coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्ष दिनमा साढे ३५ अर्बको सुन आयो

फाइल फाेटाे : नागरिक

काठमाडौं - चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीबाट ३५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ । यो वर्ष पोहोरको तुलनामा तीन अर्ब ९३ करोडभन्दा बढीको सुन आयात भएको हो।

प्रत्येक वर्ष सुन आयात बढ्दै गएको छ । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षमा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको छ । आर्थिक वर्ष ०७३-७४ भरीमा ६ हजार चार सय ५५ किलो आयात भएको थियो ।बजारमा अहिले प्रति १० ग्राम सुनको मूल्य ४८ हजार आठ सय ४७ रुपैयाँ तोकिएको छ । यो हिसाबले एक वर्षमा उक्त रकम बराबरको सुन मुलुकमा भित्रिएको हो।

एक महिनामा ६ सय किलो सुन बैंकले ल्याउने गरेको सेन्चुरी कमर्सियल बैंकका टे«जरी विभाग प्रमुख झविन्द्र खत्रीले आइतबार नागारिकलाई बताए । ‘त्यसरी ल्याएको सुन ५० किलोको दरले बैंकलाई बिक्री गर्न दिइन्छ,’ उनले भने, ‘लाइन (क्यु) मा बसेर महिनामा १२ बैंकले त्यस्तो सुन बिक्री गर्छन्।’

वार्षिक रुपमा ५० अर्बको सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । यसबाट करिब १३ अर्ब राजस्व सरकारलाई प्राप्त हुने गरेको महासंघको भनाइ छ ।२२ हजारभन्दा बढी व्यवसायी सुनचाँदी कारोबारमा छन् । यसमा करिब दुई लाख कामदार तथा कालिगढले प्रत्यक्ष तथा अपत्यक्ष रुपमा रोजगारी पाइरहेको महासंघको भनाइ छ।

अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट फर्किने नेपालीले भन्सार तिरेर एक सय ग्रामसम्म काँचो सुन आयात गर्न सक्ने व्यवस्था गरेपछि फेरि बैंकिङ च्यानबाट सुन आयातमा कमी आउने र गैरबैंकिङ प्रणालीबाट सुन बढी भित्रिने अनुमान गरिएको छ । तर, बैंकले भन्दा बढी भन्सार तिरेर ल्याउने भएकाले बैंकबाट आयात हुने सुनमा कमी नआउने अध्यक्ष सुनारको भनाइ छ । ‘सुन ल्याउन विदेशमा काम गरेकोले आयस्रोत देखाउनुपर्ने हुन्छ,’ उनले भने, ‘आयस्रोत देखाएर ल्याउँदा पनि यहाँ किन्नुभन्दा महँगो पर्ने भएकाले त्यसरी सुन बोकेर आउने कमै हुन्छन्।’

सबैभन्दा बढी सुन दुबईबाट आउने गरेको छ । यसअघि सरकारले ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकिङ प्रणालीबाट हुने आयात बढेको थियो ।  यसअघि पनि वैदेशिक रोजगारीमा गएका नेपालीले बिनाभन्सार ५० ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्थाले सुन अवैधानिक तवरले बजारमा बिक्री भएको आंशका गरिएको थियो । त्यसपछि सरकारले त्यसरी सुन ल्याउन प्रतिबन्ध लगाएको थियो।

सुन व्यवसायीलाई भने सरकारले ल्याएको नयाँ व्यवस्थाले फाइदा पुग्ने सुनारले बताए । ‘पहिला पनि रोजगारीमा गएका नेपालीले ५० ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्थाले व्यवसायीलाई फाइदा नै भएको थियो,’ उनले भने, ‘बजेटमा ल्याइएको नयाँ व्यवस्थाले पनि सकारात्मक प्रभाव पार्ने देखिन्छ ।’नयाँ व्यवस्थाले सुन व्यवसायीले बिनाझन्झट सुन खरिद गर्न पाउने भएका छन् । ‘पहिला दुरुपयोग भएको शंका लागेपछि बन्द भएको थियो,’ सुनारले भने, ‘पुनः अहिले पुरानै नियम ल्याएको छ।’

अहिले भने वैदेशिक रोजगारीमा गएकाले गरगहना बनाएरमात्र सीमित सुन ल्याउन पाउँछन् । नेपालमा बैंकिङ माध्यम, वैदेशिक रोजगारीमा गएका र अवैध तरिकाले ठूलो परिणाममा सुन आयात हुने गरेको छ ।बैंकहरुले एकपटकमा ५० किलो सुन ल्याउने गरेका छन् । २०७३ फागुनदेखि दैनिक २० किलो र चाडपर्वमा थप दैनिक पाँच किलो आयात गर्दै आएका छन् । यसअघि दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउँथे।

अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन् । त्यसमध्ये सेञ्चुरी बैंकले धेरै ल्याउँछ । व्यवसायीले बैंकबाटै सुनचाँदी किन्नुपर्छ । नेपालमा सुनचाँदी आयात गर्न वाणिज्य बैंकले मात्र पाउँछन् । केन्द्रीय बैंकले कम गुणस्तरका सुन आयातमा प्रतिबन्ध लगाउँदै ९९.९९ प्रतिशत शुद्ध सुनमात्र आयात गर्न पाउने व्यवस्था गरेको छ ।
‘माग बढ्न थालेपछि बैंकहरुले सुन धेरै ल्याउन थालेको छन्,’ नेपाल बैंकर्स संघका एक अधिकारीले भने, ‘अहिले व्यापारीलाई दिने सुनको अभाव छैन ।’ बैंकमा रहेको सुन चाँडै नै खपत हुन थालेपछि यसको आयात परिमाण पनि बढेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले प्रस्ट पारेको छ।

स्टक सुन बिक्री भएपछि बैंकले सुन आयात गर्न थालेका छन् । यसअघि बिक्री नभएको भन्दै आयात रोकेका थिए । पछिल्लो समय अनौपचारिक बाटोबाट सुन भित्रने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकको सुन बिक्री बढेको छ,’ उनले भने ।
अवैधानिक रुपमा पनि ठूलो परिणाममा सुन आयात हुँदै आएको छ । अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारको राजस्व गुम्दै गएको छ ।

३३ किलो सुन प्रकरणपछि बैंकबाट सुन आयात बढ्यो
काठमाडौं– तस्करीको ३३ किलो सुन प्रकरणपछि बैंकिङ प्रणालीबाट सुन आयात बढेको सेञ्चुरी बैंकका ट्रेजरी विभाग प्रमुख झविन्द्र खत्रीले बताए ।

अवैधानिक तवरबाट आएको सुन खरिद गर्दा अनावश्यक झन्झट बेहोर्नुपर्ने भएकाले पनि बंैंकबाट सुन खरिद गर्ने बढेका हुन् । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ प्रक्राउ परेपछि अवैध सुन खरिद–बिक्रीमा कमी आएको व्यवसायीको भनाइ छ ।

 

 

प्रकाशित: १ श्रावण २०७५ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App