४ वैशाख २०८१ मंगलबार
समाज

सुनचाँदी कारोबार सम्बन्धी कानून बनाउन व्यवसायीको माग

मकवानपुर - नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी कानून छिटो बनाउन प्रदेश सरकारसँग आग्रह गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई सोमबार प्रदेश राजधानी हेटौंडामा आयोजित प्रदेश भेलामा ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो।

रोजगारी र राजश्व तथा बैदेशिक मुद्रा संकलनको राम्रो सम्भावना रहेको सुनचाँदी व्यवसायको विकास, विस्तार र प्रवद्धर्नका लागि नेपालमा कानून अभाव भएकाले तत्काल ऐन, कानून बनाउन उनीहरुले अनुरोध गरे। अन्यौलतालाई सम्बोधन हुने गरि संविधानले प्रदान गरेको व्यापार व्यबसाय सञ्चालन गर्न र सम्पती सम्बन्धी मौलिक अधिकार हनन् नहुने गरि स्पष्ट धारणाका साथ सुनचाँदी खरिद बिक्री कारोबार, लगानी आपूर्ती सम्बन्धी नियमावली, ऐन, कानून यथासिघ्र छिटो निर्माण गरि मर्यादित व्यवसाय, उद्योग, व्यापार, पेशा सञ्चालन गर्ने वातावरण बनाई दिन समेत अनुरोध गरिएको छ।

‘सुनचाँदी व्यवसायलाई अझ बजारमुखी तथा प्रतिष्पर्धी बनाउँन गरगहना उत्पादन, निर्माण, आपूर्ती प्रक्रियालाई गुणस्तरीय बनाउनु पर्छ’ ज्ञापनपत्रमा भनिएको छ, ‘लगानी सुरक्षाको ग्यारेन्टी प्रदान गरि यसको प्रतिफलले प्रदेशको आर्थिक समृद्धी एवम् साँस्कृतिक विकासमा योगदान गर्न प्रदेश स्तरीय निर्देशिका, मापदण्ड एवम् ऐन कानूनको नितान्त आवश्यकता छ।’

ऐन, कानून बनाउँन धेरै झन्झाटिलोः मुख्यमन्त्री पौडेल
ज्ञापनपत्र लिदै प्रदेश ३ का मुख्यमन्त्री पौडेलले सुनचाँदी व्यवसायीहरु न्याय नपाएर बर्षौदेखि तड्पीन बाध्य भएकोमा दुःख व्यक्त गर्दै ऐन, कानून बनाउँन झन्झाटिलो रहेको बताए । ‘हरेक मान्छे नउठीकन समृद्धी हुँदैन, सबै एकजुट भएर लाग्नुपर्छ’ उनले भने ‘हरेक पेशा, व्यवसायलाई सम्मान गर्नुपर्छ ।’ सरकारले धेरै ऐन, कानुन बनाउन बाँकी रहेको बताउँदै उनले कानुन बनाउन बिधी र प्रकृया बर्षौसम्म लाग्ने अवस्था रहेको जिकिर गरे । सुनचाँदी व्यवसायीको समस्या समाधान गर्दै व्यवसाय व्यवस्थित गरि राजश्व, रोजगारी बृद्धि गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताए।

 

प्रकाशित: ३२ असार २०७५ १५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App