४ वैशाख २०८१ मंगलबार
अन्य

इमान्दारिताको पुल

पहिले–पहिले धेरैजसो लेखकले आफैं किताब छाप्थे र प्रकाशकका रूपमा कतिपयले कुनै साहित्यिक संस्थाको नाम राख्थे, कतिपयले आफ्नै पतिपत्नी वा बाबुआमाको नाम पनि राख्थे ।

कुनै दाता भेटिए उनकै नाम र फोटो छाप्थे । कुनै साहित्यिक कार्यक्रममा जाँदा वा साहित्यिक भेटघाट हुँदा झोलाबाट झिकेर ती किताब बाँड्थे । कुनै लेखकलाई कसैले दया गरेर ‘म तपाईंको किताब छापिदिन्छु‘ भन्नु नै ठूलो उपलब्धि थियो ।

प्रकाशकको नाम राखिएको साहित्यिक संस्थाका अध्यक्षले लेटरप्याडमा प्रकाशकीय लेख्थे । लेटरप्याडमा लेखिनुको कारण हो– संस्थाका सबै पदाधिकारीको नाम पनि किताबमा छापियोस् भन्ने लोभ । प्रकाशकको श्रम तथा आर्थिक लगानी कति नभए पनि प्रकाशकीयको अन्त्यमा लेखिने आम शैली यस्तो हुन्थ्यो– यति गहन साहित्यिक ग्रन्थ प्रकाशन गर्ने अवसर हाम्रो...संस्थालाई दिनुभएकोमा हामी तपाईंप्रति आभारी छौं । तपाईंको उज्ज्वल भविष्यको कामना गर्छाैं । आगामी दिनमा पनि यस्तै साहित्यिक ग्रन्थ प्रकाशन गर्ने अवसर दिएर हामीलाई साहित्य सेवा गर्ने अवसर दिनुहुनेछ । यो पुस्तक हाम्रो संस्थाको १७ औं प्रकाशनमाला हो ।... आदि ।

जबकि विमोचनमा ब्यानरदेखि समोसा र चियासम्म सबै खर्च लेखकले नै गरेको हुन्थ्यो । कतिपय लेखकले त आफ्नो गाँस कटाएर खर्च गर्नुपथ्र्यो । लेखकहरू गुनासो गरेर भए पनि लेखिरहन्थे । कवि गोविन्दराज विनोदीले ‘भोक र कविता’ शीर्षक कवितामा यस्तै भाव प्रकट गरेर लेखेका छन्–
चुहेको खरको छानो न कतै टाल्न मिल्छ यो
अँध्यारो घर कोठामा न कतै बाल्न मिल्छ यो
न राख्न ब्याङ्कमा मिल्छ न छर्न हुन्छ खेतमा
के गर्नु कविता लेखी मेरो गरिब देशमा ।
–अविश्रान्त

केही चलाख लेखकले किताबमा व्यक्तिगत मूल्य र संस्थागत मूल्य भनेर दुई मूल्य राख्थे । व्यक्तिगत मूल्यभन्दा संस्थागत मूल्य दोब्बर वा तेब्बर हुन्थ्यो ।

आफ्नो लगानी उठाउन लेखक विभिन्न संघसंस्थामा जान्थे, जस्तोकि नगरपालिका, जिविस, स्कुल, कलेज, उद्योग वाणिज्य संघ आदिमा । र, विनयपूर्वक संस्थागत मूल्यमा पुस सेल गर्थे । संस्था प्रमुखले पनि आफ्नो गोजीको जाने होइन भनेर दयापूर्वक केही प्रति चिनजानका आधारमा किनिदिन्थे र स्टोरमा कतै थन्काइदिन्थे ।यसरी पुस सेल गरेर लेखकले छपाई र कार्यक्रम गर्दाको खर्च उठाए भने गर्व गर्दै आफ्ना साथीहरूसँग भन्थें, ‘मैले त खर्च उठाएँ नि !’अर्का लेखक साथीले घुटुक्क थुक निल्थे र बधाई दिन्थे ।(अझै पनि यसो गर्नुपर्ने बाध्यता बाँकी छ ।)

