८ वैशाख २०८१ शनिबार
अर्थ

लगानीकर्ताका लागि अशुभ वर्ष

काठमाडौं - सेयर धितोमा बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याज बढ्दा एक वर्षमा सेयर बजार मापक नेप्से ३९१.७९ बिन्दुले घटेको छ । आर्थिक वर्ष २०७४-०७५  मा सेयर बजार उच्च बिन्दुले ओरालो लागेका कारण लगानीकर्ताका लागि यो वर्ष निराशाजनक हुन पुग्यो।

सेयरको मूल्य घट्दा लगानीकर्ताले यो वर्ष ठूलो घाटा बेहोरेका छन् । आर्थिक वर्ष २०७४-०७५ को  सुरुका दिन अर्थात पोहोर साउन १ गते सेयर बजार नेप्से १६०४.१५ बिन्दुमा थियो । त्यो निरन्तर घटेर चालु आर्थिक वर्षको अन्त्य अर्थात असार ३२ गते  सोमबार (हिजो) १२१२.३६ बिन्दुमा आइपुगेको छ।

बजार निरन्तर रुपमा ओरालो लागेपछि लगानीकर्ता निराश हुन पुगेका छन् । चारैतिर निराशा छाएका कारण सेयरमा लगानी गर्नेले यो आवमा कमाउन सकेनन् ।नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सकारात्मक सोचको विकास तथा स्थिर सरकार स्थापना हुँदाहुँदै पनि आर्थिक वर्ष २०७४-०७५ नेपालको पुँजीबजारको लागि निराशाजनक रहेको बताए ।

‘समग्रमा लगानीकर्ताले यो वर्ष २४.४४ प्रतिशत गुमाए । यही वर्ष नै लगानीकर्ताले सात प्रतिशतको ब्याजदर १४ प्रतिशतसम्म तिर्न बाध्य भए,’ उनले भने ‘ऋण लिएर लगानी गरेका लगानीकर्ताले सिधै ३८.४४ प्रतिशत गुमाए ।’सेयर बजारमा लगानीको हिसाबले आर्थिक वर्ष २०७४÷०७५ शुभ रहेन । पुँजी बजारमा लगानी गर्नेले दुःखका साथ यो आर्थिक वर्षको बिदाइ गरे।

उनीहरुले नयाँ आर्थिक वर्ष २०७५-०७६ साललाई कमाइको वर्ष बनोस् भनेर शुभकामना दिएका छन् । आर्थिक वर्ष २०७५-०७६ सबै लगानीकर्ताको लागि सुखद रहोस् भन्ने शुभ–कामना पनि अध्यक्ष पौडेलले दिए ।आर्थिक वर्ष २०७४-०७५ को अन्तिम दिन सोमबार नेप्से १२.२६ बिन्दुले उकालो लागेकाले पनि आगामी आवको लागि शुभसंकेत देखिएको लगानीकर्ता बताउँछन्।

चालुु आर्थिक वर्ष लगानीयोग्य रकम (तरलता)को अभावले सेयर बजारको कारोबार समेतलाई प्रभाव पा¥यो । सात प्रतिशत ब्याजमा पाइने सेयर धितो कर्जा १४ प्रतिशत पुग्यो । उच्च दरको ब्याज तिरेर पनि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाएनन् । यसले गर्दा पनि लगानीकर्ताले घाटा बेहोर्नु पर्यो ।

सरकारले सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नल्याएकाले यो वर्ष सेयर बजार ओरालो लागेको नाम खुलाउन नचाहने एक लगानीकर्ताले बताए ।नेप्से मात्र होइन कारोबार रकममा समेत कमी आएको छ । दोस्रो बजार नेप्सेमा डेढ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुँदै आएकोमा अहिले दैनिक औसत २५ करोडमा ओर्लेको छ।

