८ वैशाख २०८१ शनिबार
अर्थ

निर्यातभन्दा दोब्बर मूल्यको इन्धन आयात

फाइल फाेटाे

काठमाडौं - मुलुकबाट निर्यात हुने वस्तुको कुल मूल्यभन्दा दोब्बरको इन्धन आयात भएको छ । यो वर्ष करिब डेढ खर्ब रुपैयाँको इन्धन आयात गरेको नेपाल आयल निगमले जनाएको छ।

यो वर्षभरीमा निर्यात भएका वस्तुको मूल्यभन्दा दोब्बर हो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष ०७४-७५ को ११ महिनामा ७४ अर्ब ३१ करोड रुपैयाँका वस्तु निर्यात भएको भएको छ । यसलाई आधार मान्दा यो वर्ष ८१ अर्ब रुपैयाँको कुल निर्यात हुने देखिन्छ ।सयौं वस्तुको निर्यातबाट मासिक सरदर पौने सात अर्ब रुपैयाँ आम्दानी गरिरहँदा इन्धन आयातमा मात्र दोब्बर रकम (करिब १३ अर्ब रुपैयाँ) विदेश गइरहेको छ । यसले मुुलुकको व्यापार घाटा झन् बढाएको छ ।

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७४÷७५ मा करिब ४७ अर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात गरेको निगमले जनाएको छ । एक वर्षमा करिब एक सय ५५ अर्ब रुपैयाँको इन्धन आयात भएको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘इन्धनको भाउ र खपत बढेकाले आयात बढेको हो,’ शाहले भने, ‘यो वर्ष २० प्रतिशतले खपत बढेको छ ।’ गत अाव ०७३/७४ मा १०८ अर्बकाे इन्धन अायात भएकाे थियाे।

मुलुकमा लोडसेडिङ घटे पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास आयात बढेको छ ।वितगमा निजी उद्योग, सरकारी तथा गैरसरकारी निकायले जेनेरेटर चलाउन डिजेल, पेट्रोल प्रयोग गर्दै आएका थिए । अहिले विद्युत् आपूर्ति नियमित भएको छ ।

आर्थिक वर्ष ०७४-७५ मा ८१ अर्बको निर्यात भए पनि एक सय ५५ अर्ब रुपैयाँको इन्धन आयात भएको छ ।

विद्युत् आपूर्ति नियमित भएपछि इन्धन आयात घट्ने अपेक्षा गरिएको भए पनि झन् बढेको छ । इन्धनले व्यापार घाटा बढाएको छ । मुलुकमा ११ सय सात अर्ब रुपैयाँका विभिन्न वस्तु आयात भएका छन् । यसमा इन्धनको हिस्सा करिब १४ प्रतिशत रहेको छ ।जेनेरेटर कम चले पनि एक वर्षमै करिब तीन लाख नयाँ सवारी साधन थपिएका छन् । पूर्वाधार निर्माण, विद्युत् सहितका ठूला विकास आयोजनामा इन्धन खपत बढेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

‘हरेक वर्ष सवारी चाप बढिरहेको छ,’ उनले भने, ‘निर्माणका काम थपिएकाले पनि इन्धन खपत बढेको हो ।’ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिको असर यहाँको बजारमा पर्दा पनि रकम बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य गत वर्षको तुलनामा ६४.४ प्रतिशतले वृद्धि भएको छ ।डलरको भाउ बढेकाले ठूलो परिणाममा रकम भुक्तानी गर्दा थप व्यवभार परेको निगमले जनाएको छ । ‘डलर बलियो हुँदा हाम्रो भुक्तानी पनि धेरै हुन्छ,’ भट्टराईले भने, ‘त्यसको असर पनि मूल्यमा परेको छ ।’

अहिले पेट्रोल मासिक करिब ४२ हजार किलोलिटर, डिजेल एक लाख ५४ हजार, मट्टीतेल एक लाख २२ सय, हवाई इन्धन १५ हजार किलोलिटर, खाना पकाउने ग्यास ३४ हजार मेट्रिक टन खपत हुने गरेको छ । गत वर्षको जनवरीदेखि जुनसम्मको अवधिसँग तुलना गर्दा पेट्रोल १७ प्रतिशत, डिजेल २०, हवाई इन्धन १२, खाना पकाउने ग्यास १५ प्रतिशतले आयात बढेको निगमले जनाएको छ । वर्षभरी वृद्धि भए पनि यो बर्खामा भने इन्धन केही खपत घटेको छ।

नेपालमा आयात हुने वस्तुमध्ये सबैभन्दा धेरै मूल्यको इन्धन नै आयात हुन्छ । इन्धनले वातावरण प्रदूषण बढाउने भएकाले सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने तयारी गरिरहेको छ ।पछिल्ला पाँच वर्षमा इन्धन खपत शतप्रतिशत बढेको छ । सवारी साधनको चाप बढेपछि  खपत ह्वात्तै बढेको हो । जनसंख्या वृद्धिसहित सवारी साधनको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न आयल निगमलाई हम्मे पर्न थालेको छ।

आर्थिक वर्ष ०६९- ७० मा पेट्रोल दुई लाख २१ हजार ६ सय ७६ किलोलिटर खपत भएकामा आर्थिक वर्ष ०७३÷७४ मा चार लाख दुई हजार दुई सय ७८ किलोलिटर खपत भएको थियो । यही दरमा इन्धनको माग बढ्दै जाँदा अबको आठ वर्षपछि आर्थिक वर्ष ०८२÷८३ मा १० लाख आठ हजार सात सय ६९ किलोलिटर पुग्ने निगमले प्रक्षेपण गरेको छ ।

 

प्रकाशित: १ श्रावण २०७५ ०१:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App