८ वैशाख २०८१ शनिबार
अन्य

ब्रेक्रविनाको साइकल यात्रा

केही दिनअघि राजधानी काठमाडौंमा ३० वर्ष पुरानो एट्लास कम्पनीको साइकलमा एक अधवैशै पुरुष ओरालो झर्दै थिए । साइकल हेर्दा संग्रहालयमा राख्नुपर्ने जस्तो देखिन्थ्यो।

ती व्यक्ति दुवै खुट्टा जमिनमा घिसार्दै आइरहेका थिए । साइकल रोक्दारोक्दा उनका चप्पलमा प्वाल परेको थियो ।साइकलमा सवार थिए – भारतको महाराष्ट्रस्थित सोलपुर युनिर्भसिटीबाट एलएलबी पास गरेका धोण्डीराम बरणवर ।उनी ब्रेकविनाको साइकल यात्राका क्रममा काठमाडौं आइपुगेका छन्।

२०७२ फागुन १७ देखि साइकल यात्रा सुरु गरेका उनले  एक लाखभन्दा बढी किलोमिटरको यात्रा साइकलबाट पूरा गरिसकेका छन् । आम मानिसलाई सडक दुर्घटनाबाट जोगाउने सन्देश दिन उनले विना ब्रेकको साइकल यात्रा गरिरहेका हुन् । उनले भारतका ६ राज्य हुँदै नेपाल प्रवेश गरेका छन् । सुनौली हुँदै उनी तीन दिनमा काठमाडौं आएका थिए ।‘मानिसहरूले लापरवाही गरेर सवारी चलाउँदा अधिकांश सडक दुर्घटना हुने गरेका छन् । सवारी नियमलाई पालना  गरे सवारी चलाउन सकियो भने ८० प्रतिशत सडक दुर्घटनाबाट बच्न सकिन्छ,’ उनले भने । उनी योे सन्देश लुम्बिनी, काठमाडौं हुँदै जनकपुरसम्म पु¥याउन लागिपरेका छन्।

साइकल यात्रालाई निरन्तरता दिँदै विश्व रेकर्ड कायम गर्न लागिपरेको उनले काठमाडौंको सडकको दुर्दशाबारे दुखेसो समेत गर्न भ्याएका थिए । ‘वर्षायाममा काठमाडौं आइपुग्दा बाटोको दुर्दशा देखेर सडक दुर्घटना धेरै हुनसक्ने अनुमान गरेको छु । बाटोको अवस्था सुध्रिएन भने पैदल यात्रा पनि चिप्लिएर सामान्य घाइते हुन सक्छन्,’ राजधानीको सडकबारे चिन्ता व्यक्त गर्दै उनले भने, ‘काठमाडौंको सडक बिग्रिएका कारण पैदल यात्रु हिँड्ने पेटीबाट सवारी हिँडेका छन् । यस्तो अवस्थामा सवारी चालक र पैदल यात्रु कुनै पनि बेला दुर्घटनामा पर्न सक्छन् । त्यसैले काठमाडौंको मेयरलाई भेटेर यो कुरा सुनाउन लागिपरेको छु।’

काठमाडौंको पशुपतिस्थित धर्मशालामा बसिरहेका उनी विभिन्न संस्थाले आफ्नो यात्राको लागि सहयोग गरिरहेको प्रतिक्रिया दिन्छन् । ‘विभिन्न पत्रपत्रिकाहरूमा सवारी दुर्घटनाबाट मानिसहरू अकालमा मरिरहेको खबरहरू पढिरहेको थिए । अकस्मात सडक दुर्घटना कम गर्न सचेतना फैलाउन सकिन्छ भनेर साइकल लिएर भारतको विभिन्न क्षेत्र पुगेको थिए । भारतको छिमेकी देश नेपालमा पनि यसको सन्देश पुर्याउनु जरुरी जस्तो लागेर यतातिर हानिएको हो ।’ पहिलो पटक नेपाल आउने अवसर यो अभियानले जुराइदिएको समेत उनले उल्लेख गरेका थिए ।

