८ वैशाख २०८१ शनिबार
राजनीति

कर्णालीलाई हेप्ने दिन गए : सांसद महत

प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद गजेन्द्रबहादुर महत। तस्बिर : डिबी बुढा/नागरिक

जुम्ला – संघिय संसदमा कर्णालीप्रति सरकार उदासिन देखिएको भन्दै पटक–पटक आक्रोश पोख्दै आएका जुम्लाका सांसद गजेन्द्रवहादुर महतले कर्णालीलाई हेप्ने दिन गइसकेको बताएका छन्। उनले कर्णालीलाई हेप्न खोज्नेलाई कर्णाली नदिने बढारेर लैजाने प्रतिक्रिया दिए। प्रेस सेन्टर जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको आवाज पहिले संसदमा नउठ्दा सबैको नजरमा कमजोर सावित भएको भन्दै अब कर्णालीलाई कसैले हल्लाउन नसक्ने बताए।

‘कर्णालीको भूगोल र मान्छे सक्षम छन्, तर केन्द्रिकृत शासन सत्ताको नकरात्मक दृष्टिले वर्षौसम्म अपहेलित भइरह्यौ,’ उनले भने, ‘म कर्णालीको पक्षमा आवाज उठाउनकै लागि पार्टीका नेताको चाकरी गर्ने छैन। वरिपरी घुमिराख्ने सचिव र कर्मचारीलाई ढोग गर्ने संस्कारको अन्त्य गर्ने छु।’

‘अहिले काठमाडौंमा सामान्य काम गर्न कठिन छ, काम लिनकै लागि मन्त्रीको पछि हिड्ने र सचिवको गुलामी गर्ने प्रवृति हावी भएको छ।’ उनले भने, ‘अहिले कर्णालीका सांसदले सघिय संसदमा आगो बालेका छौ। कर्णालीलाई चिनाउन सफल भएका छौ।’

पहिलो वर्षमा आक्रोश पोख्ने बताउँदै अर्को वर्ष फरक ढंगले राज्यको ध्यान कर्णालीतर्फ तान्ने उनले बताए । उनले जुम्लामा एक मेगावाटको बत्ति र कर्णाली राजमार्गको विकल्पमा वैकल्पीक सडक प्राथमिकतामा पारेको बताए।

सुर्खेत, दैलेख, महाबु, डिल्लीकोट हुँदै उत्तरी नाका नाक्चा लाग्नसम्मको सडकलाई प्राथमिकतामा राखेको उनको भनाई छ। कर्णालीलाई राज्यले हेर्ने दृष्टिकोण वदल्नकै लागि संघिय संसदमा निरन्तर खवरदारी गर्दै आइरहेको बताए।

महतले विकासका लागि कसैसँग नझुक्ने बताए। कर्णालीको विकासका लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने उनको तर्क छ।

प्रकाशित: ३० असार २०७५ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App