका अनुसार सेयर खरिद—बिक्री गर्दा बैंकमा चेकबाट पैसाको कारोबार भए जसरी नै चेकमार्फत् कारोबार हुन्छ । सेयर बिक्री गर्दा बिक्रेताले चेक काटेर दिएपछि खरिदकर्ताको खातामा सेयर ट्रान्सफर हुने अधिकृत गुप्ता बताउँछन् ।  

सेयर कारोबार गर्दा ब्रोकरमार्फत् गरिन्छ । कसैलाई कुनै कम्पनीको सेयर बेच्नुप-यो भने सेयर बिक्री गर्नेले किन्ने व्यक्तिलाई डिम्याट चेक दिन्छ । बिक्री गर्ने मानिसले कुन कम्पनीको कति कित्ता सेयर बेचेको हो, खाताबाट सेयर कट्टा हुन्छ भने किन्ने व्यक्तिको खातामा गएर सेयर जम्मा हुन्छ । 

सिडिएसको काम

सिडएसलाई केन्द्रीय निक्षेप प्रणली भनिन्छ । सेन्ट्रल डिपोजिटरी सिस्टम पनि भनिन्छ । सिडिएसलाई सिडिएस वा सिडिएस एन्ड क्लियरिङ लिमिटेड पनि भनिन्छ ।  

डिपोजिटरी पार्टिसिपेन्ट (डिपि) डिम्याट गर्ने माध्यम हो । अभौतिक स्वरुपमा बद्लिदिएको सेयरको अन्तिम अभिलेख सेन्ट्रल डिपोजिटरी एन्ड क्लियरिङ लिमिटेड (सिडिएस सिएल)मा हुन्छ । सिडिएसले देशैभर भएका सबै सूचीकृत कम्पनीका डिम्याट गरिएको सेयरको केन्द्रीकृत रुपमा विद्युतीय अभिलेख राख्ने काम गर्छ । त्यसैले पनि सुरक्षित रहेको घिमिरे बताउँछन् । 
सिडिएस आएपछि सेयर कारोबारमा सहजता भएको उनी बताउँछन् । सिडिएस केन्द्रीय निक्षेप प्रणाली हो । सिडिएसको मुख्य काम सेयरको अद्यावधिक गर्नु भएको अधिकृत गुप्ता बताउँछन् । नेप्सेमा भएको सेयरको कारोबार हुँदा खरिदकर्तालाई सेयर दिने तथा बिक्रेतालाई पैसा दिने काम गर्छ । सेयर बजारको निगरानी गर्छ । 

नेपालमा करिब ७५ प्रतिशत सेयर डिम्याटमा आइसकेको र करिब २५ प्रतिशत सेयरको डिम्याट नभएको गुप्ता बताउँछन् । बैंक, हाइड्रोपावर लगायतका बिक्री नहुने किसिमका सेयर डिम्याट गर्न बाँकी रहेको उनी बताउँछन् । डिम्याट नगरी सेयर बिक्री नहुने र यस्ता डिम्याट गराउने ६५ वटा कम्पनी रहेको उनले बताए ।

पुरानो प्रमाणपत्र निक्षेप सदस्य रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगेर दिएपछि विद्युतीय स्वरुपमा सेयर प्रमाण बदल्नुपर्ने इन्चार्ज पुडासैनी बताउँछन् । धितोपत्र बोर्ड नियमावलीअनुरुप डिम्याट खाता खोलिन्छ । 

किनबेच गर्ने तरिका

सेयर किन्न ब्रोकरकहाँ निवेदन दिनुपर्छ । अर्डर दिँदा कति किन्ने, कुन कम्पनीको सेयर किन्ने हो ? अर्डर फारममा उल्लेख गर्नुपर्छ । बिक्रेताले पनि ब्रोकरलाई सेयर बेचिदिन भनेको हुन्छ । किन्ने र बेच्ने बीचको तादाम्य ¬मिलेपछि सेयरको कारोबार हुन्छ । दुवैको डिम्याट एकाउन्ट हुन्छ । किन्ने मानिसको खातामा सेयर जान्छ । बिक्री गर्ने मानिसको खातामा पैसा जम्मा हुन्छ । सेयर बिक्री गर्नेले खाताबाट नगद पैसा निकाल्न सकिन्छ । 

