मुम्बई– अमेरिकी गायक निक जोनससँग अभिनेत्री प्रियंका चोपडाको अफेयरले बलिउडमा पछिल्लो समय विभिन्न चर्चा भइरहेको छ। हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको त्यहाँ निकसँग भेट भएको र त्यहीबाट यी दुईबीच अफेयर सुरु भएको थियो।
हलिउडबाट सुरु भएको अफेयर बलिउड अर्थात प्रियंकाको घरसम्मै पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार निकले प्रियंकासँगै मुम्बई आएर उनको परिवारसँग भेट गरिसकेका छन्। त्यस्तै प्रियंकासँग गोवा लगायत ठाउँ घुमेका छन्। यसबाट बलिउडमा दुबैको अफेयर उत्कर्षमा पुगेको टिप्पणी भइरहेका छन्।
आफू र निकबीचको सम्बन्धबारे व्यापक चर्चा भएपछि प्रियंकाले मुख खोलेकी छिन्। आफ्नो एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘हामी एक अर्कालाई चिन्ने र बुझ्ने कोसिस गरिरहेका छौं। मेरो विचारमा यो निकका लागि पनि एक राम्रो अनुभव हुनेछ।’
गोवा भ्रमण र आकाश अम्बानीको इन्गेजमेन्टमा सँगै देखिएको प्रसंगबारे प्रतिक्रिया दिँदै उनले यो समय सुन्दर रहेको र निकलाई पनि रमाइलो लागेको बताइन।
‘कुनै पनि रिलेसनशिपमा आफ्नो पार्टनरसँग यात्रा गर्नु सजिलो छैन्, तर मेरो लागि वार्षिक रुटिन जस्तै हो। मेरो त पुरै जीवन यात्रामै छ। म हरेक दोस्रो हप्तामा घुम्ने योजना बनाउँछु। कहिले साथीसँग त कहिले परिवारसँग। मेरा लागि यो सामान्य कुरा हो’, उनले प्रष्ट पारिन।
समाचारअनुसार प्रियंकाले यसपटक आफ्ना जन्मदिन न्युयोर्कमा निकसँग मनाउने योजना बनाएकी छिन्।
प्रकाशित: ३० असार २०७५ ०५:५७ शनिबार