५ वैशाख २०८१ बुधबार
समाज

महिषासुरको प्रतीक राँगो देवघरमा पस्यो

भक्तपुर-भक्तपुरको नवदुर्गा द्योछें (देवता घर)मा महिषासुरको प्रतीक मानिने खम्ये (ठूलो राँगो) भिœयाइएको छ । भक्तपुर नगरपालिका–नं ३ गछेंस्थित द्योछेंमा विजया दशमीका लागि महिषासुरको प्रतीक खम्ये भित्र्याइएको हो ।

महिषासुरको प्रतीक खम्ये नौरथाको नवमी कालरात्रीमा वध गरिन्छ । नवमीमा द्योछेंबाट नगरमा दौडाएर नगरको पूर्वस्थित भक्तपुर नगरपालिका–१ ब्रम्हायणीमा लगेर राति राँगो वध गरिन्छ । यसलाई नेपालभाषामा खम्ये जात्रा भनिन्छ ।

दौडाउनु अघि रक्सी खुवाएर मातिएको राँगोलाई दौडाएर ब्रम्हायणी पुर्याइन्छ । जात्रामा हजारौं नगरवासीको सहभागिता रहन्छ । नवदुर्गा मन्दिरका नाइके बुद्धिबहादुर बनमालाले भित्रिएको महिषासुररुपी राँगो नवमीसम्म द्योछेंमै पालेर राखिने जनाए । ‘हामी आफैं गाउँगाउँबाट घास ल्याएर भए पनि द्योछेंमा खम्ये पाल्छौं,’ बनमालाले नागरिकसँग भने, ‘प्रत्येक वर्ष द्योछेंमा भित्र्याएपछि नवमीसम्म हामीले नै पाल्ने परम्परा चलिआएको छ ।’

नवमीको राति ब्रम्हायणीमा राँगाको वध गरेपछि भोलिपल्ट विजया दशमीमा त्यहाँ ठूलो मेला लाग्छ । मेला भर्न दसौं हजार श्रद्धालु ब्रम्हायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रम्हायणीमा भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत छिमेकी जिल्लावासी त्यहाँ पुग्छन् । राँगाको मासु जात्रामा विभिन्न जिम्मेवारी वहन गर्ने कसाइदेखि नवदुर्गाको मखुन्डो बनाउने चित्रकारसम्म सबैलाई बाँडिन्छ ।

यसपल्ट भक्तपुर नगरपालिका–२ लिवाली निवासी महेश्वरी ट्र्याक्टर वर्कसपका मालिक राकेश दुवालले नवदुर्गा मन्दिरमा राँगो चढाएका हुन् । तीन वर्ष पालो कुरेर आफूले ७८ हजार ५ सयमा किनेको राँगो चढाएको उनले जनाए । पनौतीको सुब्बागाउँबाट राँगो किनेर चढाइएको उनले बताए । भगवानलाई चढाएपछि पुण्य पाइने भएकाले भाकल गरी आफूले राँगो चढाएको उनले बताए ।

वर्षेनी यसैगरी श्रद्धालु भक्तजनले खम्ये जात्राका लागि राँगो दिने गरेका छन् । प्रत्येक वर्ष राँगो किनेर नवदुर्गा मन्दिरमा चढाउन प्रतिस्पर्धाजस्तै हुन्छ । चढाउन चाहनेले क्रमबद्ध रुपमा राँगो चढाउन सक्ने व्यवस्था नवदुर्गा मन्दिरमा मिलाइएको छ ।

यसरी महिषासुरको प्रतीकका रुपमा खम्ये जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ । यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ ।

प्रकाशित: २४ भाद्र २०७३ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App