coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फ्रान्स विश्व च्याम्पियन

मस्कोे – क्रोएसियाको सनसनीपूर्ण यात्रालाई उपविजेताको गन्तव्यमा सीमित पार्दै पहिलो पटक रूस पुगेको विश्वकप फुटबल प्रतियोगिता आइतबार लुझनिकी रंगशालामा समाप्त भएको छ।

युरोपेली महारथी फ्रान्सले छविअनुसारको सनसनीपूर्ण प्रदर्शनसाथ क्रोएसियाको एडभेन्चर समाप्त पार्दै आइतबार दोस्रो पटक विश्वकपको उपाधि उचालेको छ। १९९८ मा आफैँले आयोजना गर्दा पहिलो पटक विश्वकप जितेको फ्रान्सले २० वर्षपछि आइतबार मस्कोको लुझनिकी रंगशालामा सम्पन्न फाइनलमा युरोपेली प्रतिद्वन्द्वी क्रोएसियाको चुनौती ४–२ को नतिजामा समाप्त पार्दै जर्सीमा दोस्रो तारा थप्यो।

२० वर्षअघि कप्तानको रुपमा फ्रान्सलाई उपाधि जिताएका डिडियर डेशच्याम्पस यसपाली दोस्रो पटक विश्व च्याम्पियन बन्दा टिमको प्रशिक्षक थिए। उनी मारियो जागालो र फ्रान्ज बेकेनबाउरपछि खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन्।

लुझनिकी रंगशालामा उपस्थित झन्डै ८१ हजार दर्शकसामु किशोर किलियन एमबाप्पे, चलाख फरवार्ड एन्टोनी ग्रिजम्यान र जब्बर मिडफिल्डर पाउल पोग्बाको गोलमा फ्रान्सले आगामी चार वर्षका लागि विश्व च्याम्पियनको हैसियत बनाएको छ। यो जितबाट फ्रान्स १२ वर्षअघि जर्मनीमा भोगेको पीडामा मलम लगाउन पनि सफल भयो। जर्मनीमा सम्पन्न विश्वकप २००६ को फाइनलमा जिनेदिन जिदानले रातो कार्ड सामना गरेपछि फ्रान्स टाई–ब्रेकरमा इटालीलाई नतिजा सुम्पिँदै उपविजेतामा सीमित भएको थियो। दुई वर्षअघि आफैंले आयोजना गरेको युरोपियन च्याम्पियनसिपमा पनि फाइनल पुगेको फ्रान्स पोर्चुगलसँग पराजित हुँदै उपविजेतामै खुम्चिएको थियो।

नकआउट चरणमा सबै खेलमा सुरुमा पछि परे पनि पुनरागमन जनाउँदै फाइनलसम्मको यात्रा गरेको क्रोएसियाको कथा फाइनलमा भने फरक रह्यो। अन्तिम १६ मा डेनमार्क, क्वार्टरफाइनलमा आयोजक रूस तथा सेमिफाइनलमा इङ्ल्यान्डसँग सुरुमा गोल खाए पनि रियाल मड्रिडका प्लेमेकर लुका मोडरिचप्रेरित क्रोएसिया उत्कृष्ट पुनरागमनका साथ विजयी भएको थियो। नकआउट चरणका तीनै खेलमा अतिरिक्त समयसम्म संघर्ष गरेको टोलीले डेनमार्क र रूसलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

पछिल्ला खेलको नतिजा फेरि एकपटक दोहो¥याउन नसक्दा पहिलो पटकको फाइनल यात्रालाई उपाधिको क्लाइमेक्स दिने सुनौलो अवसरमा क्रोएसियाली फुटबल इतिहासको स्वर्णिम पुस्ता सफल भएन। १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको एक वर्षपछि क्रोएसियाले विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट आधिकारिक सदस्यता पाएको थियो। १९९८ को संस्करणका लागि पहिलो पटक छनोट प्रतियोगिता खेलेको क्रोएसियाको फुटबल इतिहासमा यसअघि त्यही वर्ष सबभन्दा उपलब्धिमूलक थियो। पहिलो पटक विश्वकपमा सहभागिता जनाउने क्रममै सेमिफाइनलसम्मको यात्रा गरेको टोली फ्रान्स १९९८ मा तेस्रो भएको थियो। त्यसयता २००२, २००६ र २०१४ मा समूह चरणबाटै घर फर्किएको टोली २०१० मा भने छनोट हुन सकेको थिएन।

आइतबार क्रोएसियाले जित हासिल गरेको भए विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताले नवौं विजेताको नाम पाउने थियो। १०३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा २१औं संस्करण पूरा हुँदा अहिलेसम्म आठ देशले मात्र उपाधि जितेका छन्। ब्राजिलले सबभन्दा बढी पाँच पटक उपाधि उचाल्दा इटाली र जर्मनीले समान चार तथा अर्जेन्टिना र उरुग्वेले दुई/दुई पटक विश्वकप जितेका छन्। यसै गरी इङ्ल्यान्ड, स्पेन र फ्रान्सले यसअघि एक÷एक पटक विश्वकपमा उपाधि जितेका थिए।

पहिलो सहभागितामा तेस्रो स्थान हासिल गरेको २० वर्षपछि टोली विश्वकपको फाइनल पुग्ने १३औं टिम बनेको थियो। उपाधि जित्न नसके पनि यहाँसम्मको यात्राबाट गौरव गर्नुपर्ने क्रोएसियाली फुटबल संघका अध्यक्ष डाबर सुकरले बताएका छन्। १९९८ को विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट तथा सर्वोत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा दोस्रो हुँदै सिल्भर बलको उपाधि जितेका सुकरले भने, ‘हाम्रो टिमले अत्यन्तै राम्रो फुटबल खेलेर यहाँसम्म आइपुगेको छ। विजेता एउटा टिम मात्र बन्न सक्छ। आजको खेलमा जित हासिल गर्न सकेको भए हामी अझै बढी खुसी हुन्थ्यौं। तर हारका बावजुद टिमले उत्कृष्ट फुटबल खेलेर सम्पूर्ण ४० लाख क्रोएसियालीलाई गौरवान्वित पारेको छ।’

प्रकाशित: ३२ असार २०७५ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App