भाषा

संस्कृत साहित्य पाप र पुण्यको कुथुरो कि विज्ञानको स्रोत ?

शनिबार, ३० असार २०७५, ०८ : ५४ डा. लक्ष्मीप्रसाद खतिवडा

भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदानप्रदान सतही हुन जान्छ।

जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन वा भाषाका तत्वहरू र पर्यावरणीय तत्वहरूबीचको सम्बन्ध जोड्न सकिएन भने सांस्कृतिक ह्रास हुन जान्छ र परम्परागत ज्ञानको स्थानान्तरणमा बाधा पुग्छ ।परम्परागत ज्ञान एक संज्ञानात्मक कुरा हो । भौतिक, जैविक, पारिस्थितिकीय प्रणाली, जनजाति वनस्पति, शिल्पकारी, औषधि, विज्ञान आदि परम्परागत ज्ञानको डोमेनभित्र पर्छन् ।

परम्परागत ज्ञानको उत्पत्ति वैदिक साहित्यदेखि हालसम्म भए गरेका मौलिक, रैथाने विज्ञान प्रविधिको अवधारणामा खोज्नुपर्छ । वैदिक साहित्यमा संस्कृति, राष्ट्र, वर्ग, जाति, जनजाति जस्ता समुदायमा बाँचेका मानिसलाई जनजाति अर्थात् इथ्नोजाति भनिन्छ । तर, आज शासक र जनजाति अलग अलग हुन् भन्ने बुझाइ छ । त्यसैले परम्परागत वा इन्डिजेनस वा इथ्नो विज्ञान र प्रविधिमा राजनीतिक दुर्गन्ध र धार्मिक सांस्कृतिक अन्धविश्वासको विष छरिएको छ । हामी तटस्थ भएर सोच्न पनि तयार हुँदैनौ । ‘भू गोल’लाई पृथ्वी चेप्टो छ अथवा जो गत, हिँडिरहन्छ सो जगत वा घुमिरहने जगतलाई पृथ्वी स्थिर छ भनेर पढाइएको ज्ञान नै त्यसको बाधक तत्व हो।

साधारणतया यो विश्वास गरिन्छ कि राइट दाजुभाइले सन् १९०३ मा आकाशमा उड्ने विमान बनाए । त्यसैले विमानशास्त्र अंग्रेजी वा पश्चिमी विद्याको योगदान हो । विमानको विकासलाई लिएर हेर्दा आधुनिक विमानको विकास पश्चिमकै देन हो, यसमा दुईमत हुन सक्दैन । तर, इतिहास हेर्दा संस्कृत साहित्यमा पनि विमानको कुरा आधिकारिक रूपमै उल्लेख भएको पाइन्छ।

१८ औँ र १९ औँ शताब्दीमा विश्वले आफ्ना इतिहासको अभिलेखीकरण गरेको हो । उक्त अवधिमा दक्षिण एसिया परजीवी समाजको रूपमा रह्यो । श्रीलंका, पाकिस्तान, भारत, बंगलादेश उपनिवेशमा थिए भने अफगानिस्तान, नेपाल, भुटान, माल्दिभ्स आदिमा ब्रिटिस प्रभाव थियो ।

ब्रिटिस उपनिवेश नभएका देश पनि ब्रिटिस शासनबाट अछुता थिएनन् । शिक्षा, कानुन, अर्थ, परराष्ट्र जस्ता मुद्दामा अंग्रेजको सिको गर्ने चलन थियो । अंग्रेजले एसियाटिक सोसाइटीका शिक्षा ग्रन्थ पाप र पुण्यका पोका हुन् भनेर पढाएको र अनुवाद गराएको थियो । त्यही प्रभावले दक्षिण एसियाको इतिहास लेख्ने क्रममा यस भूभागको सभ्यता ढोँगी, अन्धविश्वासी संस्कृत शिक्षाले लादेको धार्मिक अर्थ व्यवस्थालाई जरैबाट उखेलेर फाल्नुपर्छ नत्र विकास सम्भव छैन भनेर पढाइयो ।