म चितवनमै जन्मे, हुर्कें, पढें, बढें र यस्तै घटनाहरूको साक्षी धेरैपटक बनें । आफ्ना अग्रज र आफूलाई पढाएका साहित्यिक शिक्षकहरूले त्यसरी आफ्ना किताब प्रकाशन गरेको देखेर मैले पनि त्यो बेला त्यसरी नै किताब छाप्ने, कार्यक्रम गर्ने, झोलामा राखेर किताब बाँड्ने र दुई–चार सय प्रति संस्थागत मूल्यमा पुस सेल गरेर खर्च उठाउने सपना देख्थें।

कटिङमा धेरै कागज खेर नफाली भद्दा आकारको किताब, गहु्रँगो कागज, कोचाकोच अक्षरहरूको लेआउट, (किनभने धेरै कुरा थोरै पृष्ठमा अटाएर पैसा बचाउनु छ ।) दुई–तीन जनाको भूमिका, तीन–चार जनाको आशीर्वचन र शुभकामना । किताबको पछाडि कभरमा पासपोर्ट साइजको फोटो र लेखकको लामो बायोडाडा । किताब हेरेर छक्क पर्थें– म पनि यसरी नै किताब छाप्न पाए । किशोर वयमा म पनि यसरी किताब छाप्ने सपना देख्थें ।एकाध पहुँच र सम्बन्ध हुनेहरूले जिल्लास्तरीय पुरस्कार पनि पाउँथे । कतिपय पुरस्कारमा केही नगद पनि हुन्थ्यो भने कतिपयमा दोसल्ला र प्रमाणपत्र मात्र । लेखकहरू चित्त बुझाउँथे– आखिर पुरस्कार भनेको पुरस्कार हो । पैसामा पुरस्कारलाई तौलन मिल्दैन।

प्रकाशकलाई लेखकले उठाउने हो, लेखकलाई प्रकाशकले । दुवै पक्षले एकअर्कालाई उठाउँदा नै नेपाली साहित्य माथि उठ्ने हो । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा नै इमानदारिता, पारदर्शिता र आपसी विश्वास हो ।

त्यो बेला काठमाडौंमा बसेर लेख्ने धेरैलाई ठूला लेखक मानिन्थ्यो । काठमाडौंमा रहेका प्रतिभावान र पहुँचवाला लेखकका किताब साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान वा रत्न पुस्तक भण्डार जस्ता केही निजी संस्थाहरूले पनि छापिदिन्थे । साझा र प्रज्ञाबाट किताब छापिनु ठूलो प्रतिष्ठा थियो ।त्यसैले होला, साहित्यकारलाई स्थान र सुविधाका आधारमा दुई कित्तामा विभाजन गरिएको थियो–राजधानीका साहित्यकार र मोफसलका साहित्यकार।

काठमाडौंका साहित्यकारलाई पहुँच भएका मानिन्थ्यो भने मोफसलका साहित्यकारलाई पहुँच नभएका र पछाडि पारिएका । उनीहरूले मोफसलमा किताब विमोचन गरेको समाचार राष्ट्रिय समाचार बन्दैन्थ्यो । त्यसैले कतिपय मोफसलका लेखकले राजधानीमा आएर किताब विमोचन गर्थे र काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकामा समाचार बन्थे।

मोफसलमा बस्नेहरू प्रायको पहुँच न साझासँग हुन्थ्यो, न एकेडेमीसँग, न राजधानीका ठूला मिडिया हाउससँग । गरिमा, मधुपर्क जस्ता साहित्यिक पत्रिकामा आफ्नो रचना छापिनु ठूलो कुरा थियो । त्यसैले मोफसल कवि–लेखकको राजधानीप्रति काव्यात्मक गुनासो हुन्थ्यो; जस्तो कि– काठमाडौं एक्लैले काठमाडौं बोक्न सकदैन । (कवि कृष्णभूषण बलको कविताको शीर्षक)।

