७ वैशाख २०८१ शुक्रबार
कला

कथाबिनाका सिक्वेल

मुम्बई– आम रुपमा निर्माता आफूसँग भएको कथा विश्वका दर्शकलाई देखाउन र सुनाउन फिल्म बनाउँछन्।

तर यहाँ धेरै पटक कथाको अत्तोपत्तो हुँदैन, तर निर्माता फिल्म बनाउने हतारोमा हुन्छन् । अघिल्लो फिल्मको हालत जेसुकै होस् त्यसकोे शृंखला घोषणा भइसक्छ । अभिनेता सलमान खान स्टारर फिल्म ‘रेस ३’ वर्षकै झुर फिल्म मानियो । तर निर्माताले ‘रेस ४’ बनाउने घोषणा गरिसकेका छन्।

निर्माता साजिद नाडियाडवालाले पनि ‘बागी’ की दोस्रो भाग ‘बागी २’ को ट्रेलर सार्वजनिक हुनु अघि नै तेस्रो भागको घोषणा गरेका थिए । जबकि तेस्रो सिक्वेलको कथा अहिले पनि लेखिएको छैन ।केही वर्षदेखि बलिउडमा सिक्वेलको लहर चलिरहेको छ । फिल्म सफल होस् वा असफल निर्मातालाई सिक्वेल घोषणा गर्ने हतारो हुन्छ ।  यसका लागि उनीहरू कथा तयार हुने समयसम्म पनि पर्खदैनन् । किनकि हालका दिनमा बलिउडले कथाभन्दा पनि स्टारलाई प्राथमिकता दिन थालेको छ ।

निर्माताले आधारभूत अवधारणा र कलाकार दिमागमा राखिसकेपछि उनीहरूकै वरिपरि कथा बुन्ने हतारोले पनि फिल्मको सिक्वेल घोषणा गर्छन् ।आदित्य चोपडाको सफल प्रेञ्चाइज फिल्म ‘धुम’को चौथो संस्करण बन्ने चर्चा धेरै वर्ष अघिदेखि बलिउडमा छ । तर यो बनेको छैन कारण पटकथा नै तयार छैन । सलमान खानको सुपरहिट फिल्म ‘दबंग’को तेस्रो सिक्वेल ‘दबंग ३’ बन्ने चर्चामा पनि यही श्रेणीमा र्छ । यो फिल्मको कथा लेखिए पनि सलमानले नरुचाए पछि यो बन्ने अनिश्चित भएको चर्चा बलिउडमा चलेको थियो।

अर्का अभिनेता ऋतिक रोशनको सुपरहिरो फिल्म ‘कृश’को चौथो सिक्वेल बनाउने उनका पिता राकेशले सन् २०१६ मै घोषणा गरेका थिए । फिल्मको पटकथा अहिलेसम्म निर्देशकको हातमा छैन । यो फिल्म सन् २०२० मा आउने तयारीमा छ । यो फिल्मको पाँचौं संस्करण पनि बन्ने चर्चा छ । शाहरुख खानको फिल्म ‘डन ३’को चर्चा पनि उस्तै पुरानो बनिसकेको छ।

निर्माताले फिल्मको सफलता वा असफलतालाई भुलाउन नाम चलेका कलाकार राखेर सिक्वेल बनाए पनि दर्शकको बठ्याइँले ती फिल्म पनि नचलेका उदारहण छन् । निर्मात्री एकता कपुरले अजय देवगन, इमरान हाशमीलाई लिएर फिल्म ‘वन्स अपन अ टाइम इन मुम्बई’ बनाएर सफलता चाखे पनि अक्षय कुमार र इमरान खानलाई लिएर ‘वन्स अपन अ टाइम इन मुम्बई दोबारा’बाट असफलता व्यहोर्नु परेको थियो ।निर्देशक तिग्मांशु धुलियाले पनि ‘साहब, बिबी और गैंगस्टर’को सफलता पछि रणदीप हुड्डा र इरफान खान जस्ता कलाकार लिएर यसको सिक्वेल बनाए पनि पहिलोको जस्तो सफलता पाउन सकेनन् ।

अहिले उनी सञ्जय दत्तलाई लिएर तेस्रो सिक्वेल रिलिजको तयारीमा छन् ।  बलिउडको देवल परिवारका रुपमा चिनिने सनी, बबी र धर्मेन्द्रको फिल्म ‘यमला पगला दिवाना’मा पनि समस्या उस्तै देखियो । पहिलो फिल्म ‘यमला पगला दिवाना’ हिट भए पनि यसको दोस्रो भाग पूर्ण असफल बन्यो । ‘फिल्मको सिक्वेलमा दर्शक भड्किए । त्यसकारण पनि पहिलोको जस्तो सफलता पाउन सकेन ’ फिल्म असफल बनेपछि सनीले सञ्चारमाध्यमसँग भनेका थिए । सिक्वेल असफल भए पनि देवल परिवार तेस्रो सिक्वेलको तयारीमा छन्।

कहिलेकाँही दर्शकहरु आफूलाई मनपर्ने फिल्मको सिक्वेल बनाउन निर्मातासँग माग गर्छन् । त्यही कारण निर्माताले सिक्वेलको घोषणा गरिदिन्छन् । धेरै वर्ष पछि ‘तुम बिन’को सिक्वेल ‘तुम बिन २’ लिएर आएका निर्देशक अनुभव सिन्हाका अनुसार सामाजिक सञ्जालमा उनलाई ‘तुम बिन २’ बनाउनका लागि धेरैपटक अनुरोध पत्र आएको थियो।

निर्देशक आनन्द एल रायले ‘तनु वेड्स मनु’ हिट भएपछि त्यसको सिक्वेल बनाउने सोचेका थिए । तर भनेजस्तो कथा नभेटेपछि उनले ‘रांझना’ बनाए । यो फिल्मपछि मात्र नले ‘तनु वेड्स मनु रिटर्न्स’ बनाए ।  निर्देशक राजकुमार हिरानीलाई पनि ‘मुन्नाभाई’ को सिक्वेल बनाउनुप¥यो भनेर माग नआएको होइन् । यही कारण उनले घोषणा गरेको फिल्म ‘मुन्नाभाई चले अमेरिका’ पनि कथा नपाएरै रोकिएको छ ।
 

प्रकाशित: १ श्रावण २०७५ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App