६ वैशाख २०८१ बिहीबार
अर्थ

बारीमै कुहिने भो गोलभेंडा

इलामको रोङ गाउँपालिका–४ कोल्बुङका अम्बर राई आफूले उत्पादन गरेको गोलभेंडा मेची राजमार्ग किनारमा ल्याएर राख्दै। भारतले नेपाली गोलभेंडा आयात रोकेपछि किसानले रोपेको करोडौं रुपैयाँको गोलभेंडा बारीमै कुहिने डर भएको छ। तस्बिर : भीम/नागरिक

इलाम - रोङ गाउँपालिका–४, कोल्बुङका अम्बर राईले यो वर्ष गोलभेंडाका दुई हजार बिरुवा रोपे। अहिले उनको बारी गोलभेंडा पाकेर रातै छ। तर, उत्पादित गोलभेंडा नबिकेर निराश छन् उनी।

‘गोलभेंडा रोपेर फलाउन प्रतिबोट दुई सय रुपैयाँजति खर्च भयो,’ उनले भने, ‘तर, अहिले बारीमै नष्ट भएर जाने डर छ। व्यापारीहरू पोहोरजस्तो बारी–बारीमै गोलभेंडा किन्न आएनन्। अहिले कसैले किनिदेला कि भनेर सडकमा ढुक्नुपर्ने अवस्था आएको छ।’ उनले उत्पादन गरेको गोलभेंडा अहिले सडकमा निकाल्दा जसोतसो १० रुपैयाँ किलोमा इलाम आएर फर्किने पर्यटकलाई ‘कोच्याउनु’ परेको छ। ‘पोहोर यतिबेला यही गोलभेंडा ४० रुपैयाँ किलोसम्ममा बिकेकाले योपटक खेती बढाएर दोब्बर लगानी गरेको थिएँ,’ उनले भने, ‘तर, यो साल चाहिँ नराम्ररी डुबिने भो।’

भारतले नेपाली गोलभेंडा आयात रोकेपछि यहाँका किसानको उत्पादन नबिकेको हो। झापा र तराईका अन्य बजारमा भारतीय गोलभेंडाकै ‘रजगज’ चल्ने भएकाले यहाँका किसानले खेती गरेको गोलभेंडा खपत हुन नसकेको व्यापारी बताउँछन्। नेपालबाट काँकडभिट्टा नाका भएर भारत निर्यात हुने तरकारीको निकै ठूलो हिस्सा गोलभेंडाकै हुन्थ्यो। भारतले रोक लगाएपछि जिल्लाका गोलभेंडा खेती गर्ने सयौं किसानलाई अम्बरको जस्तै पीडा छ। मुख्य सिजनमा बारीमा लटरम्म भएको गोलभेंडा त्यहीं कुहिएर जाने खतरा बढेको छ।

कहिले गुणस्तर र कहिले निकासी प्रक्रियाको बहाना बनाएर भारतीय भन्सारले नेपाली कृषिउपज निकासीमा अवरोध गरिरहनेक्रममा यो पटक गोलभेंडा निकासी रोकिएको छ। करिब दुई सातायता पूर्वी पानीट्यांकी नाकाबाट गोलभेंडा निकासी ठप्प भएपछि किसान र व्यापारी समस्यामा परेका हुन्। झापाको चारआलीका व्यापारीका अनुसार पानीट्यांकी नाकाबाट मात्रै एकै दिनमा एकै व्यापारीले ५० गाडीभन्दा बढी गोलभेंडा निर्यात गर्दै थिए। तर, यो सालदेखि गोलभेंडा र इस्कुस निकासी ठप्पै भएको छ। व्यापारी विजय चौधरीले किसानको बारीमा गोलभेंडा पाकेर रातै भएका बेला भारतीय भन्सारले कुनै हालतमा गोलभेंडा छिर्न नदिएको बताए। ‘भन्सार कर्मचारीले भारत भिœयाउने तरकारीको सूचीमा गोलभेंडा र इस्कुस छैन, त्यसैले आइन्दा यी तरकारी यता नल्याउनू भनेका छन्,’ व्यापारी विजयले भने।

इलामका कन्याम, पशुपतिनगर, पञ्चकन्या, फिक्कल, गोदक, चमैता, जस्बिरेलगायतका गाउँमा टमाटर र इस्कुसको मुख्य खेती गर्ने किसान छन्। टमाटर र इस्कुस बेचेरै वर्षमा आठदेखि १२ लाख रुपैयाँसम्म कमाउने व्यावसायिक किसानलाई यो वर्ष नराम्रोसँग झड्का लागेको छ। इस्कुसको मौसम सुरु हुन बाँकी नै रहे पनि अहिले सयौं किसानको बारीमा बेमौसमी इस्कुस माचभरी झुन्डिसकेको छ। तर, बिक्री रोकिएपछि माचमै कुहिने वा ‘कौडीको भाउ’मा बेच्नुपर्ने बाध्यता किसानलाई छ।