केही प्रतिभासम्पन्न या पहुँच भएका लेखक छन् भने तिनका किताब साझा प्रकाशन, प्रज्ञा प्रतिष्ठान र रत्न पुस्तक भण्डारजस्ता केही निजी प्रकाशन संस्थाले छापिदिन्थे । साहित्यिक बजार सानो थियो र सीमित पाठक थिए । लेखकले रोयल्टीको आशा गरेको हुन्थेन । कुनै व्यक्ति या प्रकाशकले किताब छापिदिनु नै ठूलो कुरा थियो । सुनिन्थ्यो, त्यो बेला निजी प्रकाशकहरूले नगन्य रूपमा रोयल्टी दिन्थे ।खासै बजार नभएपछि स्थापित हुन कितावमा कुनै प्रतिष्ठित लेखक वा समालोचकबाट भूमिका लेखाइन्थ्यो । यसरी लेखाइएको भूमिकाको ओझ र प्रशंसाका आधारमा कतिपय लेखक स्थापित हुन्थे।

 यस्तो अवस्थामा पनि मोफसलका केही लेखकहरूले मोफसलबाटै राजधानी हल्लाएका थिए । राम्रो लेखेर नाम कमाएका थिए जस्तो कि, सरुभक्त, तीर्थ श्रेष्ठ, कृष्ण धरावासी, कृष्णभूषण वल आदि ।कतिपय राम्रा लेखकलाई पनि साझा र एकेडेमीबाट किताब छाप्न धेरै गाह्रो हुन्थ्यो । पहुँचवाला र नेताजीहरूलाई आफ्नो बनाउन धेरै नै तेल खर्च गर्नुपथ्र्यो अनि बेलाबेलामा हजुरकै प्रेरणा र मार्गदर्शनले म यो स्थानसम्म आइपुगेको हुँ भन्नुपथ्र्यो । यसो गरेपछि एकेडेमीसम्म पुग्ने बाटो पनि खुल्थ्यो।

६० को दशकसँगै नयाँ सोच र योजनासहित नयाँ प्रकाशन संस्था खुल्न थाले । उनीहरूले किताबलाई आकर्षक कलेवर, डिजाइन, लेआउट र साजसज्जा दिन थाले । प्राप्त पाण्डुलिपि पढेर लेखकलाई पुनर्लेखन गर्न लगाउने र सम्पादन गराउने पद्धति बसाउन थाले । मिडियाबाजी गर्न थाले । चल्तीका दैनिक पत्रपत्रिकामा आकर्षक विज्ञापन छपाउन थाले । पम्पलेट र ब्यानरहरू बनाउन थाले । होर्डिङ बोर्ड, टिसर्ट र टोपी बनाउन थाले । विशेष फोटो सेसन गरेर विशेष म्यागेजिनमा लेखकको आकर्षक फोटो छपाउन थाले । लेखकहरूको फोटो राखेर क्यालेन्डर निकाल्न थाले ।

राजधानी र राजधानी बाहिरका मात्र होइन, विदेशका समेत लेखक बोलाएर तीन–चार दिनसम्म लिटरेचर फेस्टिभल गराउन थाले । राजधानीमा मात्र होइन, राजधानी बाहिर र अरु सुदूर ठाउँहरूमा पाठन संस्कृति विस्तार गर्न घुम्ती साहित्य महोत्सव आयोजना गर्न थाले । यस्ता महोत्सव र विभिन्न कार्यक्रम गरेर पुस्तक हस्ताक्षर र लेखकसँग सेल्फी भनेर लेखकलाई सेलिब्रेटी बनाउन थाले ।यस्तो प्रचारलाई कतिपयले ‘किताबलाई चाउचाउ, चुरोटजस्तो सस्तो बनाइयो’ भनेर आलोचना पनि गरे । यसको जवाफमा लेखक कृष्ण धरावासीले भने, ‘चाउचाउ, चुरोट र रक्सीको विज्ञापन गर्न हुने, किताबको विज्ञापन गर्न किन नहुने ? किताबको विज्ञापनले कसलाई हानी हुन्छ ?’