अंग्रेजी शिक्षा मात्रै आधुनिक र विज्ञानसम्मत भनेर आधुनिक शिक्षाका नाममा बिब्लिकल शिक्षा लाद्ने काम भयो । औपनिवेसिक देशको इतिहास बंग्याउनु मेट्नु साम्राज्यवादी, सामन्तवादी देशको नियमित कार्य हुने नै भयो । यही चपेटामा नेपालको शिक्षा पनि पर्यो । अंग्रेजीमा लेखेको जति सबै विज्ञान र संस्कृतमा लेखेको जति सबै अन्धविश्वास भन्ने छापबाट नेपाल पनि उम्किन सकेन।

भाषाले विभिन्न वस्तुसँगको गहिराइ बोकेको हुन्छ । संस्कृत भाषाले पनि यस्ता गहन ज्ञान बोकेको छ । भौतिक, जैविक, पारिस्थितिकीय प्रणाली, जनजाति वनस्पति, शिल्पकारी, औषधि, विज्ञान आदि परम्परागत ज्ञानको स्रोत संस्कृत भाषाको सामग्रीलाई पाप र पुण्यको पोको भनेर सिँढीमुनि थन्क्याउने काम भएको छ । यस्तो काम सरकारले नीति बनाएरै गरेको छ । अब तटस्थ भएर सोच्ने बेला आयो । ‘भू गोल’लाई पृथ्वी चेप्टो छ भनेर पढाउने जमाना गयो ।

संस्कृत साहित्यमा ज्ञनविज्ञानका धेरै विधामा परिचर्चा गरिएको छ । उदाहरणका लागि विमानशास्त्रकै कुरा गरौँ । ऋग्वेदमा भएको विमानशास्त्र विद्या ओझेलमा परेको देखिन्छ । प्राचीन गुरुकुल पद्धतिको अन्वेषण गर्ने क्रममा यस हरफका लेखकले केही कुरा फेला पारेको छ।

ऋगवेदमा करिब २०० पटक जति विमानको कुरा आउँछ । तीनतले त्रिभुज आकारको विमान, अश्विनीने बनाएको तीन पांग्रावाला विमान आदि आदि । विमान निर्माणमा स्वर्ण, रजत तथा फलाम धातु प्रयोग गरेको प्रसंग उल्लेख छ । अहनिहोत्र नाम गरेको विमानमा दुई इन्जिन रहेको र अन्य धेरै प्रकारका विमानको वर्णन पाइन्छ । कुनै प्रकारको यातायातका लागि प्रयोग गरिने इन्जिनबाट चल्ने बाहनलाई विमान भनिएको छ ।

जलयान विमान वायु तथा जलमा चल्न सक्थ्यो भनिएको छ । ऋग्वेद मण्डल ६ सुक्त ५८ मन्त्र ३,  । त्यस्तै जल र वायु दुवैमा चल्ने कारायान ऋग्वेद मण्डल ९ सूक्त १४ मन्त्र १, तीनतले विमान ऋग्वेद मण्डल  ३ सुक्त १४ मन्त्र १ । तीनपांग्रे विमान त्रिचक्ररथ ऋग्वेद ४ सुक्त ३६ मन्त्र १,  ग्यासबाट चल्ने वायुरथ ऋग्वेद मण्डल  ५ सुक्त ४१ मन्त्र ६, विद्युतबाट चल्ने विद्युत रथ ऋग्वेद मण्डल ३ सूक्त १४ मन्त्र १ । अश्विनि कुमारले विमानीका शास्त्रका धेरै कुरा बताएका छन् । महर्षि भारद्वाजले यन्त्र सर्वस्वमा राष्ट्रिय अन्तर्राष्ट्रिय र अन्तरिक्षीय विमानको उल्लेख गरेर वैमानिक शास्त्रलाई आधिकारिकता प्रदान गरेका छन्।

