coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बडिमालिकाको बजेट ३६ करोड २८ लाख

बाजुरा – बडिमालिका नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैयाँ बराबरको बजेट पारित गरेको छ। तेस्रो नगरसभा तथा बजेट सार्वजनिक समारोहमा उपप्रमुख प्रमुख कविता विष्टले प्रस्तुत गरेको बजेट सभाले सर्वसम्मत पारित गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको कुल बार्षिक बजेट १६ करोड ४४ लाख ६१ हजार मध्ये चालु खर्च तर्फ २ करोड ७९ लाख १८ हजार ६ सय ४ रुपैयाँ र पूँजीगत तर्फ ७ करोड ४९ लाख ९२ हजार ५५ रुपैंयाँ बजेट खर्च गर्ने गरि पारित गरिएको नगर प्रमुख पदम बडुवालले बताए। नगरपालिकामा संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान १० करोड ५९ लाख, सशर्त अनुदान १३ करोड ३३ लाख, समपुरक अनुदान  २ करोड १५ लाख ६ हजार, प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख २९ हजार, प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत १४ लाख ८९ हजार, प्रदेश सरकारबाट समपूरक अनुदान ६० लाख तथा यस नगरपालिकाको राजश्व परिचालनबाट प्राप्त हुने ५५ लाख, यूनिसेफ नेपालबाट प्राप्त हुने ७७ लाख १३ हजार तथा नगरपालिका क्षेत्रमा कार्यक्रम लागू भएका गैससको ८६ लाख २० हजार लगायत विविध ४५ लाख बजेट सहित ३६ करोड २८ लाख ६४ हजार ८ सय ३३ रुपैयाँको बजेट पारित गरेको हो।

५५ लाख राजश्व संकलन हुने अनुमान गरेको नगरपालिकाले सडकलाई सबै वडासँग जोड्ने शिर्षकलाई प्राथमिकता दिएको छ। नगरपालिकाले दुध, अण्डा र मासु लगायत कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, नगरका ५ र ६ सहित सबै वडा केन्द्रसम्म सडक संचालन, कृषि र पर्यटकीय महत्वका सडक निर्माण, स्वच्छ र सफा खानेपानीको व्यवस्था, एक वडा एक उत्पादन पकेट क्षेत्र, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार र शैक्षिक बेरोजगारी अन्त्य जस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेको छ।

नगरपालिकाले कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने भन्दै २६ लाख, मार्तडी बजारको विकाससँगै भगिनी बजारका रुपमा तिपाडा, जडाङ्गा भौनेरा र चुथीमा बजार व्यवस्थाका लागि ३ लाख २० हजार, वडा नं. १ र २ मा कुटानी पिसानी मिल स्थापनाका लागि ११ लाख गरी उद्योग वाणिज्य तर्फ  १४ लाख २० हजार बजेट छुट्याएको  छ।

बडीमालिका, कालाजग्रा, जाल्पादेवी क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि ५ लाख ३० हजार र बुढाकोर्ध, मालिका र खेतीपातल, दुनलेक केवलकार सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। ३ नम्बरलाई कृषि पर्यटकिय क्षेत्र बनाउन १ लाख र नगर क्षेत्रका उपयुक्त वस्तीलाई होमस्टेका रुपमा विकास गर्न १ लाख सहीत पर्यटन क्षेत्रमा कुल १० लाख ३० हजार विनियोजन गरिएको छ।

सहकारी प्रवद्र्धनका लागि ३७ लाख ८५ हजार, पशु विकास कार्यक्रम, पशु विमा एवम् भैसीलाई आहार तथा सुत्केरी भत्ता कार्यक्रमका लागि १९ लाख, शैक्षिक सुधारका लागि १ करोड ३२ लाख ९५ हजार विनियोजन गरेको छ।

‘घरघरमा अर्गानिक तरकारी : रोगव्याधी डाँडापारी’ नारा अनुसार पोषणयुक्त बडीमालिका नगरपालिका बनाउन पोषण ३५ लाख ९० हजार रुपैंया, शहरी स्वास्थ्य केन्द्र स्थापना र मर्मतका लागि ९ लाख रुपैयाँ, नगर एम्वुलेन्स व्यवस्थापन २ लाख रुपैयाँ, जिल्ला अस्पतालको सेवा प्रवाह सुधारमा २० लाख रुपैयाँ, बडीमालिका उपचार सहायता कोषमा ३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगर क्षेत्रको खानेपानी सम्भाव्यता तथा आवश्यकताको आधारमा आयोजना निर्माण गर्न १ करोड, खानेपानी तथा सरसफाइका क्षेत्रमा १ करोड १४ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ। हाम्रो मौलिकता हाम्रो शान : संस्कार परम्परा र मेलापर्व हाम्रा पहिचान अभियान अन्तरगत संस्कृती पहिचान, प्रवद्र्धन र विकासका लागि ४५ लाख २९ हजार, हाम्रा बुद्ध–चित्त शुद्ध कार्यक्रममा १ लाख बजेट व्यवस्था गरिएको छ।

बडीमालिका नगरस्तरिय खेलकुद मैदान निर्माण, नगर स्तरिय खेलकुद, अन्तर नगर खेलकुद प्रतियोगिताका लागि ६ लाख ५० हजार, महिलासँग उप–प्रमुख कार्यक्रममा ३५ लाख ३२ हजार, सडक पुल तथा झोलुङ्गेपुल निर्माणमा ५ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ। बुढाकोर्ध–फडिल्ला बहुउदेश्यीय सिँचाईमा ४० लाख, मना बृहत सिँचाई नहरमा ३० लाख र रजाली बैढुङ्गादेखि चौराटासम्मको सिँचाइमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाको कार्यालयमा बाह्य संरचना निर्माणमा १५ लाख, वडा कार्यालय भवन निर्माण ५० लाख र नगरपालिका एवम् जिल्ला प्राविधिक कार्यालयबाट हस्तान्तरित क्रमागत भवन निर्माणका लागि ४० लाख छुट्याएको छ।

उज्यालो बडीमालिका अभियान अन्तरगत विद्युत उत्पादन सम्भाव्यता अध्ययनका लागि २ लाख र मनागाड विद्युत पावरहाउस मर्मतमा ३ लाख, सफा नगरी कार्यक्रममा ८ लाख, ढल निकास फोहर मैला व्यवस्थापनमा ७ लाख, तटबन्धनका ३४ लाख, विपद् व्यवस्थापन कोषमा ५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ६ करोड ७४ लाख २९ हजार ९ सय रुपैयाँ विनियोजन गरेको छ।

पत्रकारिता अक्षय कोषका लागि १ लाख र सुशासन प्रवद्र्धनमा ४ लाख ३० हजार तरुणको लक्ष्य सीप र दक्ष कार्यक्रम अन्तरगत आयोगका तयारी कक्षा सञ्चालनका लागि ३ लाख, कर्मचारी तथा जनप्रतिनिधिको क्षमता विकासका लागि १ लाख रुपैयाँ छुट्याइएको छ।

प्रकाशित: ३० असार २०७५ १३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App