पत्रकार कृष्णज्वाला देवकोटाले भने, ‘सबैले आ–आफ्नो घण्टी बजाउँछन् । कसैको चर्को बज्छ, कसैको सुस्तरी ।’
निजी प्रकाशकले लेखकलाई एडभान्स दिएर किताब लेख्न प्रेरित गर्न थाले । साहित्यभन्दा फरक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष अफर गरेर उनीहरूको आत्मकथा छापे र पाठकसम्म पुर्याए ।उदाहरणका लागि मह जोडीको आत्मकथा । मह जोडीलाई नचिन्ने र उनीहरूको कलाबाट प्रभावित नहुने विरलै नेपाली होलान्, जसका कारण उनीहरूको किताब धेरै बिक्नु स्वभाविकै हो ।

उनीहरूको किताब साग बेच्नेदेखि लिएर रिक्सावालसम्मले किनेर पढे । मजदुर र किसानहरूले पनि पढे । कहिल्यै साहित्यिक किताब नपढेकाहरूलाई ती किताबले अरु किताब पनि पढ्न प्रेरित गर्यो ।आफैं किताब छाप्ने र झोलामा किताब राखेर साहित्यकारहरूलाई बाँड्ने अनि लेखक बन्ने सपना बोकेको एउटा किशोर वयस्क हुँदा आज यस्तै नयाँ सोचका प्रकाशकका कारण लेखेर जीवनयापन गर्ने अवस्थामा आइपुगेको छ ।

अहिले त लाग्छ, मैले लगाएको सर्ट, पाइन्ट, जुत्ता, मोजा सबै अक्षरबाट बनेका हुन् । मैले प्रयोग गर्ने ओछ्यान, सिरानी र कोठाका पर्दाहरू पनि अक्षरबाटै बनेका । मैले खाने प्रत्येक गाँस र पानीको घुट्काहरू पनि अक्षरहरूबाटै बनेका हुन् ।राम्रा लेखकले राम्रा प्रकाशक छानेर आफूलाई प्रकाशित गर्ने समय हो यो । राम्रा लेखकका लागि प्रकाशकहरूले आकर्षक अफर गरेर आफूहरूतिर तानिरहेकोे समय हो यो।

कसैले किताब छापिँदिँदा मात्र पनि ठूलो उपलब्धि मान्ने समयबाट हामी अहिले आकर्षक एडभान्स र रोयल्टी पाउने समयमा आइपुगेका छौं ।अहिले मधुपर्क र गरिमामा रचना छापिनु उस्तो गौरवको विषय होइन, जब कि पहिले ठूलो गौरवको विषय थियो । एक जना यस्तै पत्रिकाका सम्पादकले त मसँग भने, ‘हामीलाई फाइन प्रिन्टहरू पत्याउँदैनन् र रिभ्युका लागि किताब पठाउँदैनन्।’

अहिले साझा र एकेडेमीबाट किताब छापिनु उस्तो गौरवको विषय होइन, जबकि पहिले ठूलो गौरवको विषय थियो । कतिपय राम्रा लेखकले आफ्ना राम्रा किताब साझाबाट झिकेर निजी प्रकाशन गृहबाट छपाएका छन् । जस्तो कि कृष्ण धरावासीले ‘राधा’ उपन्यास साझाबाट झिकेर पैरवी बुक्सबाट छपाए । महेशविक्रम शाहले ‘छापामारको छोरो’ कथा संग्रह साझाबाट झिकेर फाइन प्रिन्टबाट छपाए।

साझा र प्रज्ञाका कार्यकारीहरू समेत अहिले साझा र एकेडेमीबाट भन्दा निजी प्रकाशन गृहबाट किताब छाप्न चाहन्छन् । उनीहरूलाई आफ्नै संस्थाप्रति अविश्वास भइरहेको समय हो यो । साझा र एकेडेमीबाट किताब छापिएका एक प्राज्ञले कुरैकुरामा मसँग भने, ‘तपाईंको किताब अडियो सुनें, किन्ने पैसा नभएर ।’मैले भनें, ‘दाइको किताब साझा र एकेडेमीले छापेको छ । फेरि दाइ दुई–दुई कार्यकाल एकेडेमिसियन हुनु भो ।’
उनले भने, ‘तपाईंको किताब फाइन प्रिन्टले छाप्छ नि।’

