७ वैशाख २०८१ शुक्रबार
अन्य

‘सरकारी निकायबीच समन्वय नहुँदा सहर बिग्रियो’

सुरत रावत, देउडा गायक
तपाईँलाई मन पर्ने सहर कुन हो ?
मलाई पोखरा सहर राम्रो लाग्छ । यो सहर नेपालभित्र सुन्दर सहरमध्ये पर्छ । पोखरालाई प्रकृतिले नै सजाएको छ । यहाँ घुम्न र आनन्द लिने ठाउँ धेरै छन् ।

यहाँ रमणीय प्राकृतिक दृश्य देख्न पाइन्छ । अर्को कुरा, विकासका निर्माणको कसीमा पनि अन्त भन्दा पोखरा विकसीत र व्यवस्थित छ।

काठमाडौं कस्तो लाग्छ ?
मलाई काठमाडौं पनि प्यारो लाग्छ । यहाँका सहरको चहलपलह मनपर्छ । यो देशैभरका मानिसको केन्द्र पनि हो । भीडभाड भए पनि यहाँ सबैखाले सुविधाहरू पाइन्छ । देशैभरका मानिसको भीड लागेकाले काठमाडौं अस्तव्यस्त भएको हो । यदी सरकारले दिर्घकालीन योजना बनाएर काम गर्ने हो भने काठमाडौं अलि सफ र व्यवस्थित बन्न सक्छ।

यहाँको अस्तव्यस्तता कम गर्न के गर्नुपर्ला ?
यहाँ भएको सेवा–सुविधा अन्तका सहरमा विकेन्द्रीकरण गर्नुपर्यो । विकास निर्माणका कामलाई चुस्तता दिने । ठाउँ–ठाउँमा खुल्ला ठाउँहरू कायम राख्ने । सडक चौडा पार्ने ।

विकासका काम गर्ने सरकारी निकायहरूबीच समन्वय हुनुपर्यो । जनप्रतिनिधिहरूले चुनावताका गरेका अजेन्डाहरू समयमै सक्ने हो भने समस्या समाधान हुन्छ जस्तो लाग्छ।

उपत्यका बाहिर मन पर्ने सहर कुन हो ?
उपत्यका बाहिरका धेरै सहर व्यवस्थित र सुन्दर छन् । सुदूपश्चिमको सुन्दरताको जित नै बखान गरेपनि पुग्दैन । डोटी, अछाम कैलालीका पाखाहरु निकै सुन्दर छन् ।

यी ठाउँमा सयौं थरीका फूलहरु फूलिरहेका हुन्छन् । अछामको रामारोषण, खप्टडलगायत अन्य धेरै ठाउँहरु सुन्दर छन् । यीको उचित प्रचारप्रसार नहुँदा र राज्यले चासो नदिदाँ महत्व घटेको छ।

तपाईँको विचारमा सहर के हो?
सहर सफा–सुन्दर, मनमोहक र सुविधायुक्त ठाउँ हो । जहाँ मानिसका दैनिक आवश्यकताहरु सहजै पूर्ति गर्न सकिन्छ । सहरवासीले सहरमा छु भन्ने अनुभूति लिन सक्ने खालको हुनुपर्छ ।

सहरका हरेक क्षेत्र व्यवस्थित देखिनुपर्छ । सहरवासीबीचमा वैरभाव हुनुहुँदैन । परेको बेला एक–अर्कालाई सहयोग गर्ने भावना हुनुपर्छ । सहरका समस्याका विषयमा नागरिकले सरकारलाई घच्घच्याइरहन सक्नुपर्छ।

सहरवासीको प्रवृत्ति कस्तो लाग्छ ?
पहिले–पहिले सहरवासी त्यति संवेदनशील थिएनन् । अहिले सहरको विषयमा अलि गम्भीर हुन थालेका छन् । सहर सफाइमा आफै जुट्न थालेका छन् । यो राम्रो पक्ष हो । धेरैले आफ्नो मात्रै सोच्ने गरेकोले सहर बिग्रिएको हो । यदी आफ्नो कर्तव्य निभाउन सक्ने हो भने सहर यतिसारै भद्रगोल र अव्यवस्थित हुँदैन जस्तो लाग्छ।