नियम 

सेयर प्रमाणपत्र कुनै पनि कम्पनीले भौतिक रुपमा जारी गर्नुपर्ने प्रावधान कम्पनी ऐन २०६३ मा छ । कम्पनी ऐन, २०६३ को दफा ३३ मा सेयर प्रमाणपत्रका बारेमा उल्लेख गरिएको छ । दफा ३३ को उपदफा एक (१) मा लेखिएको छ, ‘प्रत्येक सेयरधनीलाई निजले लिएको सेयर बापत सेयर बाँडफाँड भएको मितिले दुई महिनाभित्र पब्लिक कम्पनी भए कुनै सञ्चालक वा कम्पनीको कार्यकारी प्रमुख वा कम्पनी सचिवमध्ये कुनै दुई जनाको र प्राइभेट कम्पनी भए नियमावली वा सर्वसम्मत सम्झैतामा उल्लिखित व्यक्तिको दस्तखत र कम्पनीको छाप भए छाप लगाई तोकिए बमोजिमको ढाँचामा सेयर प्रमाणपत्र दिनु पर्नेछ ।’
दफा ५१ मा सेयर, डिबेन्चर ऋणको लगतका बारेमा उल्लेख गरिएको छ । 

धितोपत्र बोर्ड सेयर बजारको नियमन गर्ने निकाय हो । धितोपत्र बजारको नियमन गर्ने निकाय धितोपत्र बोर्ड हो । धितोपत्र बोर्डले सेयरको विद्युतीय कारोबार गर्नुपर्ने नियम २०७२ बाट ल्यायो । बोर्डको सो निर्णयसँगै सेयरको भौतिक कारोबार गर्न नपाइने भयो । नेपालमा पूर्णरुपमा विद्युतीय कारोबार हुनथालेको २०७२ माघ २ गतेबाट भएको गुप्ता बताउँछन् । 

सेयरको कारोबार विद्युतीय रुपमा गर्न पाइने भयो । अहिले जसले धितोपत्र बजारमा कारोबार गर्न चाहन्छ, उसको कागजी स्वरुपमा कारोबार नहुने अध्यक्ष रेग्मी बताउँछन् । 

सदस्यता दिएका कुनै पनि संस्थामा डिम्याट खाता खोल्न सकिन्छ । कुनै पनि कम्पनी, बैंक तथा वित्तीय संस्थामा डिम्याट खाता खोल्न सकिन्छ । 

डिम्याटको आवश्यकता तथा प्रभावकारिता

सेयरको डिम्याट गर्दा भौतिक रुपमा कागज बोकेर हिँड्नु पर्दैन । फाइल बोकेर हिँड्नु पर्दैैैन । केही वर्षअगाडि भौतिक रुपमा सेयरको प्रमाणपत्र पाइन्थ्यो । कसैको सेयर किन्यो भने आफ्नो नाममा आउन छ महिना, एक वर्षसम्म लाग्थ्यो ।

कीर्ते प्रमाणपत्र बनाउनेसमेत समस्या भएको गुप्ता बताउँछन् । च्यातिने, हराउने, डढ्नेजस्ता समस्या त्यत्तिकै थिए । त्यति मात्रै हैन, उपत्यकाबाहिर भएका मानिसले सेयरको कारोबार गर्न सेयर प्रमाणपत्र बोकेर काठमाडौँ आउनु पथ्र्यो । यस्ता समस्या समाधान गर्न सिडिएस स्थापना गरिएको गुप्ता बताउँछन् । 

अहिले हराउने च्यात्तिने, नक्कली हुने, चोर्नेजस्ता समस्या नभएको उनले बताए । बेचेको सेयरको पैसा हातमा पर्नसमेत महिनौँ कुर्नुुपर्ने बाध्यता हटेको उनी बताउँछन् । 

अहिले किनेको चार दिनभित्र किन्ने व्यक्तिको खातामा सेयर आइपुग्छ भने बिक्रेताको खातामा पनि चार दिन भित्रमा पैसा जम्मा भइसक्छ । विद्युतीय रुपमा कारोबार हुने भएकाले अहिले सेयरको कारोबार गर्न ढिलोमा चार दिन लाग्ने गुप्ताको भनाइ छ ।  
अहिले नेपालको ७७ वटै जिल्लाबाट सेयरको कारोबार गर्न सकिने गुप्ता बताउँछन् । करिब १६ सय वटा डिपोजिटरी पार्टिसिपेन्ट (डिपी) सँग सम्बन्धित शाखाबाट सेयरको कारोबार गर्न सकिने गुप्ता बताउँछन् । 

