coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्सीको भाडा अबदेखि मिटरमा मात्र

ललितपुर–महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किलोमिटरसम्म चल्ने ट्याक्सीले अनिवार्य रुपमा मिटर चलाएर मात्र यात्रु बोक्न पाउने व्यवस्था लागू गरेको छ । अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किलोमिटर बाहिर मिटर अनुसारको भाडामात्र यात्रुसँग लिन पाउनेछन् ।

प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले चालकले मिटरमा उठेको भाडामात्र यात्रुसँग लिन पाउने बताए । उनले मनपरी चर्को भाडा असुलेको गुनासो यात्रुबाट आएपछि महाशाखाले शनिबार नियम लागू गरेको जानकारी दिए । उनले भने, ‘अब यात्रुलाई ट्याक्सीचालकले ठग्न पाउने छैनन्, रिङरोड क्षेत्रमा गुड्ने सबै ट्याक्सीको ट्राफिक प्रहरीले अनुगमन र निगरानी गर्नेछ ।’

साथै, प्रहरीले कडाइपूर्वक नियम लागू गर्न उपत्यकाका १ सय २ ठाउँमा ट्राफिक प्रहरी तैनाथ गरेको जनाएको छ । यात्रु बसेको कुनै ट्याक्सीमा चालकले मिटर सुचारु नगरेको फेला पारे ५ हजार रुपैयाँसम्म जरिवाना गरिने ललितपुरका ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेंथुले बताए । उनले नियम उल्लंघन गरेको फेला पारे ५ हजार जरिवाना गरी आवश्यक कारबाहीका लागि नापतौल तथा गुणस्तर विभागमा बुझाउने जानकारी दिए ।

‘कतिपय ट्याक्सीचालकले बठ्याईं गरी मिटर बिगारेर यात्रुसँग चर्को भाडा असुलेको भेटे २५ हजार रुपैयाँ जरिवाना गरी आवश्यक कारबाहीका लागि नापतौल तथा गुणस्तर विभागमा पठाइनेछ । यात्रुले पनि निर्धारितभन्दा बढी भाडा तिर्नु हुँदैन,’ उनले भने ।

नियम लागू गर्नुअघि प्रहरीले एक सातामा मिटर नचलाई यात्रु चढाएका ट्याक्सीचालक पक्राउ गरेको थियो । मिटर नचलाई जथाभावी भाडा असुल्ने त्यस्ता ट्याक्सीचालकको बढ्दो प्रवृत्तिका कारण उपत्यकाकाभित्र गुड्ने ट्याक्सीले अनिवार्य रुपमा मिटरमा उठ्ने भाडामात्र यात्रुसँग लिन पाउने नियम लागू गरेको महाशाखा प्रमुख अर्यालले बताए ।

तर यसरी मिटर अनुसारको भाडामात्र यात्रुसँग लिँदा ट्याक्सीचालक मर्कामा पर्ने बताउँछन् बा १ ज २५ नम्बरका टयाक्सीचालक अशोक भट्टराई । उनले भने, ‘मिटरमा उठ्ने रकमको दोब्बर भाडा यात्रुसँग लिए पनि ट्याक्सीधनीलाई तिर्न पुग्दैन ।’ ट्राफिक प्रहरीका अनुसार मिटर अनुसार भाडा लिँदा ट्याक्सीचालकलाई मर्का पर्दैन ।

विहीबार सुन्धाराका भेटिएका अमन केसीले मिटर सुचारु गरेर हिड्न ट्याक्सी चालक आनाकानी गरेको बताए । उनी भन्छन्, ‘रातिको समयमा मिटर सुचारु नगरेपनि ट्राफिक प्रहरीको अनगमन छैन, जसले गर्दा अझै पनि ट्याक्सी चालकहरु मोलमोलाई गर्छन ।’ तर यात्रुहरुले जुनसुकै समयमा पनि ट्याक्सी प्रयोग गर्दा कुनै ट्याक्सीचालक मिटर अनुसार भाडा नलिए तथा कतै जान आनाकानी गरे १०३ र ११०३ मा फोन गर्न समेत ट्राफिक प्रहरीले सर्वसाधारणसँग अनरोध गरेको छ ।

प्रकाशित: २४ भाद्र २०७३ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App