coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

विश्वकपको व्यापकता

रुसको मस्कोस्थित लुझनिकी रंगशालामा आइतबार फ्रान्स र क्रोएसियाबीचको फाइनलसँगै विश्व फुटबलको सबभन्दा ठूलो महोत्सवले चार वर्षका लागि विश्राम लिएको छ। ३२ देशको सहभागितामा एक महिनासम्म चलेको ६४ खेलको उत्कर्ष भव्यताका साथ आइतबार सम्पन्न हुँदा फ्रान्सले दोस्रोपटक उपाधिमा कब्जा जमाएको छ। क्रोएसियाले धेरैको अपेक्षाविपरित फाइनलसम्मको यात्रा गर्दा दर्शनीय फुटबल पस्किन सफल भएको छ। क्रोएसियाली खेलाडी खेलमात्र प्रदर्शन गरेनन्, संसारभर आफ्नो देशको ब्रान्डसमेत फैलाउन सकेका छन्। यो खेलले कुनै पनि समूह कमजोर हुँदैनन् र निरन्तरको प्रयासले सफलता हासिल गर्न सक्षम हुन्छन् भन्ने सन्देशसमेत दिएको छ। ब्राजिल, जर्मनी, अर्जेन्टिना र स्पेनजस्ता समूह चाँडै घर फर्कँदा इङल्यान्ड र बेल्जियमले पनि आफूलाई विश्व फुटबल मञ्चमा प्रमाणित गरे। लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, थोमस मुलर, मोहम्मद सालाह र सर्जियो रामोसहरू आफ्नो टोलीलाई सफलताको शिखरमा पु-याउन सफल भएनन्। तर सबभन्दा तल्लो वरियतामा रहेर विश्वकप सुरु गरेको रुसले सनसनीपूर्ण प्रदर्शनका साथ क्वार्टरफाइनलसम्म यात्रा लम्बायो। क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदामात्र घरेलु टोलीको जोशले विश्राम लियो। वास्तवमै खेलको सफल आयोजनाका कारण रसियालाई एउटा विजेता राष्ट्रजत्तिकै सम्मानसमेत प्राप्त भएको छ।

नाइजेरियाको युवा टोली, किलियन एमबाप्पेको तीव्र गति, जापानको भलाद्मीपना, इङल्यान्डको एथलेटिक्स फुटबल, गारेथ साउथगेटको वेस्ट कोट, भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रयोगमा मिश्रित प्रतिक्रिया, नवप्रवेशी पनामाको पहिलो विश्वकप गोल जस्ता थुप्रै रमाइला प्रसंग छोड्न सकेको विश्वकप सफल आयोजनाका लागि पनि स्मरणीय रहनेछ ।

नाइजेरियाको युवा टोली, किलियन एमबाप्पेको तीव्र गति, जापानको भलाद्मीपना, इङल्यान्डको एथलेटिक्स फुटबल, गारेथ साउथगेटको वेस्ट कोट, भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रयोगमा मिश्रित प्रतिक्रिया, नवप्रवेशी पनामाको पहिलो विश्वकप गोल जस्ता थुप्रै रमाइला प्रसंग छोड्न सकेको विश्वकप सफल आयोजनाका लागि पनि स्मरणीय रहनेछ। २०१० मा रुसले फिफाबाट विश्वकप आयोजना अधिकार पाउँदा निक्कै विवाद भएको थियो। भ्रष्टाचार र घूस लेनदेनका चर्चा चुलिँदा रुसबाट आयोजना अधिकार खोस्नुपर्छ भन्नेसम्मका आवाज उठेका थिए। अझ अन्तर्राष्ट्रिय राजनीतिले रुसलाई एक्ल्याउँदा पछिल्ला वर्षहरूमा विश्वकप आयोजना झनै कठिन हुने चर्चा चलाइएको थियो। २०१४ देखि अमेरिकी नेतृत्वमा बेलायत, फ्रान्स, जर्मनीलगायतका युरोपेली देशहरूले नाकाबन्दी लगाएपछि रुसको आर्थिक अवस्था खस्कँदो थियो। त्यसमाथि रुसीहरू रुखो स्वभावका छन्, आक्रामक छन्, विदेशीप्रति मित्रवत् छैनन्, भाषाको समस्या ठूलो छ, आर्थिक समस्याका कारण विश्वकप आयोजनामा धेरै कन्जुस्याइ हुनेछन् जस्ता चासो जगाइएको थियो । तर रुसले यी सब अनुमानलाई गलत साबित गर्दै इतिहासकै भव्य र सफल प्रतियोगिता आयोजना गरेर देखाएका छ । खेलकुदलाई समाज र राष्ट्रको दर्पण मानिन्छ । खेलकुदले कुनै पनि देशको सभ्यता, समृद्धि र संस्कार देखाउँछ भनिन्छ । रुसले पहिलोपटक विश्वकप आयोजना गर्न पाएको अवसरलाई विश्वसामु आफ्नो सभ्यता, समृद्धि र संस्कार देखाएर छवि सुधार्ने मौकाका रूपमा सफलपूर्वक उपयोग ग-यो। प्रतियोगिता सुरु हुनुभन्दा अगाडि रुसबारे हुने गरेका नकारात्मक टिका÷टिप्पणीको खण्डन गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए– रुस एउटा अत्यन्तै मित्रवत् देश हो।

