१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

खोटाङ – पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो। पहिरोको जोखिम भएपछि गत असार दोश्रो सातादेखि सुरक्षित स्थानमा सारिएका राईको घर पहिरोका कारण बस्नै नमिल्नेगरी चर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष बिकास राईले बताए।

घरभन्दा तल र वरपरको जमिन गत वर्ष लच्किएको र पहिरोको जोखिम बढेपछि स्थानीय राष्ट्रिय आधारभुत बिद्यालयमा बास बस्दै आएका राईको गोठ र गाईगोरु शनिबार राति आएको पहिरोले पुरेको हो। पहिरोले डेढ रोपनी जग्गा समेत बगाएको छ। स्कुलमा बास बसेर आइतबार बिहान घर पुग्दा पहिरोले गोरु र गाई बगाएको थाहा भएको हो ।

गोठ सहित गाई र गोरु बगाउँदा राई परिवारको १ लाख ८० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। सुरक्षित स्थानमा बस्दै आएका कारण मानवीय क्षती हुन नपाएको वडा कार्यालयले जनाएको छ। पहिरोका कारण आश्रय लिँदै आएको विद्यालयमा पुग्न समेत जोखिम भएपछि भीमबहादुरको परिवारलाई आइतबारदेखि अन्यत्र सार्ने तयारी गरिएको छ।

प्रकाशित: ३१ असार २०७५ ०७:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App