पहिले प्राथमिक सेयर भर्नसमेत लामो लाम बस्नुपथ्र्यो। अहिले सो समस्या समाधान भएको छ । अधिकृत गुप्ताका अनुसार आस्वा (एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड) प्रणाली लागु गरेपछि लाइनको समस्यासमेत हट्यो । आस्वा प्रणाली लागु हुनुपूर्व सेयर भर्दा नगद पैसा वा चेक बुझाउनु पथ्र्यो । थोरै ठाउँबाट सेयर भर्ने व्यवस्था हुन्थ्यो । आश्वा प्रणाली लागु गरेपछि सिडिएसमा आबद्ध बैंक खातामा रोक्का मात्र हुने भयो नगद दिनु परेन तर सेयर जारीकर्तामा पैसा आइपुग्न नब्बे दिन भन्दा धेरै लाग्ने भयो । त्यसपछि  सेन्ट्रलाइज सिआस्वा (एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउन्ट) प्रणाली आयो । सिआस्वा आएपछि बैंकसम्म सेयर भर्न जानु पर्दैन । घरमै बसेर सेयर भर्न सकिन्छ । छिटो हुन्छ । बाँडफाँट गर्न सजिलो छ । 

अनलाइन कारोबारका चुनौती तथा जोखिम

अनलाइनमा डाटा सुरक्षित रुपमा भण्डारण गर्नुपर्ने नै विद्युतीय कारोबारको मुख्य चुनौती हो । त्यसैले डाटालाई सुरक्षित गर्नुपर्ने रेग्मी बताउँछन् । भण्डारण गरेर राखेको सम्पति सुरक्षित हुनुपर्नेमा उनको जोड छ । सेयरमा लगानी गर्नुपूर्व डिम्याटको बारेमा जानकारी लिनुपर्छ । 

विश्वमा नै सेयरको इलेक्ट्रोनिक कारोबारको विस्तार भैरहेको बताइन्छ । यो प्रक्रियाले सेयर कारोबारलाई छिटो तथा छरितो बनाएको सम्बन्धित विशेषज्ञको भनाइ छ । 

डिम्याटका फाइदा

अहिले सेयर कारोबारमा झन्झट हटेको छ । विद्युतीय प्रणाली सुरु हुनुअघिसम्म कारोबार गर्दा धेरै झन्झट हुने गरेको अधिकृत गुप्ता बताउँछन् । सेयर बिक्री गरेर नामसारी गर्नसमेत महिनौँ कुर्नुपर्ने बाध्यता अहिले हटेको उनको भनाइ छ । खरिद गरेको प्रमाणपत्रसमेत तत्काल पाइँदैन थियो । विद्युतीय कारोबार गर्नका लागि डिम्याट खाता अनिवार्य रुपमा खोल्नुपर्छ । डिम्याट गरेपछि खातामा सेयरको लाभांश, बोनस लगायत खातामा जम्मा हुने भएकाले डिम्याट प्रभावकारी रहेको रेग्मीको भनाइ छ ।
पहिला सेयरको कारोबार अत्यन्तै झन्झटिलो थियो, समय लाग्थ्यो । यता र उता कागज बोकेर जानुपथ्र्यो । अहिले ब्रोकर कम्पनीमा गएर सहजै सेयर खरिदबिक्री गर्न सकिन्छ । 

अध्यक्ष रेग्मीका अनुसार, कम्पनीले सेयरधनी तथा लगानीकर्तालाई दिने बोनस तथा नाफा सिधै खातामा जम्मा हुन्छ । धाएर सोध्न गइरहनुपर्ने बाध्यता हटेको छ । हकप्रद सेयरसमेत खातामा जम्मा हुन्छ । आफ्नो सेयरको बारेमा के भैरहेको छ, अनलाइनमार्फत् नै थाहा हुन्छ । अहिले सेयरको कारोबार गरेको करिब तीन दिनमा पैसा हात पारिसकिने तथा महिनौँ कुर्नु नपर्ने गुप्ताको भनाइ छ ।

