८ वैशाख २०८१ शनिबार
अर्थ

१ अर्बभन्दा धेरैको निर्यात हुने १४ वस्तुहरू

काठमाडौं - मुलुकले गत आर्थिक वर्षको ११ महिनामा गरेको कुल निर्यातमध्ये आधाभन्दा धेरै आम्दानी १४ वस्तुबाट गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार उत्कृष्ट निर्यात भएका १४ वस्तुबाट मुलुकले ४८ अर्ब १५ करोड आम्दानी गरेको छ ।विभागको गत आवको ११ महिनासम्ममा मुलुकले कुल वैदेशिक व्यापार ११ खर्ब ८० अर्ब ९६ करोड भएकोमा ७४ अर्ब ४३ करोड रुपैया बराबरको सामान निर्यात गरेको छ । कुल निर्यातमध्ये एक दर्जनको हिस्सा धेरै रहेको छ।

मुलुकबाट सबैभन्दा धेरै निर्यात भएको वस्तुमा विभिन्न प्रकारको धागो (यार्न) रहेको छ । धागो ११ महिनामा ७ अर्ब ५६ करोड रुपैयाको निर्यात भएको छ । यार्न छिमेकी देश चीन, भारत, टर्की, साउदी अरब, बेलायत फ्रान्स लगायतका देशहरूमा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।त्यसैगरी, सबैभन्दा धेरै निर्यात हुने वस्तुहरू मध्ये गलैंचा पनि रहेको छ । ११ महिनामा गलैचा ६ अर्ब ४४ करोड रुपैयाको निर्यात भएको छ । कार्पेट अर्मेनिया, अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका देशमा निर्यात भएको छ ।

तयारी पोशाक र फलाम, स्टील र त्यसका सामान निर्यात झन्डै उस्तै रहेको छ । तयारी पोशाको निर्यात ५ अर्ब ३२ करोड रुपैयाको छ भने फलाम, स्टील र त्यसका सामानको निर्यात ५ अर्ब ५ करोड रहेको छ । तयारी पोशाकको निर्यात क्यानडा, अमेरिका, अष्ट्रेलिया, भारत, चीन, इटाली, नेदरल्याण्ड लगायतका विश्वका दर्जनौं देशमा भएको छ । भारत, चीन अमेरिका, अष्ट्रेलिया लगायतका कैयन देशमा भएको छ ।अन्य धेरै निर्यात हुने वस्तुमा अलैंची ४ अर्ब ६१ करोड र जुस ४ अर्ब ३४ करोड रहेका छन् । झन्डै ३ अर्बको निर्यात हुने वस्तुहरूमा कपडा र चिया रहेका छन् । झन्डै २ अर्बको निर्यात हुने वस्तुमा पश्मिना र जुट व्याग रहेका छन् ।

झन्डै साढे १ अर्बको निर्यात हुनेमा रोजिन तथा रेजिन एसिड र फेल्टका उत्पादन छन् भने जुत्ता र तामाका सामान एक अर्बको हाराहारीमा निर्यात भएका छन् ।विभागको चालु आवको ११ महिनासम्ममा मुलुकले कुल वैदेशिक व्यापार ११ खर्ब ८० अर्ब ९६ करोड भएको छ । यो गत आर्थिक वर्ष २०७३÷४७ को सोही अवधिको भन्दा २२.८८ प्रतिशतले बढी हो । वैदेशिक व्यापार झन्डै २३ प्रतिशतले वृद्धि भए पनि व्यापार असन्तुलन झन बढेको छ ।

मुलुकमा आयातको तुलनामा निर्यात अवस्था नाजुक रहेको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा मुलुकमा कुल ७४ अर्ब ४३ करोड रुपैया बराबरको सामान निर्यात गरेको विभागको तथ्यांकमा उल्लेख छ । एक वर्षमा निर्यातको वृद्धि दर आयातको तुलनामा आधाभन्दा धेरै कम छ । गत आर्थिक वर्षको भन्दा चालु आवमा मुलुकको निर्यात १०.४६ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार गत वर्षको ११ महिनामा मुलुकको निर्यात ६७ अर्ब २८ करोड मात्र रहेको थियो।

११ महिनाको अवधिमा मुलुकले कुल ११ खर्ब ६ अर्ब ६४ करोड रुपैया बराबरको सामान आयात गरेको छ । यो आयात गत वर्षको सोही अवधिकोभन्दा २३.८२ प्रतिशतले बढी हो । गत वर्ष पहिलो ११ महिनाको अवधिमा ८ खर्ब ९३ अर्ब ७८ करोडको सामान मुलकमा भित्रिएको थियो ।

 

प्रकाशित: १ श्रावण २०७५ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App