coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

साठी किलोमिटर सडक कालोपत्रे गरिँदै

चितवन - भरतपुर महानगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत करिब साठी किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ ।

सडक कालोपत्रे गर्न दुईवटा प्याकेजअन्तर्गत १३ वटा आयोजना सञ्चालन गरिएको छ ।प्याकेज नम्बर एकअन्तर्गत महेन्द्र चोकदेखि तेलौली रोड (प्रचण्डमार्गको तेस्रो खण्ड), मुक्तराज चोकदेखि वडा नम्बर २५ को कार्यालय भवन, पुलचोकदेखि गंगानगर विद्यालय सडक, पारिजात चोकदेखि चनौली बजार, गोन्द्राङ्गदेखि वडा नम्बर २२ र २३ को सीमा जोड्ने सडक कालोपत्रे गर्न लागिएको हो ।

२०७७ असार मसान्तसम्म सक्ने गरी ३२.५ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, चितवनका सिनियर डिभिजनल इन्जिनियर कुमार घिमिरेले बताए । करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्याकेज एकको सम्झौता ७७ करोड ८३ लाख ५८ हजार रूपैयाँमा गरिएको उनले बताए।

यस्तै प्याकेज नम्बर दुईअन्तर्गत महेन्द्र चोकदेखि तेलौली सडक (प्रचण्डमार्गको पहिलो खण्ड), महेन्द्र चोकदेखि तेलौली (प्रचण्डमार्गको दोस्रो खण्ड) सम्म, डेरी चोकदेखि पुलर सडक हुँदै अतिथि पार्टी प्यालेसम्म, दियालो रोड, पुल्चोकदेखि रामघाटसम्म, शिवघाटदेखि जानकारी चोक हुँदै पकडी रोडसम्म, सहिद चोकबाट धर्मचोक हुँदै कचपचे चोकसम्म सडक कालोपत्रे गर्न लागिएको हो ।

प्याकेज दुईको २६.५ किलोमिटर सडक पनि २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको छ । करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो प्याकेजको ६८ करोड २३ लाख १५ हजार रुपैयाँमा निर्माण सम्झौता गरिएको छ । तराई मधेसका जिल्लामा रहेका २१ वटा नगरपालिकामा सञ्चालन गरिएको सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअनुसार सडक कालोपत्रे भइरहेको सिनियर डिभिजनल इन्जिनियर घिमिरेले बताए।

महानगरमा बनाइने ९५ किलोमिटरको रिङ रोडमध्ये प्याकेजअन्तर्गत ८ किलोमिटर नयाँ सडक कालोपत्रे गरिँदैछ । सडक कालोपत्रे गरिँदा ७ मिटर चौडाइमा कालोपत्रे गरिने उनले जानकारी दिए । १० मिटर चौडाइको सडकमा दुवैतर्फ डेढ मिटर ढलका लागि राखिने उनले बताए ।

महानगरपालिकामा बनाउन लागिएको रिङ रोड र त्यसका लिंक रोड कालोपत्रे गर्ने दुवै प्याकेजको शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शिलान्यास गरेका छन् । प्याकेज एकको पटिहानी र प्याकेज दुईको नारायणगढको पुल्चोकमा उनले शिलान्यास गरेका हुन्।

महानगरीय रिङ रोड र लिंक रोड तथा ढल निर्माण आयोजनाको शिलान्यास कार्यक्रममा दाहालले नारायणी र राप्ती नदीको तीरबाट जाने भएकाले तटबन्ध र जंगली जनावरबाट सुरक्षा प्रदान गर्ने सहितको रिङ रोड बनाइने बताए । रिङ रोडसँगै नहर पनि बनाएर बोटिङका लागि डुंगामा घुम्न मिल्ने गरी सञ्चालन गर्ने सपना समेत रहेको भन्दै अध्यक्ष दाहालले चितवनको नक्सालाई बदल्ने र नयाँ चितवन बन्ने कुरामा रिङ रोड कोसेढुंगा साबित हुने उनले दाबी गरे ।

भरतपुरलाई एसियाली मापदण्डको नमुना सहरका रूपमा विकास गर्ने गरी परियोजना अगाडि बढाउनका लागि बृहत् गुरुयोजना बनाउनुपर्ने उनले बताए । जथाभाबी संरचना बनाउनुभन्दा एउटा बृहत् गुरुयोजनाअन्तर्गत विकासलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।अहिले धेरैले बजेटजति चितवनमा पार्यो भन्ने आरोप लगाउने गरे पनि अहिले हुँदै गरेका सबै काम र त्यसको बजेट यसअघिका सरकारले गरेको निर्णयअनुसार नै भएको उनले बताए । नयाँ सरकार आएपछि केरुङदेखि ठोरीसम्म सडक बनाउने, माडी जान आकाशे पुल बनाउने र नारायणीमा केही पुल थप बनाउने योजना अघि सारेको उनले बताए ।

शिलान्यास कार्यक्रममा अध्यक्ष दाहालले कृष्ण अधिकारी हत्या प्रकरणमा आरोपित भनेर कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको बताए । सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पौडेललाई अदालतमा हाजिर हुन लगाएर लोकतन्त्रको अभ्यासमा प्रश्न उठाउने अवसर नदिएको उनले दाबी गरे ।अदालतबाट चाँडै नै पौडेल निर्दोष साबित हुने विश्वास रहेको उनले बताए । अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने र छिट्टै वार्ता टोली बनाउने तयारी समेत सरकारले गरिरहेको उनले जानकारी दिए ।

 

प्रकाशित: ३० असार २०७५ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App