coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकार, डाक्टरका माग पूरा गर

डा.गाेविन्द केसीकाे अनशनकाे समर्थनमा नेसनल रेसिडेन्ट डाक्टर एसाेसिएसनमा अाबद्ध चिकित्सक माइतीघर मण्डलमा बिरामीकाे परीक्षण गर्दै । तस्वीर : केशव थाेकर /नागरिक

जुम्ला - जुम्ला, चन्दननाथ नगरपाालिका, गजेलकोटका काशीराम कामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा शुत्रलबार बिहानैदेखि निकै तनावग्रस्त अवस्थामा देखिन्थे ।

घरि अस्पताल भित्र त घरि बाहिर निक्लँदै भन्दै थिए उनी– आज प्लेन (जहाज) आउँछ कि आउँदैन ? किन भन्दा उनले जवाफ दिए– प्लेन आए छोरा बाँच्ने भयो नआए मर्ने भयो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालले घरको छतबाट लडेर गम्भीर घाइते भएका उनका तीन वर्षीय छोरालाई ४८ घन्टाभित्र नेपालगन्ज पुृर्याउन भनेको रहेछ । घरको छतमा बिहीबार खेल्दै गरेका वीरेन्द्र कामी छतबाट तल खसे । आँखामा गम्भीर चोट लाग्यो । सदरमुकामदेखि टाढाको गाउँ ।

यातायात सेवा नहुनु । पैदल अस्पताल आउँदा अबेर भइसकेको थियो । रातभर अस्पतालमा राखिए पनि यहाँ उपचार सम्भव भएन । चिकित्सकले भनिदिए– आँखासँगै टाउकोमा गम्भीर चोट लागेका छ, छाति र पेटमा पनि चोट भएकाले तत्काल आइसियूमा राखेर उपचार गर्नुपर्छ ।

१८ घन्टा जुम्लामै बितिसक्यो, बाँकी ३० घन्टामा छोरालाई नेपालगन्ज कसरी पु¥याउने तनावमा उनी यताउता गरिरहेका थिए । उनले भने– मौसम यस्तो छ, प्लेन आउने होकि हैन, गाडीमा जाउँ भने बाटोमा पहिरो गएको छ । एकातिर जहाज आउने नआउने पिरलो अर्कोतिर आर्थिक समस्या । अस्पतालमा जम्मा भएका उनका गाउँलेले ११ हजार रुपैयाँ जुटाइदिएका रहेछन् । गरिब हुनुको पीडा ओकेल्दै उनले भने– हामी गरिबलाई त बाँच्नै नहुने भयो, औषधि नपाएर हामी नै मर्नु परिरहेको छ।

सोही कर्णााली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीको प्रसंग निकाल्दै उनले थपे– हामी गरिबको औषधिमूलो राम्रो होस् भनेर भोकै लडिरहेको मान्छेलाई सरकारले उठाएर जबरजस्ती काठमाडौँ लैजाँदै छरे, यसको मतलब गरिबहरु औषधि खान नपाएर मरुन भन्न खोजेको त हो नि।

डा. केसीलाई काठमाडौं लैजान हेलिकोप्टर आउन लागेको हल्ला बुधबार जुम्लामा व्यापकै चल्यो । काठमाडौं लैजाने उद्देश्यले सरकारी टोली जुम्ला आउने अन्तिम तयारी भए पनि डा. केसीको अडानका कारण सरकारी हेलिकप्टर काठमाडौंबाट उडेन ।

बिहीबार पनि उस्तै हल्ला फैलियो– डा. केसीलाई जबरजस्ती उठाएर लैजान हेलिकप्टर आउँदैछ । लगातारको यो हल्लाले केसीका पक्षमा रहेका जुम्ली त्रसित छन् । त्यसमाथि बिहीबार काठमाडौंमा गृहमन्त्री रामबहादुर थापाको ‘आदेश’ मा वीर अस्पतालका चिकित्सकलाई अपहरण शैलीमा गृह मन्त्रालय लगेर दुव्र्यवहार गरेको समाचारले त जुम्लीमा झन् त्रासमा छन् ।

