८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीको अवस्था गम्भीर, भेन्टिलेटर तयारी अवस्थामा

जुम्लामा १६ दिनदेखि अनशनरत डा. गाेविन्द केसी। तस्बिर : नागरिक

जुम्ला - सोह्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ। डा. केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘उहाँ (डा. केसी) लाई विभिन्न समस्याले अट्याक गरिरहेको छ,’ उपचारमा संलग्न डा. पूजन रोकायाले भन, ‘उहाँलाई कुनै बेला पनि गाह्रो हुने देखिएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ।’ डा. रोकायाका अनुसार केसीको घाँटीमा संक्रमणको खतरा बढेर गएको छ। केसीलाई घाँटीमा निकै पीडा भइरहेको छ। ‘घाँटीमा दुखाइ निकै बढेको छ,’ डा. रोकायाले भने, ‘घाँटीमा संक्रमण भएको हुन सक्छ। यस्तो बेलामा एन्टिबायोटिक चढाउनुपर्ने भए पनि उहाँले औषधि लिन मान्नु हुन्न।’ घाँटी दुखाइका कारण केसीलाई बोल्न पनि धेरै अहसज भइरहेको उनले बताए।

  • मुटुको चालमा उतारचढाव, घाँटीमा संक्रमण
  • स्वास्प्रस्वासमा बाधा, तौल नौ किलो घट्यो
  • नियमित रगत जाँच र औषधि लिन अस्वीकार
  • सरकारप्रति चुलियो आक्रोश, तोडियो निषेधित क्षेत्र
  • मागप्रति ऐक्यबद्धता जनाउँदै संघर्ष समिति गठन

यसैगरी डा. केसीको मुटुुको चालमा केही दिनदेखि उतारचढाव देखिएको छ। ‘कोल्टे फेर्दा मुटुको धड्कन ह्वात्तै बढ्छ,’ डा. रोकायाले भने, ‘मुटुको धड्कनमा देखिएको यो समस्या निकै डरलाग्दो संकेत हो।’ त्यस्तै शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कमी भएकाले डा. केसीको स्वास्थ्य थप जटिल बन्दै गएको जानकारी रोकायाले दिए। श्वासप्रश्वासमा बाधा, शरीर बाउँडिने, पिसाबमा किटोनको मात्रा बढ्ने, चक्कर लाग्ने समस्या याथवत् छन्। केसीको तौलसमेत ह्वात्तै घटेको छ। अनशन बसेयता ९ किलो तौल घटेको छ। जुम्ला आउँदा केसीको तौल ६५ किलो रहेकोमा अहिले घटेर ५६ किलोमा झरेको जानकारी पनि डा. रोकायाले दिए। ‘शरीरको बोसो र मासु पग्लिरहेकाले उहाँको तौल घट्दै गइरहेको छ,’ उनले भने। केसीको नियमित रगत जाँच हुँदै आएकोमा उनले नमानेकाले त्यो पनि शनिबारदेखि रोकिएको छ। सरकार आफ्ना मागमा गम्भीर नबनेको भन्दै केसीले नियमित रगत जाँचका लागि रगत निकाल्नसमेत नदिएको डा. रोकायाले बताए।

सरकारप्रति चुलियो आक्रोश, तोडियो निषेधित क्षेत्र
डा. केसीका मागप्रति सरकार गम्भीर नबनेको भन्दै स्थानीयमा आक्रोश चुलिएको छ। अनशनको १६ औं दिनसम्म पनि सरकारले केसीको जीवनरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै आक्रोशित जुम्लाबासीले आइतबार खलंगास्थित निषेधित क्षेत्र प्रवेश गरेर प्रदर्शन गरेका छन्।

नागरिक समाज, विद्यार्थी र महिलाले निषेधित क्षेत्र तोडेर डा. केसीको जीवनरक्षाको माग गरेका थिए। आन्दोलनकारी प्रहरी घेरा तोडेरै निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि धकेलाधकेल भएको थियो। प्रशासनले निषेधित क्षेत्र तोकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट महिलाले जुलुस निकालेका थिए। यसैगरी जिल्ला प्रशासन कार्यालय आसपासको निषेधित क्षेत्रमा पसेर विद्यार्थीले प्रदर्शन गरे। डा. केसी बचाउ अभियानले सरकारविरुद्ध निकालेको जुलुसले बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय आसपासको निषेधित क्षेत्रको घेरा तोडर नाराबाजी ग-यो।

महिला अधिकारीकर्मी गंगा महतले डा. केसीका पक्षमा जारी आन्दोलन थप चर्काउने चेतावनी दिइन्। ‘डा. केसी कर्णालीको आवाज लिएर जुम्लामै सत्याग्रहमा हुनुहुन्छ, कर्णालीलाई चिनाउन जीवनमरणको दोसाँधमा हुनुहुन्छ,’ उनले भनिन्, ‘तत्काल वार्ता टोली निर्माण गरेर जनताका पक्षमा उठाइएका माग सम्बोधन गर्न सरकार गम्भीर बनोस्, जुम्लाका नागरिकलाई उपेक्षाले हेर्ने सरकारी सोचमा परिवर्तन आओस्।’

नागरिक समाज जुम्लाले पनि डा. केसीको अनशन सुरु भएदेखि निरन्तर पक्षमा विभिन्न कार्यक्रम गर्र्दै आएको छ। डा. केसीका पक्षमा हस्ताक्षर संकलन, कालोपट्टी बाँध्नेदेखि उनको स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलनका कार्यक्रम समाजले गरिरहेको छ। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले डा. केसीका मागप्रति सरकार जति उदासीन बन्छ त्यति नै सडक तात्दै जाने चेतावनी दिए। उनले वार्ताका माध्यमबाट डा. केसीका माग सम्बोधनको बाटो खोज्नुपर्ने बताए।

कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै नेवि संघ पनि सडकमा उत्रिएको छ। संघले आइतबार दबाब -यालीसहित सरकारविरुद्ध कोणसभा गरेको छ। सदरमुकाम खलंगाको बालमन्दिरमा आयोजित कोणसभामा संघका महामन्त्री कुन्दनराज काफ्लेले सरकार डा. केसीको आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको आरोप लगाए। उनले भने, ‘नयाँँ राजा बन्न खोज्नेलाई लखेट्नेछौं।’
संघर्ष समिति गठन
जुम्लास्थित विभिन्न संघसंस्थाले डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलन उत्कर्षमा पु¥याउन संघर्ष समिति गठन गरेका छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिमा गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, होटेल एसोसिएसन, नागरिक समाज र उद्योग वाणिज्य, मानवअधिकार संगठन जुम्ला आबद्ध छन्। प्रत्येक संस्थाका अध्यक्ष समितिका सदस्य छन्।

प्रकाशित: ३२ असार २०७५ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App