इटहरी - प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताएका छन्।
आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उनले यस्ताे बताएका हुन् । उनले परिवारदेखि टोल र समुदाय सबैले मिलेर बालहितका पक्षमा कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्ने ठोस धारणा बनाउन पनि त्यत्तिकै जरुरी रहेको बताए।
धरानका धार्मिक एवं ऐतिहासिक तीर्थस्थलका रुपमा रहेको विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणा कार्यक्रममा प्राध्यापक डा टंक न्यौपाने, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, सावित्री श्रेष्ठ र उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले आ–आफ्नो धारणा राख्दै धरानलाई सुन्दर, शान्त र समुन्नत ढंगले मानव बसोबासयोग्य शहर बनाउने पहिलो सूचक बालमैत्री व्यवहार नै भएको विचार व्यक्त गरे।
वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उक्त वडाका बालबालिकाको उल्लेख्य उपस्थिति रहेको थियो । २० वटा वडा रहेको धरान उपमहानगरपालिका–१३ लाई पनि यसअघि नै बालमैत्री वडा घोषणा गरिसकिएकाे छ। रासस
प्रकाशित: ३० असार २०७५ ०७:१५ शनिबार