खाता खोल्न करिब बढीमा एक सय पचास रुपैयाँ लाग्छ 

गुप्ताका अनुसार नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर सिडिएस क्लियरिङ कम्पनीको सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक तथा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्यको काम गर्ने गर्छन् । इजाजतप्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाले डिम्याट एकाउन्ट खोल्न सक्छन् । 

पुरानो प्रमाणपत्रसमेत डिम्याट खाता खोलेर कम्पनीलाई बुझाउनु पर्छ कम्पनीले खाता नम्बर, चेक दिन्छ । खाता खोलेपछि कम्पनीले स्लिप दिन्छ । यो स्लिप हराउनु हुँदैन । हराइहालेमा सिडिएसलाई खबर गर्नुपर्छ । 

झन्झट तथा प्रविधि

नियमनकारी निकायले सेयरलाई डिम्याट गर्नु सुखद् पक्ष भएको पुडासैनी बताउँछन् । सुरुमा केही झन्झटिला पाटा देखिए पनि अहिले सहज भएको उनी बताउँछन् । पुरानो प्रणालीबाट नयाँ प्रणालीमा जाँदा केही सामान्य कठिनाई हुन्छन् तर अहिले समस्या नभएको पुडासैनीको धारणा छ । 

सुरुमा केही प्राविधिक समस्या भएर त्रुटि भएको सिइओ घिमिरे स्वीकार गर्छन् । नेपालमा अहिले पनि सेन्ट्रल डाटाबेस पुरानो छ र नयाँ—नयाँ प्रविधि आइसकेकाले सम्बन्धित निकायले नयाँ प्रविधि भिœयाएर कामलाई छिटो तथा प्रभावकारी बनाउनुपर्ने सिइओ घिमिरेको धारणा छ । सिडिएसले प्रभावकारी डाटाबेसको बिस्तार गर्नुपर्ने र त्यसो नगरिएकाले प्रविधिक कारणले सोचेअनुरुप छिटो तथा प्रभावकारी काम हुन नसकेको उनको भनाइ छ ।  

विकसित देशले प्रयोग गरेका प्रविधि नै यतिबेला नेपालीले उपयोग गर्नुपर्ने उनको धारणा छ । ग्रामीण भेगमा समेत प्रविधिको बिस्तार गरेर सेयरको सहज कारोबारमा पहुँच हुनुपर्नेमा उनको जोड छ । 

पारदर्शिता तथा जोखिम

कुनै प्राकृतिक प्रकोपको समयमा सिस्टम फेलियर हुन सक्नेमा गुप्ता र घिमिरे एक मत छन् । गुप्ताका अनुसार सुरक्षाका लागि वेबसाइट गृह मन्त्रालयमा राखिएको छ । भूकम्प लगायतका प्राकृतिक प्रकोपमा जोखिम नहोस् भनेर अर्को साइट पनि सुरक्षित गरिएको छ । अन्य जोखिम नहुने गुप्ता प्रस्ट पार्छन् । कसैले कीर्ते गर्ने सम्भावना नभएको उनको विश्वास छ । उनका अनुसार ६ वटा पोइन्टमा चेक हुन्छ । नेप्से, ब्रोकरमा चेक हुन्छ । खातामा सार्ने बेलामा समेत निगरानी गरिन्छ, त्यसैले चोरी हुने सम्भावना छैन । सेयर सुरक्षित हुनेमा रेग्मी पनि आश्वस्त पार्छन् । 

चोरी, डकैती तथा कीर्तेको चुनौती भौतिक कारोबारमा हैन, विद्युतीय कारोबारमा समेत हुन सक्ने घिमिरे बताउँछन् । ‘साइबर सेक्युरिटी, आइटी थ्रेुट वित्तीय कारोबारमा पनि हुन सक्छ,’ घिमिरेले भने, ‘तर लगानीकर्ता नठगिऊन् भनेर गतिलो सुुरक्षा विधि पनि अपनाइएको हुन्छ ।’

त्यसैले नेपालमा सेयरको कारोबारमा असुरक्षित हुनुपर्ने अवस्था नरहेको घिमिरे प्रस्ट पार्छन् । अहिले सेयर कारोबार गर्न तीनदेखि चार दिनसम्म लाग्ने गरेकामा यस्तो कारोबारलाई अझै छिटो बनाउनु पर्ने घिमिरे बताउँछन् । 

प्रकाशित: १ श्रावण २०७५ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App