– एक वर्षमा नेप्से ३९२ बिन्दुले ओर्लियो
– सेयर धितो कर्जाको ब्याजदर दोब्बर हुनु मुख्य कारण
– आर्थिक वर्षको अन्तिम दिन १२.२६ बिन्दुले बढ्यो सूचक

सेयर धितो राखेर लिएको कर्जाको ब्याज बढेका कारण सेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए । ‘सेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ,’ उनले नागरिकसँग भने । बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ ।ब्याजदर र सेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा सेयरको मूल्य घट्छ, ब्याजदर घट्दा बढ्छ।

ब्याजदर बढेकाले सेयर बजारमा गिरावट आएको भनाइ कतिपयको छ । यसअघि ब्याजदर कम थियो । सेयरको भाउ पनि बढेको थियो । अहिले ब्याजदर बढेसँगै सेयर मूल्यमा शिथिलता आएको छ ।चालु आर्थिक वर्षको अन्तिममा पुँजी बजारमा सरकारले बोनस र हकप्रद सेयरको आधार मूल्यमै लाभकर लिने जस्ता कारणले सिर्जित अन्योलले पनि बजार घटाउन योगदान गरेको छ।

नयाँ आर्थिक वर्ष (आज) मंगलबारबाट सुरु भएको छ । हिजोसम्म पुँजी बजार सुधारका खबर आएका छैनन् । आव २०७४-०७५ मा सुखद सन्देश दिन नसकेको सेयर बजारले नयाँ आवमा पनि सकारात्मक सन्देश प्रवाह नगर्ने हो कि भन्ने आंशका लगानीकर्तामा छ ।मुलुकको एकमात्र पुँजी बजारको दायरा फराकिलो बनाउन उपत्यका बाहिरबाट कारोबार सुरु गरिए पनि त्यसको सकारात्मक प्रभाव देखिएको छैन ।सेयर बजार बढ्नका लागि अर्थतन्त्रका सूचकमै सुधार हुनुपर्ने भनाइ कतिपयको छ । ‘बजारमा लगानीयोग्य पुँजीको अभाव छ, ब्याजदर बढेको छ,’ एक लगानीकर्ताले भने, ‘यसले गर्दा पनि बजार बढ्न नसकेको हो ।’

यसपछिको वृद्धिका लागि सेयर बजारमा विदेशी लगानी खोल्नुपर्ने विज्ञ बताउँछन् । ‘विदेशी लगानीकर्तालाई सेयर बजार खुला गर्नुपर्छ र एनआरएनलाई कार्डकै आधारमा लगानी गर्न दिनुपर्छ,’ उनले भने, ‘नेप्सेको कारोबार प्रणालीमा पनि सुधार ल्याउन आवश्यक छ ।’ मंगलबारदेखि परीक्षणका रुपमा अनलाइन कारोबार गर्न लागिएको छ । यसले सेयर बजार सुधारमा मद्दत पुग्ने कतिपयको बुझाइ छ ।लगानीकर्ताले बैंकको ब्याजदरमा कमी आएमा र विदेशीलाई पनि यसमा लगानी गर्ने वातावरण बने मात्र सेयर बजार बढ्ने अपेक्षा गरेका छन्।

राजनीतिक घटनाक्रमले पनि सेयर  बजार उकालो वा ओरालो लाग्ने गर्छ । निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने लगायत अपेक्षा थियो ।कम्तीमा भोलिदेखि अनलाइन कारोबार थाल्न र छिटोभन्दा छिटो बैंकलाई ब्रोकरको लाइसेन्स दिने व्यवस्था गर्न अध्यक्ष पौडेलले सुझाए ।  जोखिम भार मूल्यांकन १०० मा ल्याई प्राथमिक पुँजीको शतप्रतिशतसम्म ऋण दिने र व्यक्तिगत कर्जाको सीमा पूर्ववत बनाउन पनि उनले माग गरे।

प्रकाशित: १ श्रावण २०७५ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App