८ वैशाख २०८१ शनिबार
समाज

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

नुवाकोट– बर्खे विदा सकिएर पढ्न जादा नयाँ विद्यालयको भवनमा पढ्न पाइने भइयो भनेर तादी गाउँपालिका वडा नम्बर २ टुटुङकी सुजिता थिङ खुसी भएकी छिन्। तीन वर्षअघि गएको  विनाशकारी भूकम्पले मैदानमा रहेको रालुका माध्यामिक विद्यालयको भवनहरु भत्काए पछि अस्थाई सिकाई केन्द्रमा पढाई हुदै आएको थियो। 

जाडोमा जस्ताबाट तप्पतप्प चुहिने सित र गर्मीमा त्यहि जस्ताको रापले राम्ररी पढ्न नदिएको तितो ययार्थलाई चिर्न बनेका १६ कोठे पक्कि भवनले सुजिता लगायतका विद्यार्थीहरु दङ्ग परेका छन्। “पढ्न बनेर स्कुल आयो, कहिले गर्मी कहिलकोे जाडो। स्कुलमा बसेर पढ्न त मनै लाग्दैन थियो। कत्ति साथीहरु त पूरै कक्षा नपढी भागेर घर जान्थे,” विद्यालयको भवन बनिसकेको खवरले खुसी हुदै उनी थिङ भन्छिन्, “बर्खे विदा सकिएर स्कुल जादा त नयाँ कक्षामा पढ्न पाइन्छ। पानी पर्दा बाछिटाको नि समस्या हुदैन। जस्ता कराएर पढाएको आवाज नसुन्ने समस्या नि हराउछ।” 

भूकम्प जानु अघि विद्यालयको १७ वटा भवनहरु थिए। भूकम्पले १३ वटा भवनलाई क्षतविक्षत बनायो। कक्षा सञ्चालन शिक्षा कार्यालय र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको सहयोगमा निर्मित अस्थाई सिकाई केन्द्र निर्माण गरिएको थियो। विद्यार्थीहरु मात्र होइन शिक्षकहरु पनि पिरोलिन्थे अस्थाई भवनमा बसेर पठनपाठनको कार्यलाई अघि बढाउँदा। 

जापान सरकारको सहयोगमा निर्माण गरिएको विद्यालयको भवन शनिवार विद्यालयलाई हस्तान्तरण गरिएपछि शिक्षकहरुमा पनि उत्साह थपिएको विद्यालयका प्रधानाध्यापक तिलक पण्डितले बताए। “बर्खे  विदा श्रावण २५ गतेदेखि सकिन्छ। विद्यालय सुचारु हुने वित्तिकै अस्थायी टहरामा अध्ययन गर्दै आएका विद्यार्थीलाई सुरक्षित भवनमा सार्नेछौँ,” प्रधानाध्यापक पण्डितले भने, “विनाशकारी भूकम्पले विद्यालयलाई खुल्ला आकाश बनायो। हामीले नयाँ र भूकम्प प्रतिरोधि भवन पाएका छौँ। हिजोका दिनहरु जस्तैै गरी गुणस्तरीय शिक्षा र विद्यार्थीको रचनात्मक विकासमा हाम्रो पूर्ण ध्यान जानेछ।”

विद्यालयमा अध्ययनरत ३ सय ५० जना विद्यार्थीको भविष्य खोज्न भवन निर्माण गर्दा तीन करोड ८९ लाख १७ हजार रुपैयाँ लगानी भएको छ। यो लगानीमा निर्माण गरिएको भूकम्प प्रतिरोधी पक्की भवन विद्यालयलाई हस्तान्तरण गरिएको भएपनि आवश्यक फर्निचर विद्यालयमा आइपुग्न बाँकी रहेको छ। फर्निचर निर्माणको लागि जिम्मा दिइसकेको र समयमा नै विद्यालयमा उपलव्ध गराउन नसकेमा पुराना फर्निचर प्रयोग गरेर कक्षा सञ्चालन गर्ने सोच बनाएको प्रधानाध्यापक पण्डितले बताए। माध्यामिक तहसम्म अध्यापन गराउँदै आएको विद्यालयमा कक्षाकोठा, खानेपानी, शौचालयको राम्रो व्यवस्था भएकोले अवको दिनमा विद्यालयले कम्युटर कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशाला समेत सञ्चालनमा ल्याउने योजना बनाएको छ।

जापान सरकारको ऋण सहयोगमा ‘आपतकालीन विद्यालय पुर्ननिर्माण’ कार्यक्रम मार्फत केन्द्रीय ठेक्का प्रणालीबाट जिल्लाको ५७ वटा विद्यालयहरु सम्झौता गरिएको थियो। सम्झौता गरिएको विद्यालयहरुमध्ये श्यामसुन्दर र गुलिभर जेभी मार्फत निर्माण भइरहेका नर्जामण्डपको विज्ञान मावि, रालुकादेवीको प्रभुडाँडा आधारभूत विद्यालय, सातविसेको सुन्दरा मावि, समुन्द्रादेवीको जनसहयोग प्रावि र महाकालीको जालपादेवी आधारभूत विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ। 

प्रकाशित: ३१ असार २०७५ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App