८ वैशाख २०८१ शनिबार
खेल

सुपरस्टारको हैसियत

लुका मोडरिच

मस्को – क्रोएसियालाई असाधारण रूपमा विश्वकपको फाइनलसम्म डोर्याएका लुका मोडरिचले आफूलाई सुपरस्टारको हैसियतमा स्थापित गरेका छन्।

क्रोएसियाले स्वतन्त्रताको लडाइँ लडिरहँदा बालक मोडरिचलाई घर छोड्दाको अवस्थाको धुमिल याद मात्र बाँकी हुन सक्छ । तर, देशले स्वतन्त्रताको लडाइँ लड्दा बेघरबार भएका तीन बालकले रूसमा क्रोएसियालाई विश्वविजेताको लडाइँमा डोर्याए ।

शारीरिक रूपमा तुलनात्मक कमजोर देखिएका क्रोएसियाका कप्तान मोडरिचले आफ्नो देशलाई विश्वविजेताको पगरी गुथाउन नसके पनि विश्वको उत्कृष्ट खेलाडीका रूपमा आफुलाई स्थापित गर्न सफल भए । शरणार्थी जीवन बिताउँदा मोडरिचले कार पार्किङमा आफ्नो प्रतिभा निखार्दा उनमाथि आँखा अड्याउने कोही हुँदैनथे । तर आइतबार मस्कोमा क्रोएसिया र फ्रान्स भिड्दा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मोडरिचलाई १ अर्बभन्दा धेरैले नियाले । मोडरिचकै फुटबल कला हेर्न अर्बाैं मान्छेका आँखा टेलिभिजनको पर्दामा एक टकले अडिए।

‘गोलाबारुदको खोकामा अभ्यास गरेको र युद्धको बीचमा हुर्किएको केटोलाई डर भन्ने कुरा हुँदैन,’ मोडरिचको बालपनका साथी मारिजन बुलजतले एएफपीसँग भने, ‘भलै उनी त्यो असहज परिस्थितिमा हुर्किएका किन नहुन्, तर मोडरिचले जुनसुकै अवस्थामा पनि आफू बलियो भएको प्रमाणित गरे । मोडरिचलाई विश्वकै उत्कृष्ट बनाउनमा यी यावत् पृष्ठभूमिको भूमिका छ।’

यहाँसम्मको यात्रा तय गर्दा उनले चार पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । रियाल मड्रिडसम्म आइपुग्दा मोडरिचले इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्याम, क्रोएसियाको डाइनामो जागरेबको यात्रा पार गरेका थिए । त्यसअघि उनले जादरको एड्रिउटिक कोस्ट (जहाँ उनले शरणार्थी जीवन बिताएका थिए) बाट उनले आफ्नो करियरको सुरुआत गरेका थिए।

‘मानसिक रूपमा उनी धेरै बलिया छन्,’ मोडरिचका पूर्वप्रशिक्षक जोसिप बाजलोले भने । गलत बयान दिएको आरोपमा जद्राभको मामिचले मडरिचविरुद्ध कारबाहीको माग गर्दे मुद्दा दायर गरेका थिए । उक्त मुद्दा अहिले अदालतमा विचाराधीन छ । तर, विश्वकपमा मोडरिचले गरेको प्रदर्शनले उनको मुद्दा छायामा परेको छ । रूसमा सम्पन्न विश्वकपको तीन खेलमा म्यान अफ दी म्याच घोषित भएका मोडरिच राष्ट्रिय नायकमा रूपमा स्थापित भएका छन्।

५ फिट ८ इन्च अग्ला र दुब्ला मोडरिचले सेन्टर मिडफिल्डमा बलिया प्रतिद्वन्द्वीको सामना कसरी गर्न सक्छन् भनेर प्रश्न नउठेका पनि होइनन् । तर मोडरिचले मैदानबाट त्यसको जबाफ दिइसकेका छन् । ‘फुटबल बलियो शरीरले मात्र खेल्ने होइन,’ क्रोएसियाका कप्तान मोडरिचले भने, ‘मलाई मेरो क्षमताप्रति कहिल्यै शंका भएन । अरूले भनेका कुरामा मेरो सहमति छैन।’

क्रोएसियाले नकआउट चरणमा डेनमार्क र रूससँग टाइब्रेकर र इङ्ल्यान्डविरुद्ध थपिएको समयमा नतिजा निकालेको थियो । त्यति बेला मोडरिचले आफू शारीरिक रूपमा पनि प्रबल छु भनेर देखाएका थिए । ‘उनी विश्वमै सबैभन्दा पूर्ण खेलाडी हुन्,’ मोडरिचका पूर्वप्रशिक्षक स्लाभन बिलिचले भने, ‘पछिल्लो ६ वर्षमा मेरो लागि लुका(मोडरिच) विश्वकै उत्कृष्ट मिडफिल्डर हुन्।’

रियाल मड्रिडमा बारम्बार आफुल महत्वपूर्ण खेलाडीको रूपमा उभ्याए पनि मोडरिच अर्का स्टार क्रिस्टियानो रोनाल्डोको छायामा परिरहे । अहिले मोडरिच रोनाल्डो र लियोनल मेसीले १० वर्षसम्म राज गरेको बालोन डी’अर अवार्डको पनि बलिया हकदार बनेका छन्।

क्रोएसियाका रक्षक डेजान लोभरेनले विश्वकप सुरु हुनुअघि नै मोडरिच स्पेन वा जर्मनीको टोलीमा भएको भए पहिल्यै विश्वको उत्कृष्ट खेलाडी बनिसक्ने बताएका छन् । तर, विश्वकपको उपाधि उचाल्न असफल भएपछि मोडरिचले व्यक्तिगत उपाधिमा आफ्नो रूचि नभएको बताएका छन्।

‘मैदानमा बिस्तारै भद्रता हराउँदै गएको छ । तर उनमा त्यो अझै बाँकी छ,’ क्रोएसियाको १९९८ टोलीका सदस्य मारियो स्टानिकले भने, ‘मोडरिचले आफ्नो मन्दिर बनाउँदै गएका छन् । जहाँ उनी फुटबल देवताका रूपमा स्थापित हुँदै छन्।’
आइतबार चालीस लाख क्रोएसियाली जनता आफ्नो भद्र नायकलाई फुटबलको स्वर्गमा पुग्न पर्याप्त शक्ति मिलोस् भनेर कामना गरिरहेका थिए।

 

प्रकाशित: १ श्रावण २०७५ ०४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App