coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकपका टप र फ्लप

मस्को – किलियन एमबाप्पे र लुका मोडरिच आआफ्नो जीवनको भिन्न मोडमा छन् । फ्रान्सका १९ वर्षे एमबाप्पे करियरको सुरुआतमा छन् भने ३२ वर्षे मोडरिच करियरको अन्त्यतिर छन् । यी दुवै आइतबार विश्वकपको फाइनलमा फ्रान्स र क्रोएसिया आमनेसामने हुँदा आफ्नो टोलीको महत्वपूर्ण सदस्य रहे।

चार वर्षअघिको विश्वविजेता समूहचरणबाटै घर फर्किसकेको छ भने लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको विश्वकप उचाल्ने सम्भावना लगभग समाप्त भएको छ । विश्व फुटबलको एक महिना लामो कुम्भमेलामा एएफपीले देखेका टप र फ्लपुहरू :
टप
किलियन एमबाप्पे (फ्रान्स)
मोनाकोबाट १८ करोड युरोमा पेरिस सेन्ट जर्मन (पिएसजी) जाँदासम्म पनि एमबाप्पेलाई चिन्ने कमै थिए । तर, विश्वकपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराउँदा २ गोल गर्नुका साथै पेनाल्टी अवसर दिलाएपछि एमबाप्पे विश्व खेलप्रमीमाझ एकाएक चर्चामा रहे।

अन्तिम १६ मा २ गोल गरेपछि एमबाप्पे पेले (१९५८) पछि विश्वकपको नकआउट चरणमा दुई गोल गर्ने पहिलो युवा खेलाडी बने।

लुका मोडरिच (क्रोएसिया)
स्पेनिस क्लब रियालबाट पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि उचालेका लुका मोडरिचले रूसमा सम्पन्न विश्वकपबाट आफ्नो करियरको उचाइ थप माथि पुराए । प्रतियोगितामा तीन पटक म्यान अफ दी म्याच बनेका मोडरिच विश्वकै उत्कृष्ट मिडफिल्डरमा स्थापित भए।

प्रतियोगिताअघि सामान्य टोलीका रूपमा रहेको क्रोएसियाले समूहचरणमा अर्जेन्टिनालाई ३–० ले पराजित गर्दै विश्वको ध्यान आफूमा केन्द्रित गरेको थियो । डेनमार्कविरुद्ध थपिएको समयमा पाएको पेनाल्टी अवसर खेर फालेका मोडरिचले टाइबे्रकरमा गोल गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याउन सफल भए।

इडेन हाजार्ड (बेल्जियम)

सेमिफाइनलमा फ्रान्ससँग १–० को झीनो अन्तरमा पराजित भएपछि गोल्डेन जेनेरेसनु मानिएको बेल्जियमको विश्वकपको फाइनल खेल्ने सपना पूरा हुन सकेन । तर, चार वर्षअघिको विश्वकप र दुई वर्षअघिको युरोपियन च्याम्पियनसिपभन्दा फरक रूपमा हाजार्डले आफ्नो प्रतिभा विश्वमञ्चमा देखाए।

अन्तिम १६ मा जापानविरुद्ध दुई शून्यले पछि परेको स्थितिमा चेल्सीका फरवार्ड हाजार्डले २ गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए । क्वार्टरफाइनलमा ब्राजिललाई हराउँदा पनि हाजार्डले महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्लप्स
जर्मनी
साबिक विजेता जर्मनी २०१० मा इटाली र गत वर्ष स्पेनजस्तै विश्वकपको समूहचरणबाटै बाहिरियो । पहिलो खेलमा मेक्सिको र समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएपछि जर्मनी ८० वर्षपछि पहिलो पटक पहिलो चरणबाटै प्रतियोगिताबाट बाहिरिएको हो।

अफ्रिकी टोली
१९८२ पछि पहिलो पटक कुनै पनि अफ्रिकी टोलीले विश्वकपको दोस्रो चरणमा स्थान बनाउन असफल भए । नाइजेरिया, सेनेगल, ट्युनिसिया, इजिप्ट र मोरक्को गरी अफ्रिकाका पाँच टोलीले प्रतियोगितामा तीन खेल मात्र जित्न सके।

समूह एचुमा एसियाली राष्ट्र जापानसँग समान ४ अंक भए पनि फेयर प्लेु का आधारमा पछि परेपछि सेनेगल प्रतियोगताबाट बाहिरिएको थियो । इजिप्टका स्टार खेलाडी मोहम्मद सालाह पनि चोटका कारण छायाँमा परे।

मेसी र रोनाल्डोको दबदबा सकिएको हो ?
बार्सिलोनाका स्टार लियोनल मेसी ३१ र भर्खरै इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका क्रिस्टियानो रोनाल्डो ३३ वर्षका भइसकेका छन् । दुवै जनालाई विश्वकपको उपाधि जित्न यो अन्तिम अवसर थियो । तर, मेसीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगल दुवै अन्तिम १६ बाट घर फर्किए।

रोनाल्डोले पहिलो खेलमा स्पेनसँग बराबरी खेल्दा ह्याट्रिक गरेर वाहवाही पाएका थिए । तर, त्यसपछि उनले एक गोल मात्र थप्न सके । इरानविरुद्ध भाग्यमानी बनेका रोनाल्डो रातो कार्ड खानबाट जोगिएका थिए।

नाइजेरियाविरुद्ध एक गोल गरेका मेसीले अर्जेन्टिनालाई समूहचरणमा बाहिरिनबाट जोगाए पनि अन्तिम १६ मा फ्रान्सलाई पन्छाउन सकेनन् । १९ वर्षे एमबाप्पेको गतिले मेसीलाई छायामा पारिदियो।

बालोन डीअाेर अवार्डमा पछिल्लो १० वर्ष मेसी र रोनान्डो (५/५) मिलेर एक छत्र राज गरेका थिए । सम्भवतः अब यी दुईको दबदबा तोडिनेछ ।

 

प्रकाशित: ३१ असार २०७५ १९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App