उनीहरूको चाहना छ– जनताका पक्षमा संघर्षरत डा. केसीमाथि सरकारले जबरजस्ती गर्नु हुन्न र उनका माग पूरा गर्नुपछ । प्रतिष्ठान परिसरमा भेटिएकी कन्यालक्ष्मी सुनारले भनिन्– हाम्रा लागि डा. गोविन्द केसी भगवान जस्तै बनेर जुम्ला आइपुग्या हुन्, उनलाई जबरजस्ती उठाएर लैदिए हामी मरेबराबर हो, उनका माग सरकारले पूरा गर्नुपर्छ । जुम्लाका विकट गाउँमा त स्वास्थ्य सेवाको चरम अभाव छ ।

स्वास्थ्यचौकी भए पनि सामान्य रुघाखोकीको औषधि मात्रै पाइन्छ । उनले भनिन्– रुघाखोकी, ज्वरोबाहेक अरु रोग लाग्यो भने घन्टौं पैदल हिँडेर जुम्ला बजार आइपुग्नु पर्छ, हामीसँग उपचार गर्ने पैसा पनि हुन्न, ठूलो रोग लागे त मर्ने हो ।
चन्दननाथ नगरपालिका, अमखोलाका जरी कामीले डा. केसी जुम्लामा अनशन बसेको खबर रेडियोबाट सुनेका छन् । ग्रामीण भेकमा स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउनुपर्ने माग राखे केसी अनशन बसेको खबर सुनेका उनले यो पनि सुनेका छन्– सरकारले माग पूरा नगरीकन तिनै डाक्टरलाई जबरजस्ती उठाएर लैजाने तयारी गर्दैछ रे।

उनले थपे– राम्रा मान्छेलाई जेल गर्ने, नराम्रालाई सम्मान गर्नेबाहेक सरकारले अरु के जानेको छ र, गाउँको स्वास्थ्य अवस्था बुझ्न सरकारका ठूलाबडा जुम्ला आउनुपर्छ, गरिब जनताको स्वास्थ्यका लागि लड्ने गोविन्द केसी जस्तो डाक्टरलाई यहाँबाट उठाएर लग्यो भने सरकारलाई कहिल्यै धर्म हुने छैन । केसीका माग निजी नभएको भन्दै समग्र कर्णालीका दुखी नागरिकका लागि भएको उनले बताए । माग सम्बोधन गरेर मात्रै डा. केसीलाई काठमाडौं लैजान उनले सुझाव दिए ।

अमखोलाकै हर्क सुनारलाई पनि आफूहरुको स्वास्थ्य समस्या समाधानका लागि दबाब दिन अनशन बसेका डाक्टरलाई उठाएर लगेर सरकारले आन्दोलन कमजोर पार्ने होकि भन्ने पिरलो छ । प्रतिष्ठानमा आफन्त बिरामी भेट्न आएका उनले भने– धन्न अहिले डाक्टर यहाँ आएर अनशन बस्नुभएको छ, अहिले उहाँलाई सरकारले उठाएर लग्यो भने यहाँको समस्या कस्ले बोलिदन्छ ।

सरकार डा. केसीलाई राजधानी लगेर उनको आन्दोलन कमजोर पार्ने रणनीतिमा छ । यहाँका सर्वसाधारण डा. केसीको अनशन तुहिए जुम्लाको स्वास्थ्य अवस्थामा कहिल्यै सुधार नआउने बताउँछन् ।डा. केसीले भने माग पूरा नभए आफू जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन् । केसीका सहयोगी डा. जीवन क्षेत्री भन्छन्– यहाँबाट काठमाडौं लगेपछि डा. केसीलाई कमजोर बनाउन सकिन्छ भन्ने सरकारको विश्वास छ, तर सर (उहाँ) काठमाडौं जाने विषयमा मञ्जुर हुनुहुन्न ।

प्रकाशित: ३० असार २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App