७ वैशाख २०८१ शुक्रबार
राजनीति

बडीकेदारको आफ्नै शिक्षा ऐन

बडीकेदार गाउँपालिकाको खड्यौलीस्थित कार्यालय। तस्बिर : अरूण/नागरिक

डोटी – डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिकाको शैक्षिक स्तर सुधारका लागि आफ्नै शिक्षा ऐन वनाएको छ। शिक्षाविद डा. विद्यानाथ कोईरालाको सहभागितामा बडीकेदार गाउँपालिकाको शिक्षा ऐन निर्माण गरिएको हो। गाउँपालिकाले शिक्षा ऐन सहित शिक्षा नियमावली, शिक्षा नीति तथा विद्यालय शिक्षाको कार्यविधि निर्माण गरेर जारी गर्ने तयारी समेत गरेको छ।

स्थानीय तह निर्वाचनको वर्षगाठ मनाउने क्रममा गत असार १४ गते शिक्षाविद् कोईराला सहित गाउँसभाका सदस्य, कार्यरत कर्मचारी, शिक्षक, शिक्षाक्षेत्रमा कार्यरत संघसंस्था, बालक्लवका प्रतिनिधि तथा अन्य सरोकारवालाहरु सहितको शैक्षिक अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरिएको थियो। सोही कार्यक्रममा शिक्षा ऐन, शिक्षा नियमावली, शिक्षा नीति र विद्यालय शिक्षाको कार्यविधिको ड्राफ्ट तयार पारिएको थियो।

स्थानीय सरकारको शिक्षा क्षेत्रको अधिकार, कर्तव्य तथा दायित्वका बिषयमा व्यापक छलफल गरेर शिक्षाको गुणस्तर सुधारमा स्थानीय सरकारका कार्यदिशा झल्कनेगरी ति नीतिहरु तयार भएको गाउँपालिकाले जनाएको छ। ‘गाउँपालिका भित्रका विद्यालयको शैक्षिक स्तर सुधारका लागि पर्याप्त छलफल ग¥यौ। त्यही छलफललाई सार्थक बनाउन र गाउँपालिकाबाट योजनावद्धरुपमा कार्यसम्पादन गर्न आफ्नै ऐनको ड्राफ्ट निर्माण गरेका छौ,’ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले भने,‘अब केहीदिनमा राजपत्रमार्फत जारी गरेर लागु गर्छौ।’

तयार पारिएको शिक्षा नीतिहरुमा प्रत्यक वडामा कम्तिमा एउटा नमूना विद्यालय, एकवटा बालउद्यान, बालमैत्री शिक्षणसिकाई क्रियाकलापहरुको विस्तार लगायतका कुराहरु समेटिएका छन्। साथै स्थानीय भाषा, भेषभूषा र लोककलाका सवालहरुलाई पनि समेटिएको जनाइएको छ।

गाउँपालिकाको आफ्नै नीति नहुँदा शैक्षिक योजनाहरु बनाउन समस्या भइरहेको जनाउँदै गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दीपक पाण्डेले आफ्नै नीति बनेपछि सहज हुने बताए। उनले भने, ‘अब शिक्षाका वास्तविक समस्याहरु पहिचान गर्दै योजना बनाएर अघि बढ्न सहज हुनेछ। जसले शैक्षिक गुणस्तरमा सुधार आउने आशा गर्ने ठाउँ छ।’

शिक्षाविद् कोईरालाले गाउँपालिकाले नीतिगत रुपमै शिक्षालाई समावेश गरेर शैक्षिक बिकासमा जुट्नु सकारात्मक रहेको बताए। ‘शैक्षिक गुणस्तर सुधार गर्ने कुरा संघ सरकारको नीतिले मात्रै सम्भव हुँदैन्। अब यसमा स्थानीय सरकारको पनि दायित्व छ,’ उनले भने, ‘त्यसैले स्थानीय सरकारले पनि आफुसुहाउदो नीति बनाएर अघि बढ्नुपर्छ।’

युनाइटेड मिसन टु नेपाल र ग्रामिण समुदाय विकास केन्द्र डोटीको समन्वयमा गाउँपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि थालिएको बहसपछि गाउँपालिकाले आफ्नै ऐन, नियमावली, नीति तथा कार्यविधि तयार गर्न लागेको हो। यस्ता बहस तथा छलफलहरु आफुहरुले जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सञ्चालन गरिरहेको युनाइटेड मिशन टु नेपालका कार्यक्रम अधिकृत हेमराज जोशीले जानकारी दिए।

प्रकाशित: ३० असार २०७५ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App