coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चालू आर्थिक वर्षमा ३० घटना दर्ता

फाइल फाेटाे

सुर्खेत - पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया एक किशोरी असार १८ गते छाउगोठमै सामुहिक बलात्कारको सिकार भइन्। स्थानीय तीन किशोरले राति साढे १० बजे उनलाई छाउगोठमै सामुहिक बलात्कार गरे। आफन्तले घटनाबारे भोलिपल्ट मात्रै जानकारी पाए। अर्धचेत अवस्थामा फेला परेकी किशोरीको अहिले पनि क्षेत्रीय अस्पताल कालागाउँमा उपचार जारी छ। बलात्कार अभियोगमा स्थानीय जनक शर्मा, चेतन गिरी र पदम गिरी अहिले प्रहरीको हिरासतमा छन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

बराहतालको घटना सेलाउन नपाउँदै पञ्चपुरी नगरपालिकाकी ३२ वर्षीया अपांगता भएकी महिला बलात्कारको सिकार भइन्। वैशाखीको सहारामा हिँड्डुल गर्ने ती महिलालाई गत बुधबार राति चौकुने गाउँपालिकाका–५ का ३९ वर्षीय प्रदीप गाहामगरले घरमै गएर बलात्कार गरेका हुन्। दुई छोरासँग घरमा सुतिरहेका बेला आफूमाथि बलात्कार भएको पीडित महिलाले प्रहरीलाई बताएकी छन्। घटनाको भोलिपल्ट पीडकका आफन्तले उल्टै महिलामाथि कुटपिटसमेत गरेको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा प्रदीपलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कारका कतिपय घटना प्रहरी कार्यालयसम्म पुग्दैनन्। बलात्कारजस्तो जघन्य अपराध पनि मिलापत्रमै टुंगिने गर्छन्। कतिपय करणीका घटना पहिले सहमतिमा हुने र परिवार तथा समाजले थाहा पाएपछि मात्रै प्रहरीसम्म पुग्ने गरेका उदाहरणहरू पनि सुर्खेतमा छन्।

बलात्कार मात्रै होइन, बलात्कारपछि हत्याका घटना पनि सुर्खेतमा बढेको देखिन्छ। गत चैत १३ गते माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन बसेकी १८ वर्षीया गोरीकला रोकायको बाबियाचौरमा सामुहिक बलात्कारपछि हत्या भयो। पञ्चपुरी–३, चौर घर भएकी रोकाय एसइई परीक्षा दिन बाबियाचौरमा कोठा भाडामा बस्दै आएकी थिइन्। किशोरी बलात्कार र हत्यामा संलग्न बाबिायाचौरमा कार्यरत् ट्राफिक प्रहरी जवान हरि कोइराला, पञ्चपुरी–८, माझीगाउँका २८ वर्षीय खुमप्रसाद बास्तोला र उनका भाइ २० वर्षीय लक्ष्मी बास्तोला अहिले पुर्पक्षका लागि कारागारमा छन्।

प्रहरीको पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्ने हो भने सुर्खेतमा हरेक वर्ष बलात्कारका घटना बढ्दै गएको देखिन्छ। प्रहरीका अनुसार चालू आर्थिक वर्षमा बलात्कारका ३० वटा घटना दर्ता भएका छन् भने १६ वटा जबर्जस्ती करणी उद्योगका घटना दर्ता भएका छन्। अघिल्लो वर्षको यही अवधिमा २६ वटा बलात्कार र ११ वटा बलात्कार प्रयासका घटना दर्ता भएका थिए।

‘सुर्खेतमा हरेक वर्ष बलात्कारका घटना बढ्दै गएको यो तथ्यांकले पनि देखाउँछ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रेमप्रसाद रेग्मीले भने, ‘यस्ता घटना न्यूनिकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनु आवश्यक छ।’ बलात्कारका कतिपय घटना प्रहरी कार्यालयसम्म पुग्दैनन्। बलात्कारजस्तो जघन्य अपराध पनि मिलापत्रमै टुंगिने गर्छन् । कतिपय करणीका घटना पहिले सहमतिमा हुने र परिवार तथा समाजले थाहा पाएपछि मात्रै प्रहरीसम्म पुग्ने गरेका उदाहरणहरू पनि सुर्खेतमा छन्।