महर्षि भरद्वाजले व्याकरण, आयुर्वेद संहिता, धनुर्वेद, राजनीतिशास्त्र, यन्त्रसर्वस्व, अर्थशास्त्र, पुराण, शिक्षा आदि ग्रन्थको रचना गरेका छन् । महर्षि भारद्वाजको यन्त्र सर्वश्वको पाण्डुलिपिमाथि अनुसन्धान गरेर स्वामी ब्रह्ममुनि परिव्राजकले १९५८ मा किताब प्रकाशन गरेको उल्लेख पाइन्छ । यन्त्र विभागअन्तर्गत ऋषि नारायणले लेखेको विमान चन्द्रिका, शौनकको व्योमयान तन्त्र, गर्गऋषिको यन्त्रकल्प, विद्या वाचस्पतिको यानविन्दु र ऋषि चक्रायणीको खेटयान प्रदीपिका, ढुण्डीनाथको व्योमयान प्रकाश आदि ग्रन्थको अस्तित्व रहेको स्वीकार गरिएको छ।

त्यतिबेलाका मन्त्रद्रष्टा ऋषिहरूको दिमागमा
१ फरक फरक विमानको नाम,
२ कुन कुन इन्धनबाट चल्ने,
३ कस्तो र कत्रो आकारको,
४ कतिवटा पांग्रा भएको
५ कतिवटा पखेटा भएको
६ कति मात्राको वेग भएको

जस्ता कुरा कसरी पस्यो होला भन्ने जिज्ञासाले आधुनिक अनुसन्धानतालाई आकर्षण गर्नुपर्ने जस्तो लाग्छ । १९०३ मा राइट दाजुभाइले अमेरिकामा सबैभन्दा पहिलो मानवीय विमान उडाएको इतिहास छ । तर, उक्त उडान विमानको नभएर उन्नत किसिमको ग्लाइडरको हो भन्ने भनाइ पनि लिखित साहित्यमा भेटिन्छ । महर्षि दयानन्दले ‘ऋग्वेदादिभाष्य भूमिका’ मा विमानबारे व्याख्या समेत गरेका छन्।

राजनीतिक हिसाबले अलग देश भए पनि हाम्रो प्राचीन ग्रन्थको कुरा गर्दा भारतको इतिहासका कतिपय कुरा हामीले पनि लिनुपर्ने बाध्यता छ, जस्तै ः अंग्रेजहरू ग्रीक र ल्याटिनको इतिहासलाई हाम्रो भनेर व्याख्या गर्छन् । संस्कृत साहित्यमा भएको विज्ञानको कुरा गर्दा शिवकर बापुजी तालपडेको सन्दर्भ लिनुपर्ने हुन्छ।

अंग्रेज विद्वान थोमस मेकालेले संस्कृत ग्रन्थको अनुक्रमणिका बनाउन थालेपछि महर्षि भारद्वाजको वैमानिक शास्त्रमा ध्यान गएको भन्ने उल्लेख पाइन्छ । शिवकर बापुजी तालपडेले सन् १८८५ मा तत्कालीन बम्बई (अहिले मुम्बई) छेउको चौपाटी समुद्र तटमा आधुनिक प्रयोगशाला बनाएर महर्षि भारद्वाजको वैमानिक शास्त्रका आधारमा ऋग्वेदको भनाइ अनुसारको मरुत्सखा विमान बनाएको कुरा त पुष्टि भएकै छ ।
 