विश्वकपका खेल भएका विभिन्न ११ सहरमा विदेशीलाई रुसीहरूको मुस्कानसहितको स्वागत, भाषा समस्या भए पनि पर्याप्त मात्रामा खटाइएका स्वयम्सेवक, अतिथि सत्कारमा खुला हृदयको व्यवहार तथा भव्य पूर्वाधारमा शालीन ढंगको प्रतियोगिता गरेर पुटिनको भनाइलाई रुसी आयोजकले प्रमाणित गरे। त्यसैले त सफल आयोजना र आत्मीय अतिथि सत्कारबाट प्रभावित फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप सकिएपछि भने– ‘यो विश्वकपमार्फत अन्तर्राष्ट्रिय जगतमा रुस आफ्नो छवि परिवर्तन गर्न सफल भएको छ।’ विभिन्न महादेशबाट कोटाअनुसार छानिएर आएका ३२ टोलीले मात्र सहभागिता जनाउने भए पनि फुटबल विश्वकप विश्वको सबभन्दा बढी चासो राखिने लोकप्रिय खेल मेला हो। पूरा विश्व यो प्रतियोगिता चलुन्जेल ३२ देशमा विभाजित हुन्छन् । ‘फुटबल एउटा खेलमात्र होइन, यो शिक्षा हो, संस्कार हो, मनोरञ्जन हो, भाइचारा र मित्रताको माध्यम हो, हार स्वीकार्ने, जीतको खुसी मनाउने अनि प्राप्त उपलब्धिमा रमाउँदै जीतको बाटो खोज्न सिकाउने कला हो। त्यतिमात्र हैन, फुटबल अर्थतन्त्र हो र अरु धेरै चिज पनि हो’ भन्ने फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरको भनाइ विश्वकपको यो संस्करणले प्रमाणित गरेको छ । बेल्जियम, क्रोएसिया र इङल्यान्डजस्ता देशले यही प्रतियोतिगाको प्रदर्शनमार्फत राष्ट्रिय एकताको नयाँ उचाइ हासिल गरे । विश्वकपमा पहिलो गोलको खुसी पूरा पनामाले सडकमा ओर्लिएर मनायो। विश्वसँग एक्लिएजस्तै भएको रुसले भाइचारा र मित्रताको नयाँ आयाम भेट्टायो। रुसीहरू मित्रवत् छन्, उदार छन् र रुस समृद्ध छ जस्ता सकारात्मक सन्देश पुटिनको देशले यही प्रतियोगितामार्फत विश्वलाई दियो। भव्य, सभ्य र सुरक्षित रूपमा प्रतियोगिता गरेर आगामी संस्करणका आयोजकहरूलाई पनि मानसिक दबाब दिँदै सम्पन्न विश्वकपबाट फुटबलको बहुआयामिक चेतना विश्वभर फैलनु जरुरी छ।

फ्रान्सले जिते पनि, रुसले आयोजना गरे पनि, ३२ देशमात्र खेले पनि विश्वकप सम्पूर्ण विश्वको साझा महोत्सव हो। यसबाट सबै उत्तिकै उत्प्रेरित हुनुपर्छ। बिनाकुनै पूर्वाधार आठ महिनापछि १३औंँ दक्षिण एसियाली खेलकुद आयोजना गर्ने सुगा रटानमा रहेको नेपालले पनि ठूला खेल महोत्सव देशको दरिद्रता भजाउन नभई समृद्धि र सुसंस्कार देखाउन गरिन्छन् भन्ने पाठ सिक्नु जरुरी छ। त्योभन्दा पनि बढ्ता खेल समापन समारोहमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्राें र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले प्रदर्शन गरेको राजनयिक छवि र खेलाडीप्रति दर्शाएको सम्मान हाम्रो मुलुकका निम्ति पनि अनुशरणीय छ।

प्रकाशित: १ श्रावण २०७५ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App