८ वैशाख २०८१ शनिबार
समाज

११ झोलुंगे पुल निर्माण

फाइल तस्बिर

बागलुङ- झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन्। जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन्। जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो। रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ । जिप्राकाको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ।

त्यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङको सुप्राङ सिप्रुघाट, बरेङ गाउँपालिका, सल्यानको थप्लुङघाट र धुल्लुबाँस्कोटको लुग्दीखोलाघाटमा पुल बनेको हो। स्वीट्जरल्याण्ड सरकारको दातृ निकाय ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका–६ को गादीखोला र ओख्रेनीघाटमा पुन निर्माण भएको हो। ती दुवै पुलमा ढोरपाटन नगरपालिकाले पनि १५ प्रतिशतका दरले आर्थिक सहयोग गरेको छ भने दुई प्रतिशत जनश्रमदान परेको छ। दुई वर्षअघिको बाढीले दुवै पुल बगाएपछि सोही ठाउँमा नयाँ पुल निर्माण गरिएको हो। गादीखोला र तीनखेत जोड्ने झोलुंगे पुल बनेपछि भण्डारी गाउँ, कुदुम, पानीपोखरालगायत बस्ती लाभान्वित भएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए। 

एघार वटै पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गरेको थियो। क्लबका सामाजिक परिचालक प्रेम केसीका अनुसार चालू आवभित्रै पुल निर्माण गर्ने लक्ष्य पूरा भएको बताउँदै आगामी आवमा थप छ पुल निर्माणका लागि सर्वेक्षण भइसकेको जानकारी दिए। 

‘बिवाइसी’ बागलुङले गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१० झोलुंगे पुल छन्। तीमध्ये २०० पुल जीर्ण भई पुनःनिर्माणको पखाईमा छन्। बजेट आएमा आगामी आवमा पनि पुल निर्माणको काम अघि बढ्ने जिप्राकाका इञ्जिनीयर बलविक्रम दाहालले बताए। रासस

प्रकाशित: ३० असार २०७५ ०४:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App