रोङ गाउँपालिका–३ का अर्का किसान गुञ्जसिंह राईले पनि यो वर्ष एक हजार पाँच सयभन्दा बढी गोलभेंडाका बिरुवा रोपेर फलाएका छन्। मेची राजमार्गनजिकै रहेको उनको गोलभेंडा बारीमा पनि उनलाई यो वर्ष बेच्न समस्या भएको छ। ‘लगानी उठ्ने सम्भावना नै देखिँदैन,’ उनले भने, ‘भारत निकासी रोकिएपछि त गोलभेंडाले डुबाउने नै भो।’

भारतीय भन्सारका कर्मचारीले बन्दाकोपी र मुलाबाहेक कुनै पनि तरकारीको क्वारेन्टाइन नहुने भन्दै निकासी रोकेका हुन्। बन्दाकोपी र मुला निकासीमा समस्या नभए पनि गोलभेंडा, इस्कुस, फूलकोपी र मटरकोसाजस्ता बर्सेनि करोडौं रुपैयाँमा निकासी हुने तरकारीको भारतीय बजार चाहिँ अब बन्द भएको हो। चारआलीका व्यापारीले इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटालगायत पहाडी र पूर्वी तराईका जिल्लामा उत्पादन भएको तरकारी पानीट्यांकी नाकाबाट भारत निर्यात गर्दैथिए।

यो वर्ष बारीमा लाखौं रुपैयाँको गोलभेंडा फले पनि कसरी बेच्ने भन्ने निश्चित नभएको सूर्याेदय नगरपालिका–१२ का किसान पंकज ढकालले बताए। ‘एक हजार पाँच सय बोट गोलभेंडा बारीमा रातै हुन लागिसक्यो, व्यापारीहरू किन्न आएका छैनन्, उनले भने, ‘मेरो मात्र होइन, हजारदेखि १५ सय बोटसम्म गोलभेंडा खेती गर्ने गाउँका सयौं किसानको लाखौं रुपैयाँ डुब्ने डर भएको छ।’ उनले भारतीय पक्षसँग वार्ता गरेर निकासी सहज बनाउन पनि माग गरे।

किसानले सधैं भारतीय बजार भर पर्नुपर्दा खेतीको लगानी उठ्ने सुनिश्चितता नभएको किसान बताउँछन्। जिल्लाकी अगुवा किसान लीलादेवी भट्टराईले किसानले उत्पादन गरेका उपज देशभित्रै खपत हुने वातावरण बनाउन वा निर्यातको स्पष्ट व्यवस्था मिलाउन आग्रह गरिन्। ‘देशभित्रै खान–लाउने वस्तु नपुगेका ठाउँ छन्, भारतमा बिक्री गर्न सकिएन भने यहाँ भएको उत्पादन कमसेकम ती ठाउँसम्म पु-याउने व्यवस्थासम्म भए किसानको लगानी डुब्दैन,’ उनले भनिन्, ‘विदेश नजाऊ, यहीं बसेर स्वरोजगार बन भन्ने अर्ति, उपदेश दिने नेता त देशमा धेरै देखिए। तर, देशमै बसेर खेतीपाती, पशुपालन गर्ने वातावरण बनाएनन्।’  

व्यापारी कृष्ण पौडेलले नेपाली कृषिउपज भारत निकासीमा केही वर्षदेखि जटिल समस्या उत्पन्न भएको भन्दै  भारतले असल छिमेकीका नाताले नेपालसँग व्यापार सम्झौता गरेर निर्यात सहज बनाउनुपर्ने बताए। ‘बेला–बेला भइरहने निकासी अवरोधले हामीलाई लाखौं रुपैयाँ नोक्सान छ,’ निर्यातमा यस्तै समस्या दोहोरिइरहने हो भने हामीले व्यापारको दीर्घकालीन योजना बनाउनै सक्दैनौं,’ उनले भने।

इलाम उद्योगा वाणिज्य संघ अध्यक्ष आनन्द कट्टेलले व्यवसायीको तर्फबाट दर्जनौंपटक नेपाल सरकार र भारतस्थित महावाणिज्यदूतसमेतलाई पूर्वको कृषिउपज निर्यातमा देखिएको समस्याबारे ध्यानाकर्षण गरेको बताए। ‘तर, समस्या समाधान हुनुको साटो बल्झिरहेको छ,’ उनले भने, ‘नेपाल–भारत व्यापार नीति दीर्घकालीन बनाउन हामीले महावाणिज्यदूतमार्फत अनुरोध ग-यौं। कतिपय ठाउँमा व्यवसायीले त्यसै कर तिर्नुपर्ने प्रावधानसमेत भारतले ल्यायो। हामीले विभिन्न तहबाट पहल गरेर त्यसमा समाधान खोज्यौं। तर, निर्यातमा देखिएको समस्या समाधान गर्न निकै गाह्राे परिरहेको छ।’ नीतिगत रूपमा व्यापार र निर्यात प्रबन्ध स्पष्ट नभएसम्म व्यवसायीले दुःख पाउने अवस्था रहेको उनको भनाइ छ।

प्रकाशित: ३१ असार २०७५ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App