केही महिनाअघि पञ्चपुरी–१०, जामुको जनज्योति निमाविका शिक्षक युवराज शर्मा विद्यालयकै बालिका बलात्कार आरोपमा पक्राउ परे। कक्षा ७ मा पढ्ने दुई बालिकालाई चोकोपनसँगै यौन उत्तेजना बढाउने औषधि दिएर बलात्कार गरेको आरोप उनलाई लागेको थियो। ठाडो उजुरीका आधारमा शर्मा पक्राउ परे पनि पीडितहरूले लिखित उजुरी दिन भने मानेनन्। प्रहरीले शर्मालाई सार्वजनिक अपराधअन्र्तगत मुद्दा चलाएर छोड्यो।

हातहातमा मोबाइल र इन्टरनेटको पहुँचले बलात्कार लगायतका अपराध बढ्न थालेको प्रहरीको भनाइ छ। ‘पछिल्लो पुस्ता प्रविधिलाई सदुपयोग हैन, दुरूपयोग गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेग्मी भन्छन्, ‘यसले समाजमा बलात्कार लगायतका अपराध बढ्दै गएका छन्।’

गत फागुनमा फेसबुक र फोनबाट ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्। फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो। तिवारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे। तिवारीलाई कुरिरहेकी युवतीको भेट तिवारीसँग राति १० बजे चौरजहारी बसपार्कमा भयो । फेसबुक र फोनमै सँगै जिउने–मर्ने कसम खाइसकेकाले त्यही राति भागेर उनीहरू सुर्खेत आइपुगे।

१० दिन सुर्खेत र नेपालगञ्जका होटलमा बिताएपछि उनीहरू भारतको गुजरात पुगे। जब उनी गुजारत पुगिन्, कहालीलाग्दा दिनहरू सुरु भए। गुजरात पु¥याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो। ‘होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो,’ ती युवतीले भनिन्, ‘चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे।’ पीडित युवतीका अनुसार दैनिक तीनदेखि ६ जनासम्म आउँथे। बलात्कार गरेर जान्थे। प्रतिकार गर्न खोज्दा धम्की दिन्थे। फागुन १५ देखि चैत २० गतेसम्मका ३५ दिन उनका लागि जीवनकै कहालीलाग्दा भए। सँगै बाँच्ने–मर्ने कसम खाएकै प्रेमीबाट होटलको कोठामा बन्दी बनाएर सामुहिक बलात्कारको सिकार हुनुपर्दाको पीडा उनी शब्दमा व्यक्त गर्न सक्दिनन्। ‘दिनभरी केटाहरू पठाउँथ्यो, बलात्कार गरेर जान्थे, राति आफू आउँथ्यो,’ उनले भनिन्, ‘पैसाका लागि तँलाई बेचिदिन्छु, यहाँबाट बाहिर जाने ठाउँ छैन भन्दै धम्क्याउँथ्यो।’

चैत २१ गते दिउँसो उनी होटल सञ्चालकको सहयोगमा नेपालीको सम्पर्कमा पुगिन्। उनीहरूकै सहयोगमा नेपालसम्म आइपुगेकी पीडित युवतीले चैत २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मानव बेचबिखन र जबर्जस्ती करणीको उजुरी दिइन्।

युवतीलाई पछ्याउँदै आएका तिवारीलाई प्रहरीले वैशाख २ गते पक्राउ ग-यो। सुरुको घटना सुर्खेतको बोटेचौरमा भएकाले कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले लिखित जाहेरी र पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय छिन्चुलाई बुझायो । तिवारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। फोन तथा इन्टरनेटको दुरूपयोग, छोराछोरीप्रति आमा–बुवाको ध्यान नजानु, यौनवद्र्धक औषधिको खुल्ला बिक्री लगायतका कारणले बलात्कार लगायतका अपराध हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रेग्मी बताउँछन्।

प्रकाशित: ३२ असार २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App