काठमाडाैं - आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व मनाइँदैछ । ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि र मकर राशि प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ। आजदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
आज असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।
विवाहित महिलाहरू आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् । महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रूपमा मनाउँछन् । साउन महिना लागे देखि हिन्दु धर्मका चाडपर्वको लहरसमेत सुरु हुने गर्दछ ।
प्रकाशित: १ श्रावण २०७५ ०२:५० मंगलबार