coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

खोटाङ– पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो। पहिरोको जोखिम भएपछि गत असार दोश्रो सातादेखि सुरक्षित स्थानमा सारिएका राईको घर पहिरोका कारण बस्नै नमिल्नेगरी चर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए।

घरभन्दा तल र वरपरको जमिन गत वर्ष लच्किएको र पहिरोको जोखिम बढेपछि स्थानीय राष्ट्रिय आधारभुत विद्यालयमा बास बस्दै आएका राईको गोठ र गाईगोरु शनिबार राती आएको पहिरोले पुरेको हो। पहिरोले डेढ रोपनी जग्गा बगाएको छ। स्कुलमा बास बसेर आईतबार बिहान घर पुग्दा पहिरोले गोरु र गाई बगाएको पत्ता लागेको हो। गोठ सहित गाई र गोरु बगाउँदा राई परिवारको १ लाख ८० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। सुरक्षित स्थानमा बस्दै आएका कारण मानवीय क्षती हुन नपाएको वडा कार्यालयले जनाएको छ । पहिरोका कारण आश्रय लिँदै आएको विद्यालयमा पुग्न समेत जोखिम भएपछि भीमबहादुरको परिवारलाई आईतबारदेखि अन्यत्र सार्ने तयारी गरिएको छ। ‘पहिरोको खतरा बढेपछि उहाँहरुलाई विद्यालयमा बस्ने व्यवस्था मिलाएका थियौँ,’ वडाध्यक्ष राईले भने, ‘पहिरोले विद्यालयसम्म पुग्न पनि जोखिम बढेपछि पाल व्यवस्था गरेर अर्कै ठाउँमा राख्ने तयारी भइरहेको छ।’

वर्षाका कारण पहिरोको त्रास बढेपछि जालपा सावलुङका कर्णबहादुर राई, दानबहादुर राई, जीतबहादुर राई, भीमबहादुर राई, हस्तबहादुर श्रेष्ठ, जालपा कादेलका निरकुमार राई र जालपा छिप्तीका हर्कबहादुर तामाङलाई वडा कार्यालयले सुरक्षित स्थानमा सारेको थियो । प्रकोप जोखिम व्यवस्थापनका लागि पुर्वतयारी स्वरुप कर्णबहादुर, दानबहादुर, जीतबहादुर र भीमबहादुरको परिवार रातका समयमा स्थानीय राष्ट्रिय आधारभुत बिद्यालयमा बास बस्ने गरेका छन्। यस्तै, कादेलका निरकुमार बालकक्षाको भवनमा तथा छिप्तीका हर्कबहादुर छिमेकीको घरमा आश्रय लिइरहेको वडाध्यक्ष राईले बताए । गत वर्षको वर्षा याममा घरमुनि र वरपरको जमिन चर्किएका कारण यसपल्टको वर्षामा पहिरोको जोखिम बढेकाले विद्यालयसँग समन्वय गरेर सात परिवारका ५१ जनालाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो।

 

प्रकाशित: ३१ असार २०७५ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App