८ वैशाख २०८१ शनिबार
खेल

विश्वकप २०१८ : केही अविस्मरणीय प्रसंग

विश्वकप २०१८ मा विपक्षीलाई दबाब दिन अनावश्यक नाटक गरेको आरोप खेपेका ब्राजिलका नेइमार (बायाँ) र अर्जेन्टिनाले गोल गर्दा अति उत्साही म्याराडोना । तस्बिरः एपि

मस्को – फुटबल महाकुम्भ मेलाले चिनिने विश्वकप फुटबलको २१औं संस्करण रूसमा आइतबार सम्पन्न भयो । सन् १९९१ मा देशको अस्तित्व पाएको छोटो इतिहासमा क्रोएसियाले पहिलो पटक उपाधि जित्दै आइतबार उपाधि जित्ने नयाँ टोलीको नाम विजयी सूचीमा चढाएको छ । रूसमा सम्पन्न विश्वकपका रोचक प्रसंगहरू :

१. भिएआर प्रविधिको सफल प्रयोग
पहिलो पटक प्रयोगमा ल्याइएको प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) रूस विश्वकपमा सफल भएको फिफाले जनायो । विवादास्पद निर्णयमा रेफ्रीले प्रयोग गर्न पाउने यो प्रविधिले रूस विश्वकपमा केही निर्णयलाई सदर गरेको छ भने केही निर्णयलाई उल्टायो । यसको प्रयोगले पेनाल्टी संख्यामा भने वृद्धि भयो।

२. नयाँ खेलाडीको उदय
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेसीको युग रूस विश्वकपसँगै अन्त्य भएको छ । फ्रान्सका किलियन एमबाप्पेजस्ता नयाँ खेलाडीको उदय भएको छ । एम्बाप्पेले बालन डी’अर उपाधि जित्नुभन्दा पनि विश्वकप उपाधि महत्वपूर्ण रहेको बताएका थिए।

३. मानसिकता परिवर्तन
इङ्ल्यान्डले पेनाल्टी सुटआउटमा सधैं भोग्दै आएको निराशाको यात्रा यही विश्वकपबाट अन्त्य गरेको छ । अन्तिम १६ मा कोलम्बियालाई टाइब्रेकरमा हराएपछि इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले ‘पेनाल्टी फगत भाग्यको खेल मात्र नभई प्रतिभालाई आत्मविश्वासका साथ प्रमाणित गर्ने अवसर’ भन्दै पेनाल्टीमाथिको इङ्लिस मानसिकता परिवर्तन गरेका थिए।

४. इङ्लिस समर्थकको भरोसाका केन्द्र
मिडिल्सब्रोमा असफल भएका साउथगेट संयोगले मात्र इङ्ल्यान्डको प्रशिक्षक भएका थिए । तर विश्वकपमा इङ्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा गराएर उनी राष्ट्रिय एकताको माध्यमसमेत बने । रूसमा इङल्यान्डले सफलताको यात्रा गरिरहँदा बेलायती पत्रिकाहरूमा ‘गारेथ साउथगेट हामीले चाहेकै जस्ता प्रशिक्षक हुन् । जसले अहिले आफ्नो काम गरिरहेका छन् । उनी अब एउटा आदर्श व्यक्तिमा रूपान्तरित भइसकेका छन्,’ उनको विषयमा एउटा पत्रिकाले लेखेको थियो।

५. अथक लुका मोडरिच
‘इङ्लिस पत्रकार र फुटबल पण्डितहरू हाम्रो बारेमा कुरा गरिरहेका थिए । लेखिरहेका थिए । हामीले उनीहरूका प्रत्येक शब्द पढेका र सुनेका थियौं । त्यो सुन्दा हामीलाई हेरौं को थाकेको रहेछ भन्ने लाग्थ्यो । सेमिफाइनलमा देखाइदिन्छौं भन्ने सोचेका थियौं,’ ६ खेलमा अन्य सबै खेलाडीभन्दा बढी ६३ किलोमिटर दूरी पार गरेका लुका मोडरिचले सेमिफाइनलमा इङ्ल्यान्डलाई हराएपछि भनेका थिए, ‘उनीहरूले हामीलाई अलिकति सम्मान दिनुपथ्र्यो । उनीहरू अलिकति नम्र हुनुपथ्र्यो ।’

६. सिमुलेसन प्रेम
रूसमा सम्पन्न विश्वकपमा अनावश्यक डाइभ हान्ने, लड्नेजस्ता कुरामा ब्राजिली स्टार नेइमार सबभन्दा बढी आलोचित भए । सिमुलेसनका त्यस्ता घटनामा भएको आलोचनाले आफूलाई कुनै असर नपर्ने नेइमारले बताए । ‘मलाई अवमूल्यन गर्नका लागि त्यस्ता कुरा गरिएका हुन्,’ रूसबाट फर्किनुअघि नेइमारले भनेका थिए । तर लड्ने कलामार्फत दर्शकलाई मनोरञ्जन दिनेमा नेइमारसँगै उरुग्वेका लुइस स्वारेज र पोर्चुगलका पेपेले पनि नाम लेखाए । स्वारेजले इजिप्टविरुद्ध दुई बल्ड्याङ खाने गरी डाइभ हाने भने मोरक्कोविरुद्धको खेलमा पेपेले पनि त्यस्तै गरे।