तालपडेले आर्थिक सहयोग माग्दा कम्पनी सरकारले नदिएको, ब्रिटिस इन्डिया कम्पनीले परीक्षण गर्न त्यसको फर्मुला मागेको र तालपडेले नदिने अडान राख्दा जबर्जस्ती खोसेर लगेको इतिहासमा दर्ता भइसकेको छ ।
महर्षि भरद्वाजले रचना गरेको भनिएको वैमानिक शास्त्रमा त शत्रुद्वारा प्रहार गरिएको दम्भोल गोला  र आकाशीय पिण्डबाट आएको वस्तुलाई रोक्ने विधिविधान समेत उल्लेख गरेको साहित्य पढ्न पाइन्छ । गुहागर्भदर्श यन्त्र, द्विचक्र काली यन्त्र, ज्वालाशक्ति यन्त्र जस्ता वैमानिक तन्त्र जस्ता संस्कृत पाण्डुलिपिको खोज हुन थालेको खबरले सन्तोष भने गर्नैपर्छ।

महर्षि भारद्वाजको यन्त्र सर्वश्वमा विमान सञ्चालकका लागि निर्देशिका रहेको र शक्ति युद्गम, भूतवाहाग्नि, धूमयान, शिखोद्गम, अंशुवाह, मणिवाह, मरुत्सखा जस्ता विमानका चालकले पालन गर्नुपर्ने नियम समेत दिएको छ भनेर थाहा पाउँदा अर्कै अनुभूति हुने रहेछ।

आचार्य कणादको अणु सिद्धान्त, पृथ्वी गोलो छ भन्ने भूगोलशास्त्र, खगोलशास्त्र, सूर्य ग्रहण, चन्द्र ग्रहणको समय निर्धारण, सूर्य केन्द्रित अनन्त ब्रह्माण्डको विद्या, भास्कराचार्यले लेखेको ‘लीलावती’ र सन् ११८६ मा सूर्यले पृथ्वीलाई आकर्षण गरेर घुमाउँछ भनेर निकालेको भाष्कर सिद्धान्त जस्ता कुरा पनि हाम्रो शिक्षाका पाठ्यक्रममा नपर्नु भनेको दुःखलाग्दो कुरा हो।

परम्परागत ज्ञान, बौद्धिक सम्पत्ति भन्नेबित्तिकै वैदिक साहित्यसम्म पुग्नुपर्ने हुन्छ । वेदलाई सत्य विद्या र पदार्थ विद्या दुइटै विद्याको स्रोत मानिन्छ । तर, वेद विज्ञान मात्रै हो भन्नचाहिँ मिल्दैन । वेदमा साहित्य, दर्शन, कला, विज्ञान र तन्त्रशास्त्रसमेत पाइन्छ । वेदमा तीनवटा ज्ञानको उल्लेख पाइन्छ । पृथ्वी, आकाश र ग्रह नक्षत्रसहितको अन्तरिक्षको ज्ञान । ऋग्वेद मण्डल १ सुक्त ३३ मन्त्र ८ मा पृथ्वी गोलो छ भनेको छ । तर, आधुनिक शिक्षाले पृथ्वी गोलो छ भन्ने कुरा १४ औँ शताब्दीमा मात्र पत्ता लागेको हो भन्छ । वेदले पृथ्वी गतिवान छ भन्छ । अथर्व वेद मण्डल १ सुक्त २ मन्त्र ५२ पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने नियम उल्लेख गरेको छ ।

ऋग्वेद मण्डल १० सुक्त १४९ मन्त्र १, मण्डल १ सुक्त ३५  मन्त्र ९ मा सूर्य र पृथ्वीको आपसमा रहेको आकर्षणले सन्तुलन कायम भएको कुरा उल्लेख छ । ऋग्वेद मण्डल १  सुक्त ८४ १ मन्त्र ५ मा सूर्यको प्रतिच्छायाले चन्द्रमा टल्किएको भनेको छ । अथर्व वेद मण्डल ९ सुक्त ९  मन्त्र १२ मा बार महिना विभाजित गरेको छ । नासदीय सुक्त ऋग्वेद मण्डल १० सुक्त १२९ र हिरण्यगर्भ सुक्त ऋग्वेद मण्डल १० सुक्त १२१ मा भौतिक विज्ञान छ । जल सुक्त मण्डल १ सुक्त १६(२३ मण्डल ७ सुक्त ४७–४९ मा भूगोल र मौसम विज्ञान छ।