यसरी निजी प्रकाशनको आकर्षक छपाइ, बजार व्यवस्थापन र विज्ञापनमा सबै आकर्षित छन् । अहिलेका यस्ता प्रकाशन गृहहरूले पहिलेका साहित्यिक संस्थाले झैं लेटरप्याडमा प्रकाशकीय लेख्दैनन् । सादा कागजमा पनि लेख्दैनन् । प्रकाशन, कार्यक्रम र विज्ञापनलाई लाग्ने सबै खर्च आफैं गरेर लेखकलाई राम्रो रोयल्टी दिन्छन् ।
अर्को महŒवपूर्ण कुरा, अहिले राजधानी र मोफसलको सीमा तोडिएको छ । जहाँसुकै बसेर पनि राम्रो लेख्नेले राजधानी मात्र होइन, देशभरि नै चर्चा कमाउन सक्ने समय हो यो।

यति हुँदाहुँदै पनि बेलाबेलामा लेखक र प्रकाशकबीच मनमुटाव भएका कुराहरू प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सुनिन आउँछ । एउटा कुनै निजी प्रकाशन गृहमा छापेको किताब, लेखकले अर्को प्रकाशन गृहलाई दिएका उदारहण पनि छन् । विशेषगरी किताब कति संख्यामा छापिन्छ भन्ने अनविज्ञता र त्यसको रोयल्टीका विषयमा पारदर्शिता नहुनु नै मनमुटावको मुख्य कारण भइदिन्छ । कतिपय प्रकाशकले लेखकलाई रोयल्टी नदिएको, दिए पनि थोरै र ढिलो दिएको सुनिन्छ । प्रायः गुनासा प्रकाशकबाट भन्दा लेखकहरूबाटै सुनिन्छ किनभने किताब बिक्रीको आर्थिक चावी प्रकाशकसँग हुन् ।

प्रकाशक र लेखक दुवै इमान्दार भइदिने र एकआपसमा विश्वास भइदिने हो भने यस्तो कुरा आउँदै आउँथेन । यसका लागि प्रकाशक र लेखकका बीचमा भएको सम्झौताअनुसार दुवै पक्ष इमान्दार हुन जरुरी छ ।किताब कति प्रति छापिएको हो, त्यो पारदर्शी बनाउन कुनै प्रविधि भए प्रकाशकले लेखकलाई त्यसअनुसार विश्वस्त पार्नुपर्छ । बेलाबेलामा प्रकाशकले आफ्ना लेखकहरुलाई भेला गरेर सुझाव लिने र नयाँ योजना बनाउने गर्नुपर्छ । लेखकलाई प्रकाशकले विशेषगरि आर्थिक रूपमा सुरक्षित गराउनुपर्छ । प्रकाशकलाई पनि लेखकले बजारमा सुरक्षित वातावरण दिन भूमिका निर्वाह गर्नुपर्छ।

अहिले देशभरि सयौं एफएम रेडियो छन् । लेखकसँग अनुमति नलिई कतिपयले पूरै किताब वाचन गरिदिन्छन् र युट्युबमा राखिदिन्छन् । अचेल धेरैले मलाई तपाईंको किताब पढे होइन, सुने भन्छन् । अझ विदेश हुनेहरूले त झन् धेरैले भन्छन्; विशेषगरी युवाले । मेरो पछिल्लो किताब अनुमतिविना चितवनको एउटा ग्रेट एफएमले वाचन गरेछ । एउटा साइटबाट मात्र यो लेख लेख्दै गर्दा त्यसको भ्युअर त्रियासी हजार छ । यसले किताबको बिक्री घटाउँछ । यस्तो हुन नदिन लेखक र प्रकाशकले कानुनी भूमिका खेल्न जरुरी छ।

अन्त्यमा, प्रकाशमा नआएका कतिपय प्रकाशकलाई लेखकले प्रकाशित गरेका पनि छन्, नेपथ्यमा परेका कतिपय लेखकलाई प्रकाशकले पर्दामा ल्याएर प्रसिद्ध बनाएका छन् ।प्रकाशकलाई लेखकले उठाउने हो, लेखकलाई प्रकाशकले । दुवै पक्षले एकअर्कालाई उठाउँदा नै नेपाली साहित्य माथि उठ्ने हो । यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा नै इमानदारिता, पारदर्शिता र आपसी विश्वास हो ।

प्रकाशित: ३० असार २०७५ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App