७. सधैं एक पटकमा एक काम मात्र
रियाल मड्रिडले जुलेन लोप्तेगीलाई आफूले अनुबन्ध गरेको खवर सार्वजनिक गरेपछि विश्वकपको पूर्वसन्ध्यामा स्पेनले उनलाई बर्खास्त ग¥यो । आफूलाई कुनै जानकारी नगराईकन रियालसँग सम्झौता गरेको भन्दै स्पेनिस फुटबल संघले लोप्तेगीलाई तत्काल बर्खास्त ग¥यो । जसका कारण रियाललाई भने फाइदा पुग्यो । लोप्तेगी बर्खास्त भएपछि टोलीले उनलाई अनुबन्ध गर्दा २० लाख युरो खरिद रकम तिर्नुपरेन।

८. रूसको छवि परिवर्तन
विश्वकपअघिसम्म रूस र त्यहाँका जनताको विषयमा अन्तर्राष्ट्रिय जगतमा राम्रो बुझाइ थिएन । तर राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए, ‘रूसको विषयमा नकारात्मक टिप्पणीको कुनै अर्थ छैन । यो एउटा अत्यन्तै मित्रवत् देश हो ।’ विश्वकपको सफल आयोजना तथा उच्च स्तरको अतिथि सत्कारबाट प्रभावित भएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भनेका थिए, ‘यो विश्वकपले रूसको छवि परिवर्तन गर्दै छ, खास गरी अमेरिकामा । यहाँ मैले पुलिसहरू पनि हासेको देखेँ । मलाई आफू खेलौना पसलमा पुगेको बालकजस्तै अनुभव भइरहेको छ।’

९. नियमविपरीत व्यवहारका लागि कारबाही
फिफाले यसपालि पनि सधैंझैं विश्वकपमा रंगभेदी व्यवहारमा शून्य सहनशीलताको नीति लिएको थियो । त्यसका बावजुद नव–नाजीवाद लेखिएको ब्यानर प्रदर्शन गरेबापत रूसमाथि ८५ हजार युरो जरिवाना गरिएको थियो । यसै गरी समलिंगीविरुद्ध होहल्ला गरेबापत मेक्सिकोमाथि ८ हजार ५ सय, अनाधिकारिक मोजाको ब्रान्डिङ गरेबापत स्विडेनमाथि ६० हजार तथा आधिकारिकता नभएको पेय पदार्थ क्यामरामा देखिने गरी प्रयोग गरेबापत ६० हजार युरो जरिवाना भयो।

१०. सदभावना दूत
सदभावना दूत भएबापत प्रतिखेल १० फिफाबाट १० हजार युरो पाउने डिएगो म्याराडोना विश्वकपमा निक्कै व्यस्त रहे । तर ह्वाइट वाइन र समर्थकलाई दुव्र्यवहार गर्नेमा भने उनी भावुक देखिए । खास गरी दक्षिण कोरियाली समर्थकलाई आँखा तरेको तथा रेफ्रीलाई चोर भनेको कुरामा उनी विवादित भए । तर अन्तमा उनले ‘म सबैलाई चुम्मा दिन चाहन्छु । समर्थनका लागि धन्यवाद’ भनेर सान्त्वना हासिल गरे ।

११. फुटबल नतिजा र जनावर
उनीहरूका लागि अन्त्य अत्यन्तै दुःखद भयो । समूहचरणमा जापानका सबै खेलको सही भविष्यवाणी गरे पनि राबियो अक्टोपसलाई बिक्री गरियो । खरिदकर्ताले त्यसलाई मारेर खाए । यसै गरी १० मध्ये सात खेलको सही अनुमान गरेको बेइजिङको विरालो पनि मृत अवस्थामा भेटियो । त्यस्तै इङ्ल्यान्डको क्वार्टरफाइनलको गलत अनुमान गरेपछि मार्कुस सुंगुर पनि बेलायतमा सामाजिक सञ्जालमा एकाएक अलोकप्रिय भयो ।

१२. जापान सबभन्दा भलाद्मी
अन्तिम १६ अन्तर्गतको खेलमा ९४औं मिनेटमा गोल खाँदै ३–२ को हार भोगेपछि जापानी खेलाडीका आँखा रसाए । तर त्यसपछि चेन्जिङ रुममा नुहाएर फर्किने क्रममा उनीहरूले मैदानका कर्मचारीलाई रूसी भाषामा धन्यवाद लेखेको नोट दिए । स्ट्यान्डमा रहेका समर्थकले पनि त्यस्तै भलादमी व्यवहार देखाए।

१३. जित मात्र सबथोक होइन
निझनी नोभगोरोड रंगशालामा उनीहरूको टिम पहिलो विश्वकप खेलका लागि रहँदा राष्ट्रिय गान बज्दा पानामाका स्टुडियो पण्डितहरू खुसीमा रुँदै एक–अर्कालाई अँगालोमा बेरिरहेका थिए । इङल्यान्डसँग ६–१ ले पराजित भएको खेलमा फिलिप बालोएले गोल गरेपछि पानामाका कमेन्टेटरको अवरुद्ध गलाबाट ठूलो स्वरमा निस्किएको थियो, ‘मेरो देशले गोल गरेको छ । गोल । मेरो देशको पहिलो गोल।

प्रकाशित: ३१ असार २०७५ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App