भारतीय मूलका अमेरिकी वैज्ञानिक सुभाष काकका अनुसार पहिलो पटक परमाणु बम बनाउने ओपन हाइमरले भागवत गीता र खासगरी विष्णु पुराणबाट प्रभावित भएर परमाणु बम बनाउन सहज भएको स्वीकार गरेका छन् । काककै अनुसार इस्वीपूर्व २७०० मा सिन्धुघाटी सभ्यतामा पाइएको पशुपतिको मूर्ति र इस्वीपूर्व ४०० देखि १५० मा डेनमार्कमा पाइएको गण्डेस्ट्रप कल्ड्रोमको धातु इन्जिनियरिङ अर्थात् मेटालर्जीमा समानता पाइएको बताएका छन् ।दक्षिण एसियामा मानिसले सहरी जीवन बिताइरहेको बेला युरोपमा गुफायुगका जंगली मानिस बसोबास गर्थे भनेर प्रमाणित भइसकेको छ ।

युरोप र अमेरिका इतिहास खोज्दै ग्रीक र ल्याटिन पुगेर विज्ञानको विकास गरे । हाम्रा पूर्वीय विद्वानहरू सिन्धुघाटीको इतिहास खोज्दा संस्कृत पढ्नुपर्ने हुनाले पाप र पुण्यको पुरोहित भइन्छ भन्ने डरले इतिहास संस्कृत, मेटाउन तयार हुन्छन् । पशुपतिको परम्परा सिन्धुघाटीबाटै पर्सिया हुँदै टर्की वा अनातोलियाबाट युरोप पुगेको भन्ने मान्यता एकातिर छ भने अंग्रेज विद्वानचाहिँ मध्य एसियाबाट संस्कृत बोल्ने मानिसले हरप्पा र मेहन्जोदडोमा नरसंहार मच्चाएर, कत्लेआम गरेर भोलिपल्टदेखि दयालु ऋषि बनेर वेद लेख्न थालेको हो भन्छन्।

संस्कृत शिक्षा भन्नेबित्तिकै पाप र पुण्यको पोको वा अन्धविश्वासको कुथुरो भनेर पन्साउने बानीले हाम्रो परम्परागत विज्ञान प्रविधि ओझेलमा परेको छ । अंग्रेजी भाषामा शब्द नपुगेर इतिहास खोज्दै ग्रीक र ल्याटिन पुगेर ल्याटिन नोमेनक्लेचर बनाउँदा वैज्ञानिक नाम हुने अनि संस्कृतमा, पालीमा वा हाम्रा रैथाने भाषामा लेखिएका नामचाहिँ वैज्ञानिक नहुने भन्ने कुराको आधार के हो त्यसको उत्तर हाम्रा आधुनिक भन्ने वैज्ञानिकले दिनुपर्छ।

भाषाले विभिन्न वस्तुसँगको गहिराइ बोकेको हुन्छ । संस्कृत भाषाले पनि यस्ता गहन ज्ञान बोकेको छ । भौतिक, जैविक, पारिस्थितिकीय प्रणाली, जनजाति वनस्पति, शिल्पकारी, औषधि, विज्ञान आदि परम्परागत ज्ञानको स्रोत संस्कृत भाषाको सामग्रीलाई पाप र पुण्यको पोको भनेर सिँढीमुनि थन्क्याउने काम भएको छ।

यस्तो काम सरकारले नीति बनाएरै गरेको छ । अब तटस्थ भएर सोच्ने बेला आयो । ‘भू गोल’लाई पृथ्वी चेप्टो छ भनेर पढाउने जमाना गयो । सरकारले पनि के कुरा बुझ्नुपर्छ भने नागरिकलाई डलरको ऋण बोकाएर समाज र संस्कृतिसँग खेलबाड गर्ने अधिकार कुनै राजनीतिक पाटी वा सरकारसँग पनि हुँदैन।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad