७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘सरकार उखानटुक्का र ठट्टा मजाकमा रमाइरहेको छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको वेथितीलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्। 

सोमबार संसद बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद विश्वकर्माले डा. गोविन्द केसीको अनशन र शिक्षा स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्नेमा उखानटुक्का र ठट्टा मजाकमा रमाइरहेको भन्दै आपत्ति जनाए। उनी बोलि सकेलगत्तै कांग्रेसले संसद अवरुद्ध गरेको थियो। सभामुख कृष्ण महराले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

यस्तो छ उनको सम्बोधन

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदमा पुन पेश गरेको छ। स्वास्थ्य क्षेत्रको वेथिती, विसंगती र समस्याहरुलाई सम्बोधन गर्नुपर्नेमा सम्बोधन नगरी र विगतका सबै सरकारहरुले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्रीले समेत पटक पटक सम्झौता गरेर यो क्षेत्रको समस्या समाधान गर्छु भनी प्रतिबद्धता जाहेर गरेपछि प्राध्यापक डा गोविन्द केसीले १४ औं पटकको अनशन तोड्नुभएको थियो। यसै आधारमा बनेको माथेमा आयोग र माथेमा आयोगको प्रतिवेदनलाई लिएर बनेको चिकित्सा शिक्षा अध्यादेशलाई विगतको सरकारले जारी गरेको र त्यही अध्यादेशलाई यो सरकारले पनि निरन्तर मान्दै आएको, तर त्यो अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने बेलामा विगतका सबै समस्याहरुलाई जिउँका तिउ राख्नेगरी मात्रै नभएर अझ समस्याहरुलाई थप्ने, बल्झाउने र स्वास्थ्य शिक्षालाई राज्यको जिम्मेवारी हो भनेर संविधानले सुनिश्चित गर्दागर्दै पनि यो सरकारले यी क्षेत्रहरुमा थप वेथिती र विसंगती बढाउने, माफिया शिक्षा र स्वास्थ्यमा चलखेल गर्ने अवसर दिने र उनीहरुको प्रभावमा परेर जुन विधेयक अहिले प्रस्तुत भएको छ।

यो ठिक छैन भनेर सम्पूर्ण शिक्षा क्षेत्रका विदहरु, स्वास्थ्य चिकित्सकहरु, आमा नेपाली जनता र सम्पूर्ण नागरिक समाजले समेत यसमा आपत्ति व्यक्त गरिरहँदा र संसदमा स्वयं प्रमुख प्रतिपक्षी कांग्रेस र अन्य माननीय सदस्यहरुले पटक पटक यो विधेयक ठिक छैन फिर्ता गर्नुपर्यो भनिसकेपछि यो संसदको कार्यसूचीबाट हटेको थियो। तर सरकारले फेरि उहि नियतबाट समस्या बल्झाउनेगरी संसदमा प्रस्तुत भएपछि डा केसी जुम्लामा अनशनमा छन्। उनको १५ औं पटकको अनशनको आज १७ औं दिन भो, स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक छ।

सरकार त्यतापट्टी ध्यान दिइराखेको छैन्। सरकार उखान टुक्का, ठट्टा मजाकमा जवाफ के दिइराखेको छ भने संसदमा एक–दुई जना उभिदैमा संसद अवरोध हुँदैन। एक दुई जनाको ज्यान जाँदैमा, मर्दैमा यो मुलुकमा कुनै विपत्ति आउँदैन। सरकार पछाडी फर्कन जान्दैन्, सरकारलाई कसैलाई पनि वास्ता गर्दैन् भनेर प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र कानूनमन्त्रीबाट जवाफ आइरहेको हुनाले यो विषयमा हामीले संसदमा पटक पटक शून्य समयमा तथा विशेष समयमा आवाज उठायौं। शून्य र विशेष समयमा उठेको प्रश्नको जवाफ दिनुपर्नेमा सरकार सार्वजनिक मञ्चहरुमा, चोक चौतारीमा, सरकारी सञ्चारमाध्यमहरुमा संसदलाई खिल्ली उडाउनेगरी संसदलाई ठट्टा मजाकमा उडाउनेगरी जवाफ दिइराखेको हुनाले संसदमा यी समस्या समाधान हुनेगरी पूरानो अध्यादेश, माथेमा आयोगलाई आधार मानेर, अहिले अनशनरत डा केसीसँग वार्ता गरेर वार्ताद्वारा उहाँको गम्भीर अवस्थालाई तत्काल उपचार गरेर शिक्षा स्वास्थ्यको वेथिती अन्त्यसँग जोडिएको उहाँका मागहरु  समाधान गर्न आग्रह गर्दछौं। 

सरकार एकपक्षीय, तानाशाही र सर्वसत्तावादी ढंगबाट अघि बढिरहेको छ। यस्तो अवस्थामा प्रमुख प्रतिपक्षीको कांग्रेसको तर्फबाट संसद अघि बढ्न नसक्ने जानकारी गराउँदछु। 

प्रकाशित: ३२ असार २०७५ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App