दुई वर्षअघि अभियानलाई भारत र नेपालका विभिन्न क्षेत्रमा पुर्याएर जनचेतना फैलाउन लागिपरेका उनलाई उनको साइकलले भने कहिल्यै धोका दिएन । ‘३० वर्ष पुरानो यो साइकल अहिलेसम्म बिक्रिएको छैन । त्यसैले अभियानलाई निरन्तरता दिन प्रोत्साहन मिलेको हो,’ उनले भने । अभियानको क्रममा उनले विभिन्न सडक दुर्घटनालाई प्रत्यक्ष रूपमा देखेका थिए । अधिकांश चालकहरू लापरवाही गरेर सवारी चलाउने, तीव्र गति, माद्यक पदार्थ सेवन, यान्त्रिक गडबडी, खराब मौसम र चौपाया, सडकको अवस्था, ओभरटेक र पैदलयात्रुको लापरवाही लगायतले सडक दुर्घटना हुने उनले बताए।

आम मानिसलाई सडक दुर्घटनाबाट जोगाउने सन्देश दिन भारतको महाराष्ट्रस्थित सोलपुर युनिर्भसिटीबाट एलएलबी पास गरेका धोण्डीराम बरणवर ब्रेकविनाको साइकल यात्रा गरिरहेका छन् ।

‘सडक दुर्घटनामा २० देखि ४० वर्षका मानिसहरूको मृत्यु हुने गरेको छ । अधिकांश दुर्घटनामा मोटरसाइकल, स्कुटर, कार, भ्यान र जीपबाट हुने गरेको छ । मानिसहरूको सामान्य सडक नियम पालन गरिदिए मात्र पनि दुर्घटनाको संख्या घट्न सक्छ,’ उनले भने । आफ्नो अभियानको क्रममा हाइवेमा ठूला सवारी साधनले साइकल यात्रु भनेर हेप्ने गरेको उनको अनुभव छ । नियममा पालन गरेर स्थीर गतिमा साईकल कुदाउने गरेका उनले आफ्ना कपडाहरु भने झोलामा राखेर साईकलमा झुड्याउने गरेका छन् ।

‘यात्राको क्रममा जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ । मसँग सम्पतिको नाममा यो थोत्रो साईकल र नोकियाको पुरानो फोनमात्र छ । यात्राको क्रममा भेटिने सहयोगीहरुले खाने र बस्ने व्यवस्था गरिदिने हुँदा यसलाई निरन्तरता दिन सकेको हुँ,’ उनले भने । त्यसो त महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तत्यांक अनुसार आर्थिक वर्ष ०७४-७५ को जेठ मसान्तभित्र सडक दुर्घटनाबाट एक सय ६८ जनाको मृत्यु भइसकेको छ । यस आवमा देशभर पाँच हजार ७ सय ५१ जना सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा परेकामध्ये दुई सय एक गम्भीर घाइते भएका थिए।

‘सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरवाही, तीव्र गति, अत्याधिक माद्यक पदार्थ सेवन, ओभरटेक र पैदल यात्रुको लापरवाही देखिएको छ । उच्च स्पिड भएका सवारी नियन्त्रण गर्न नसक्दा भएको दुर्घटनाले धेरैको ज्यान गएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्र मैनालीले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तीन वर्षमा करिब १७ हजार जना सवारी दुर्घटना परेका थिए । यस अवधिमा पाँच सय १६ जनाको मृत्यु भइसकेको थियो । आव ०७२-७३ मा पाँच हजार ६ सय ६८ जनाका सवारी दुर्घटनामा पर्दा एक सय ६६ को मृत्यु भएको थियो भने आव ०७३-७४ मा पाँच हजार ५ सय ३० जना दुर्घटनामा पर्दा एक सय ८२ जनाले ज्यान गुमाएका थिए ।

तीन वर्षमा ३० हजार दुई सय ९२ वटा ठूला र साना सवारी साधनहरू दुर्घटनामा परेका थिए । यस अवधिमा १७ देखि ३५ वर्षका दुई सय ७१ जनाको मृत्यु भइसकेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहे पनि तुलनात्मक रूपमा यो आवमा अत्याधिक सडक दुर्घटना भएका छन् ।

प्रकाशित: ३० असार २०७५ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App