६ वैशाख २०८१ बिहीबार
समाज

कोसी टप्पुमा गर्भिणी हात्ती स्याहार्ने चटारो

फाइल फाेटाे

इटहरी - कोसी टप्पु वन्यजन्तु आरक्षका कर्मचारीलाई यतिबेला हात्ती स्याहार्ने चटारो परेको छ। आरक्षका कर्मचारी गर्भिणी हात्तीको स्याहारसुसारमा व्यस्त भएका हुन्। संरक्षित पाँचवटा हात्तीमध्ये शोभाकली, लक्ष्मीकली, दमदमकली र सरस्वतीकली गर्भिणी छन्। हात्ती गर्भणी भएको १८ महिना भएको छ। गर्भिणी भएको २२ महिनामा हात्ती ब्याउँछ। ‘थोरै हात्तीले मात्र जिउँदो बच्चा जन्माउने हुँदा कर्मचारी स्याहार गर्न अहिलेदेखि नै जुटेका हुन्,’ आरक्षका वार्डेन श्यामकुमार साहले भने, ‘हात्तीसारका कर्मचारी अहिले हात्तीको स्याहारमा व्यस्त छन्।’

३२ वर्षदेखि हात्तीसारमा काम गरेको अनुभव बटुलेका अधिकृत रामगुलाब चौधरीले गर्भिणी हात्तीलाई उकालोओरालोमा धेरै हिँडाउन नहुने बताए। ‘उकालोओरालो गराउँदा गर्भ तुहिने सम्भावना रहन्छ,’ उनले भने, ‘गर्भिणी हात्तीलाई पशु स्वास्थ्य प्राविधिकले आवश्यक औषधि पनि हेरचाह गरिरहनुपर्छ।’

आरक्षमा रहेको अम्बिकाकलीको भने गर्भ बसेको छैन। आरक्षका अनुसार गर्भिणी हात्तीमध्ये शोभाकली ५२ वर्ष, लक्ष्मीकली नौ वर्ष दमदमकली र सरस्वतीकली १३–१३ वर्ष पुगेका छन्। गर्भ नबसेको हात्ती अम्बिकाकलीको उमेर भने ६० वर्ष पुगेको छ।

हात्तीले जीवनभर आठ पटकसम्म बच्चा जन्माउँछ। गर्भिणी हात्तीमध्ये शोभाकलीबाटै लक्ष्मीकली जन्मिएको हो। लक्ष्मीकली जन्मिनुभन्दा १२ वर्षअघि शोभाकलीले एउटा बच्चा जन्माएको थियो। त्यो बच्चा ६ महिनापछि मरेको थियो। दमदमकली र सरस्वतीकली भने दुई वर्षअघि चितवनबाट ल्याइएको हो। अधिकृत चौधरीका अनुसार आरक्षणमा भाले हात्ती छैन। त्यसैले संरक्षित ढोईलाई जंगली हात्तीले गर्भाधान गराउँछन्। आरक्षका अनुसार जंगली हात्तीमध्ये समूहमा कहिले नौवटा र कहिले तीनवटा भाले हात्ती देखिने गरेका छन्।

कोसी टप्पुमा बढी मात्रामा विदेशी पर्यटकले हात्ती हेरेर रमाउँछन्। स्वदेशी पर्यटक भने हात्तीमा चढेर मनोरञ्जन लिन्छन्। चारवटा हात्ती गर्भिणी भएकाले गर्दा पर्यटकलाई अम्बिकाकली हात्तीमा मात्र चढाएर मनोरञ्जन दिलाउने गरिएको अधिकृत चौधरीले बताए।

त्यसो त अम्बिकाकली हात्ती अरूभन्दा अलिक बदमास स्वाभावको छ। ‘यसले कहिलेकाहीं नयाँ मान्छेलाई टेर्दैन। लक्ष्मीकलीले पनि नयाँ मान्छे चढ्दा हल्लाइदिन्छ।’

कोसी टप्पुबाट पार्वतीकली, पृथ्वीकली, कुसप्रसाद, पारसगज र तीर्थमानकाली चितवनमा लगिएको छ। पार्वतीकली रली २०४७ सालताका कोसी टप्पुबाट चितवन लगिएको हो। कुसप्रसाद, पारसगज र तीर्थमानकली भने चितवनमै जन्मिएका हुन्। यी हात्तीलाई केही वर्षअघि कोसी टप्पुमा लगिएको थियो।

प्रकाशित: १ श्रावण २०७५ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App