सहरको विकासका लागि सहरवासीले कस्तो दायित्व वहन गर्नुपर्ला ?  
सहरमा बस्ने एक भएर सरकारी तहमा काम गर्नेलाई खबरदारी गर्ने । विकासका निर्माणका काममा हातेमालो गर्ने। आफ्नो टोललाई सफा राख्ने । घरभित्रको फोहर यथास्थानमा फ्याक्ने । यति गर्दा सहर भद्रगोल हुँदैन।

अहिले हामी नागरिक नै जाग्न नसक्दा सरकारमा बस्नेले सुन्दर सहरको सपना बाड्दै ठूलो फाइदा लिएका छन् । सहरको समस्या ज्यूँका त्यूँ छ । त्यसकारण नागरिक मिलेर जिम्मेवार निकायलाई खबरदारी गर्न सक्नुपर्छ।

तपाईँ कुन–कुन देशका सहर घुम्नुभएको छ ?
त्यतिधेरै देश घुमेको छैन । दुवै, कतार र भारतका केही सहर पुगेका छु । त्यहाँका सहर नेपालका भन्दा कैयौं गुणा अघि छन्।

उपत्यकाको धुवाँधुलो र अस्तव्यस्तता कसरी हट्ला ?
यसबारे जिम्मेवार निकायले सोच्नुपर्ने हो । तर, ती निकायले सोचेनन् । अहिले उपत्यकावासीलाई सहरको धुवाँधुलोले सताएको छ ।

काठमाडौं बिग्रनुको मुख्य कारण सरकारी निकायले विकास निर्माणका कार्यमा चासो नदिनु हो । ट्राफिक जाम र धुवाँधुलो रोकथामको कामलाई चाँडै सक्ने हो भने सहर केही व्यवस्थित हुन्थ्यो।

तपार्इँको सपनाको सहर कस्तो हुनुपर्छ ?
हरेक सेवा पाइयोस्, समान पहुँच होस् । स्वच्छ वातावरण होस् । कतै पनि प्रदूषण नदेखियोस् र सरकारी सुविधा होस् । यति भयो भने सहर सुन्दर लाग्छ होला।

पछिल्लो समय घुमेको सहर कुन हो ?
केही दिनअघि पोखरा पुगेको थिएँ ।

कस्तो लाग्यो ?
पोखरा नेपालको सुन्दर सहर हो । यो सहर अन्त भन्दा शान्त र सुरक्षित छ।

विदेश र हाम्रो देशका सहरबीच के भिन्नता पाउनुभयो ?
आधुनिकता र सफा सुग्घरको कसीमा विदेशका सहर धेरै राम्रा छन् । मैले घुमेका सहर प्रकृतिले भन्दा पनि मानिसबाट सजिएका थिए । तर, प्रकृतिले सजिएका हाम्रा सहर पछि परेका छन् ।

हाम्रा सहर मौलिक, प्राकृतिक र ऐतिहासिक छन् । प्रकृतिले नै हाम्रा सहरलाई सुन्दर बनाएको छ।

उपत्यकाको मन नपर्ने पक्ष के–के हुन् ?
यहाँको प्रदूषण, ट्राफिक जाम, धुलोधुवाँलगायत पक्ष मन पर्दैन।

यहाँका मन पर्ने पक्ष ?
मलाई यहाँको मौसम मनपर्छ । उपत्यकाको मौसम सदावहार छ । यहाँ ऐतिहासिक मठ–मन्दिर पनि पाइन्छ । देशैभरका मानिसहरु छन् यो यहाँको राम्रो पक्ष हो।

मन भएर पनि घुम्न नपाएको सहर ?
मलाई मुस्ताङ जान मन छ । समय मिल्यो भने त्यहाँ पनि पुग्नेछु ।

सहरको मनपर्ने खान्की के हो ?
सबैखाले खानेकुरा मिठो लाग्छ । यसबाहेक सुदुरपश्चिमको दुधपाक पनि मिठो लाग्छ ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ३२ असार २०७५ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App