७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अपेक्षा अत्यन्तै कम : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार हुने शिखर बैठकअघि फिनल्यान्डको हेल्सिन्कीस्थित क्याथेड्रलअगाडि आइतबार ‘हेल्सिन्की कलिङ’ नामक प्रदर्शनमा सहभागी प्रदर्शनकारी । तस्बिर : एजेन्सी

हेल्सिन्की  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युरोपेली राष्ट्र फिनल्यान्डको हेल्सिन्कीमा पहिलो पटक सोमबार शिखर बैठक हुँदैछ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक रुसी समकक्षीसँग हुने लागेको शिखर बैठकमा आफ्नो अपेक्षा अत्यन्तै कम रहेको ट्रम्पले बताएका छन् ।

२०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला डेमोक्र्याट्स उम्मेदवारको विवरण ह्याक गरेको अभियोगमा १२ जना रुसी गुप्तर अधिकारीविरुद्ध मुद्दा चलाइएको केही दिनपछि सोमबार अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पहिलो पटक शिखर बैठक हुँदैछ । सन् १९९१ मा सोभियत संघको पतनपछि अमेरिका र रुसबीच बढ्दो तनाबका बीच हुने लागेको ट्रम्प–पुटिन शिखर बैठकमा अमेरिका र रुसीबीच महत्वपूर्ण सम्झौता भयो भने त्यसले अमेरिकासँगको गठबन्धन वेवास्तामा पर्ने डर युरोपेली गठबन्धनभित्र रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

स्कटल्यान्डको पश्चिमी तटीय क्षेत्रमा रहेको आफ्नै टर्नबेरी कोर्समा गल्फ खेलेर पुटिनसँगको शिखर बैठकको तयारी गरिरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले सिबिएससँगको अन्तर्वार्तामा पुटिनसँगको बैठकमा केही खराब नतिजा नआउने बताएका छन् । ‘पुटिनसँगको बैठकमा म अत्यन्तै कम अपेक्षासहित जाँदै छु,’ टर्नबेरीमा सिबिएससँग बोल्दै राष्ट्रपति ट्रम्पले बताए । ‘म उच्च अपेक्षासहित पुटिनसँगको बैठक जाँदै छैन,’ उनले बताए।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटहरुको कम्प्युटर नेटवर्क ह्याक गरेको आरोपमा शुत्रबार अमेरिकी संघीय ग्रान्ड जुरीले १२ रुसी गुप्तचर अधिकारीलाई मुद्दा दायर गरेको थियो । रिपब्लिकन उम्मेदवार ट्रम्पलाई रुसले राष्ट्रपतीय निर्वाचनमा सहयोग गरेको भन्ने आरोपकैबीच यस्तो प्रकृतीको मुद्दा दायर गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारेको शंकास्पद गतिविधिबारे अनुसन्धान हुने ट्रम्पले पटकपटक बताउँदै आएका छन् । मस्कोको भूमिकाप्रति कडा स्वरमा प्रस्तुत हुँदै आएका ट्रम्पलाई यस विषयले पनि पुटिनसँगको बैठकमा कुराकानी गर्न अप्ठेरो हुनसक्ने अनुमान गरिएको रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्न भूमिका खेलेका रुसी नागरिकलाई अमेरिका सपुर्दगी गर्नेबारे पुटिनसँग कुराकानी गर्नुहुन्छ भन्ने सिबिएसको प्रश्नमा ट्रम्पले भने, ‘यसबारेमा मैले सोचेको छैन ।’ रुसी संविधानअनुसार आफ्ना नागरिकलाई कुनै पनि देशमा सपुर्दगी गर्न पाइँदैन।

‘यस विषयमा मैले सोचेको छैन,’ ट्रम्पले बताए । ‘तर निश्चय पनि यसबारेमा रुसी राष्ट्रपति पुटिनसँग म सोध्ने छु । तर उक्त विषय ओबामा प्रशासनको बेला भएकाले उनीहरुले जे पनि त्यही बेला गरेका थिए,’ ट्रम्पले सिबिएसलाई दिएको अभिव्यक्ति उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । १८ वर्षभन्दा बढी समय विश्व राजनीतिमा प्रभाव छोडेका रुसी राष्ट्रपति पुटिनसँग हुने बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्प अत्यन्तै अनुशासित र विस्तृत जानकारीसहित बस्ने अमेरिकी अधिकारीहरुले बताएका छन्।

‘भेटवार्ता गर्नु अत्यन्तै सही कदम हो जस्तो मलाई लाग्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । ‘रुसी राष्ट्रपतिसँगको बैठकबाट नकारात्मक विषय आउने छैन । सम्भवतः केही राम्रो विषय आउने छ,’ ट्रम्पले बताए । पुटिनसँगको बैठकमा युक्रेन र सिरियामा आणविक हतियार नियन्त्रणबारे सहमतिको प्रयास हुने ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


 

 

प्रकाशित: ३२ असार २०७५ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App