काठमाडौं—राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सिबी गहतराज अध्यक्षमा निर्वाचित भएका छन्।
भदौ २२ र २३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनले दुईवर्षीय कार्यकालका लागि प्रादेशिक संरचनासहितको १५१ केन्द्रीय समिति चयन गरेको हो। कार्यसमितिमा अध्यक्षसहित छ सहअध्यक्ष, ११ उपाध्यक्ष, एक महासचिव, सचिव र कोषाध्यक्ष गरी ३७ पदाधिकारी छन्।
निर्वाचित भएपछि अध्यक्ष गहतराजले ख्रिस्टियन समुदायलाई समाधिस्थल व्यवस्थाका लागि सरकारसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिने बताए। 'सरकारले क्रिसमसका दिन दिँदै आएको सार्वजनिक बिदालाई कुण्ठित गरेकामा हाम्रो आपत्ति छ, यसलाई सच्याउन माग गर्दछु', उनले भने। गहतराज यसअघि महासङ्घका महासचिव हुनुहुन्थ्यो ।
मुलुकभरबाट आएका महाधिवेशन प्रतिनिधिको भेलाले ख्रिस्टियन समुदायको अस्तित्व पहिचान स्थापित गर्ने लगायत १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। भेलाले नेपालभर रहेका ख्रीस्टियन समुदायको पवित्र धार्मिकस्थल र चर्चलाई स्वतन्त्र गुठीका रुपमा व्यवस्था गरी धार्मिक अधिकारको सुनिश्चितता एवम् उत्थान र विकासका लागि अविलम्ब राष्ट्रिय ख्रिस्टियन आयोग गठन गर्न माग गरेको छ।
घोषणापत्रमा धार्मिक हकसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै अल्पसङ्ख्यक धार्मिक समुदायको स्वतन्त्रतासम्बन्धी हकलाई स्थापित गरी सबै धार्मिक आस्थाको सम्मान गर्नेलगायत माग गरिएको छ । रासस
प्रकाशित: २३ भाद्र २०७३ १२:१८ बिहीबार