coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एक महिनामा १८ सय सस्तियो सुन

फाइल फाेटाे

काठमाडौं - यो हप्ता सुनको भाउ अझ सस्तिएको छ। महिनाभरी नै लगातार गिरावट आइरहेको सुनको भाउ गा साता अझ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार गत हप्ताभरीमा प्रतितोला ६ सय रुपैयाँले सुन सस्तिएको छ । यो महिनामा एक हजार आठ सय रुपैयाँले घटेको छ।

महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । आइतबार उक्त सुन ५७ हजार आठ सयमा कारोबार भएको थियो। असार महिनाको पहिलो दिन उक्त सुन प्रतितोला ५९ हजार रुपैयाँ पुगेको थियो। त्यसपछि लगातार घटिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि स्थानीय बजारमा पनि घटेको हो। अन्य क्षेत्र मजबुत हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको महासंघले जनाएको छ। अमेरिका लगायत अन्तर्राष्ट्रिय बजारमा अन्य क्षेत्र मजबुत हुँदा सुनमा लगानीकर्ताको आकर्षण घटेको महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुमा अरु मुद्राको तुलनामा अमेरिकी डलर मजबुत हुनु हो। ‘सुनको भाउ घट्नुमा अमेरिकी सरकारको ट्रेडवार सकारात्मक भई अरु मुद्राको तुलनामा अमेरिकी डलर मजबुत हुनु हो,’ महासंघको साप्ताहिक विश्लेषणमा भनिएको छ, ‘सुनको सेलिङ प्रेसर यथावत रहनु पनि एक कारण हो।’

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकाले पनि सुनको भाउमा कमी आएको हो।

अघिल्लो हप्ताभरी भने सुनको भाउमा उतारचढाव देखिएको थियो। हप्ताको पहिलो दिन (असार १७) ५७ हजार पाँच सयमा कारोबार भएको सुन शुक्रबार (असार २२) मा ५७ हजार आठ सय पुगेको थियो। यसो हुनुमा युरो र भारतीय मुद्राको तुलनामा डलर मजबुत हुनुलाई मानिएको छ। त्यसैगरी, सुनमा औद्योगिक माग बढेकाले भाउ पनि बढेको महासंघले जनाएको थियो।

यो महिनाभरी अन्तर्राष्ट्रिय बजारमा रोजगारी वृद्धि भएसँग डलरको भाउ मजबुत भएको छ। अन्तर्राष्ट्रिय बजारमा सेलिङ प्रेसर बढ्नु र भारतीय मुद्रा अवमूल्यन हुनुले डलर मजबुत भएसँगै सुनचाँदीको भाउमा कमी ल्याएको महासंघले जनाएको छ।

त्यसैगरी, पछिल्लो दिनमा अमेरिका, उत्तर कोरिया, चीन र रुसको सम्बन्धमा आएको सुधारलाई सुन सस्तिनुको कारक मानिएको छ। अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच वार्ता भइसकेको छ। यसले अन्तर्राष्ट्रिय बजारमा विश्वास बढ्दा लगानीकर्ता सेयर बजारमा तानिएका छन्। त्यसैगरी, पछिल्लो सय अमेरिका र रुसबीच वार्ताको चर्चा सुरु भएसँगै यसले विश्व बजारलाई प्रभाव पारेको हो।  

‘अन्तर्राष्ट्रिय बजारमा सेलिङ प्रेसर बढ्नु नै यसको कारण हो,’ महासंघको असारको पहिलो हप्ताको साप्ताहिक समीक्षामा भनिएको छ, ‘अमेरिकको कोरिया र चीनसँगको सम्बन्धका कारण पनि सुनमा लगानी घट्दै गएकाले घाउ घटेको छ।’

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको छ । आइतबारभन्दा यो प्रतितोला पाँच रुपैयाँ मात्र कम हो।

असार महिनाको पहिलो दिन चाँदीको मूल्य प्रतितोला आठ सय रुपैयाँ थियो । चाँदी एक महिनाको अवधिमा प्रतितोला ४५ रुपैयाँले सस्तिएको महासंघको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०७५ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App