६ वैशाख २०८१ बिहीबार
समाज

ठेकेदारको लापरवाहीले विद्यालय भवन अलपत्र

विद्यालयमा ल्याइएकाे अपुरो सामग्रीहरु । तस्बिर : नागिरक

रोल्पा– रोल्पाका विभिन्न विद्यालयमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भएपनि सामग्री बुझाएका छैनन्। प्रति विद्यालयको सामाग्री ५ लाख १० हजारमा खरिद गरि गाडी जाने ठाउँसम्म ढुवानी समेत गरिदिने भन्दै तीन/तीन लाख पेश्की लगेका ठेकेदारले सामग्री दिएका ठाउँमा पनि अपुरो दिएका छन्। २५ वटा विद्यालयका लागि ५ लाख १० हजारका दरले सम्झौता गरेका ठेकेदारले ७५ लाख बढी पेस्की समेत लगिसकेका छन्। 

‘हाम्रो स्कुलबाट ३ लाख पेश्की उहिल्यै लगेका हुन्। भोलि भन्दा भन्दै ६ महिना भयो। जहिले फोन गरे पनि सामान लोड गरेको छ भोलि आउँछ मात्र भन्छन्। पेश्की लगेको २० दिनमा सामग्री बुझाउने सम्झौता भएको थियो। हाम्रो माडी गाउँपालिकाको ३ स्कुलको बिचल्ली भएको छ’, भगवती आधारभुत विद्यालयका शिक्षक चित्रबहादुर बुढामगरले बताए। धेरै जसो बिद्यालयहरुमा अन्य काम सकिएको भए पनि ट्रस र जस्तापाता नहुँदा समस्या परेको छ। बर्षातको समय भएकाले पनि कतिपय विद्यालयको विजोग भएको छ। किनेको बालुवा र खनेको जगमा पानीले नोक्सान गरेको छ।

बागेश्वरी स्टिल स्टक्चर प्रालि नेपालगञ्जको प्रतिनिधिका रुपमा भुबनेश्वरी ट्रेडस एण्ड सप्लायर्स सल्यानका प्राण कुमार राईले २०७४ माघ १० गते २० दिनभित्र सामान पठाउने भन्दै सम्झौता गरेका थिए। ठेकेदारले माडी गाउँपालिकाका ३ र रोल्पा नगरपालिकाको १ विद्यालयमा एउटा पनि सामाग्री दिएका छैनन् भने दिएका अन्य बिद्यालयमा पनि अपुरो सामग्री दिएका छन्। 

‘विद्यालयले आफूले गर्ने अन्य काम त गरेका छन् तर ट्रसको सामाग्री आएन। भोलि  भन्दा भन्दै सामान नपठाएपछि कसरी काम हुनु’, माडि गाउँपालिकाका शिक्षा स्रोत ब्यक्ति कबिराज रिजाल भन्छन्। उता नगरपालिकाभित्र पनि समस्या त्यस्तै छ। रोल्पा नगरपालिकाका शिक्षा स्रोत व्यक्ति राजेश धिताल भन्छन्, ‘हाम्रो सल्लाघारी प्राबिमा एउटा पनि सामान आएन। आएका कति विद्यालयमा पनि अपुरो आएको छ। सरोकारवालाले ध्यान दिनुपर्ने हो तर त्यसो देखिएन।’

उता सामग्री खरिदको जिम्मा लिएका ठेकेदार प्राणकुमार राईले नागरिकसंग कुरा गर्दै भने, ‘मैले सबै सामान लोड गरिसकेको छु। अब दुई÷चार दिनमै पुग्छ। भ्याट बिलहरु पठाई सकेको छु। रकम भुत्तानीमा समस्या पर्दैन। एकातिर पैसा अपुग भयो भने अर्कोतिर सम्झौता गरेको केहि दिनमै सामानको भाउ पनि बढ्यो।’ उनले थपे, ‘सामान बुझाएको ठाउँको पनि पुरै पैसा पाएको छैन्। जे भयो भयो, अब बाँकी सामान पनि पठाउँछु।’

ठेकेदारले समयमा सामग्री नदिँदा धेरै विद्यालयको भुक्तानी पाउन बाँकी छ। असार मसान्तपछि फ्रिज जाने यो निर्माणको रकम कसरी रोक्ने भन्नेमा जिल्ला शिक्षा कार्यालय पनि अलमलमा छ। ‘विद्यालयले योजना निर्माण नहुँदै झिक्न नपाउने गरी खातामा हालौ कि भन्ने सोच छ। हेरौ सकेसम्म कसरी मिल्छ छलफल मै छौं’ शिक्षा विकास इकाई प्रमुख दानबहादुर गुरुङले भने, ‘कसरी मिलाउने हो समस्या परेको छ।’

पटक पटक जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ठेकेदारले सम्झौता अनुसार सामाग्री नदिएको भन्दै गुनासो गरेका विद्यालयका प्रधानाध्यापकले न्याय नपाएको गुनासो गर्ने गरेका छन्। केही समय अगाडि जिल्ला शिक्षा कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय बाँके, सल्यान र रोल्पामा ठेकेदारलाई कारबाही गरिदिनुहुन भनेर पत्राचार गरिसकेको छ। ‘ठेकेदारले सामान ल्याइरहेको भन्ने सुनेको छु। के के भएको छ भनेर अनुगमन गर्न बाँकी छ’, प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने।

प्रकाशित: ३२ असार २०७५ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App